जेनजी विद्रोहका ९ फरक परिदृश्य
सारांश
- गणतन्त्रमा जेनजी विद्रोह भयो, जसमा ७५ जनाको मृत्यु भयो र सरकारी भवनहरूमा क्षति पुग्यो।
- लेखमा राजतन्त्र र गणतन्त्रबीचको तुलना गर्दै, शासक र नेताहरूको कार्यशैलीको आलोचना गरिएको छ।
- विद्रोहको समयमा सेनाको भूमिका र नागरिक सर्वोच्चताको महत्त्वबारे चर्चा गरिएको छ, र यसले सरकारलाई जनताको कुरा सुन्न आग्रह गर्दछ।
दृश्य १ – राजतन्त्र र गणतन्त्र
२०६२/६३ आन्दोलनमा राजा ज्ञानेन्द्र ६० वर्षका थिए, व्यवस्था राजतन्त्र थियो । आन्दोलन व्यवस्था परिवर्तनका लागि थियो । आन्दोलन १९ दिन सम्म चल्यो । २१ जना सहिद भए । कुनै पन्चहरूको घर जलेन । सरकारी संरचना सुरक्षित रह्यो भने सुरक्षा व्यवस्थापन राम्रो मिलाएको हुनाले राष्ट्रले क्षति भोग्नु परेन । आन्दोलन सफल भयो, राजाले घुँडा टेके । राजाले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरी जनताको नासो जनतालाई नै सुम्पिदिएँ भनी आफैले गाडी चलाई रानीलाई साथमा राखी हाँसी–हाँसी हात हल्लाउँदै नारायणहिटी दरबार छोडे ।
गणतन्त्र व्यवस्थामा जेनजी विद्रोह–२०८२ सुरु भयो । माग थियो– सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खोल्ने । शासकहरू ७० वर्ष भन्दा माथिका थिए, विरोधबाट सुरु भएको कार्यक्रम विद्रोहमा परिणत भयो । विद्रोह २ दिन चल्यो, ७५ जना सहिद भए । सयौँ घाइते भए, सरकारी भवन, पार्टी र नेताहरूको घर र व्यवसायी प्रतिष्ठान जलेर खरानी भयो । विद्रोह सफल भयो, संविधानले देश बचाउने जिम्मा दिएका शासक र नेताहरू ज्यान जोगाउन सैनिक ब्यारेक पुगे । जनचाहना अनुरूप राजाले २४० वर्ष पुरानो राजगद्दी त्यागे तर २० वर्ष पुरानो गणतन्त्रका नायकहरूले पार्टीको सभापति/अध्यक्ष त्याग्न सकेनन् ।
- दृश्य २ – शाही सेना र नेपाली सेना
माओवादी सशस्त्र द्वन्द्व सुरु भइरहेको थियो, उद्देश्य गणतन्त्र थियो । माओवादी कमान्डरहरूको बैठक रोल्पामा चलिराखेको थियो, शाही सेना परिचालनको लागि राजा वीरेन्द्रमाथि दबाब आयो । राजाबाट नेपाली जनता मारेर म शासन चलाउन चाहन्न भन्ने अभिव्यक्ति आयो । सबै माओवादी नेताहरू सकुशल भाग्न सफल भए ।
जेनजी विद्रोह चलिरहेको थियो । प्रधानमन्त्रीलाई राजनैतिक निकासको लागि ४ वटै सुरक्षा प्रमुखहरूले अनुरोध गरे । जवाफमा प्रधानमन्त्रीले भने, ‘यो सरकार विरुद्ध षडयन्त्र र व्यवस्था विरोधी कार्य गर्न जेनजीको नाममा मान्छे सडकमा उतारिरहेको हो, यसबाट नआत्तिनुस्, अघि बढ्नुस्, सरकारले आफ्नो बाटो लिन्छ, त्यही अनुसार अघि बढ्नुस् ।’ गणतन्त्रका प्रहरी र सशस्त्र जवानहरूले प्रधानमन्त्रीको आदेश अनुसार जनतामाथि लाठी, अश्रुग्यास र गोली प्रहार भए, गणतन्त्रमा जनता मार्ने लाइसेन्स पाएको जसरी । राष्ट्रियताको संस्कार र गौरवमय इतिहास बोकेका नेपाली सेनाले भने भौतिक संरचना बचाउन नसके पनि नेताहरू लगायत जनता र संविधान बचायो ।
- दृश्य ३ – विद्रोहको समय र अहिलेको समय
जेनजी विद्रोहको समयमा राष्ट्रपतिले सबै पार्टीका नेताहरूसँग छलफल गरी त्यसपश्चात् नेपाली सेना, राष्ट्रपति र विद्रोही पक्ष बिचको सम्झौताको परिणाम स्वरूप नागरिक सरकार बन्यो, जसले चुनाव गराउनु पर्नेछ । अहिले विद्रोह शान्त भएपछि सेनाको संरक्षणमा बसेका नेताहरू बिस्तारै बिस्तारै सलबलाउन थालेका छन्, नागरिक सरकारलाई असफल बनाउन र चुनाव हुन नदिन । कोही अन्तरिम संविधानको कुरा गर्दैछन्, कोही संविधान संशोधनको कुरा त कोही संसद पुन:स्थापनाको कुरा गर्दैछन् ।
- दृश्य ४ – जेल र ब्यारेक
जेनजी विद्रोहमा सुरक्षाको कारण देखाई रवि (रास्वपा सभापति रवि लामिछाने)लाई जेलबाट निकालियो, जनताको सुरक्षा घेरामा उनी बसे । विद्रोह शान्त भएपछि उनी जेल फर्किए तर उनको नाम भगौडामा दर्ता भयो । उनी जेल बस्नुको कारण उनलाई सहकारी ठगी आरोप लागेको थियो ।
अर्कोतिर विद्रोहको समयमा सुरक्षाको कारणले भागेका शासक र नेताहरू ब्यारेक भित्र सुरक्षित बसे । देश जलिरहेको र जनता मरिरहेको अवस्थामा सैनिक क्याम्पभित्र आरामसँग दिन बिताए । स्थिति शान्त भएपछि व्यारेकबाट घरतिर फर्के । व्यारेकमा बसेकाहरू क्रान्तिकारी, राष्ट्रवादी र संविधानको रक्षक भए ।
- दृश्य ५ – राजद्रोही/आतङ्ककारी/ घुसपैठ/षड्यन्त्र
राजतन्त्रमा स्वतन्त्रताका लागि आवाज उठाउँदा राजद्रोही, बहुदलीय प्रजातन्त्रमा समावेशी राज्य सत्ताको लागि लड्दा आतङ्ककारी र गणतन्त्रमा रोजगार, भ्रष्ट्राचारको अन्त्य र सुशासनको प्रत्याभूतिको लागि विद्रोह गर्दा घुसपैठ र षड्यन्त्रकारी । यस्ता बिल्लाहरू विभिन्न समयमा विभिन्न शासक र तन्त्रले जनतालाई दिएका छन् ।
आन्दोलनको समयमा घुसपैठ हुनसक्छ भनेर सरकारले कडा सुरक्षा व्यवस्था मिलाउनु पर्ने हुन्छ जसले गर्दा कुनै अप्रिय घटना नघटोस् । शान्ति सुरक्षाको उचित व्यवस्था गर्न नसकेर कुनै अप्रिय घटना घट्यो भने सरकारले मुख छोप्ने वस्त्रको रूपमा घुसपैठ शब्द प्रयोग गर्ने गरेका हुन्छन् । साँचो अर्थमा घुसपैठको स्वरूप कस्तो हुन्छ, चार खुट्टा हुन्छ कि ? टाउकोबाट सिङ निस्केको हुन्छ कि ? दुई तीन ओटा मुख, कान, नाक हुन्छ कि ?
बालेन शाह, दुर्गा प्रसाईँ, रवि, हर्क साम्पाङ, राजावादी, हिन्दुवादी वा बेरोजगारी समूहलाई भन्ने कि ? अथवा सामाजिक सञ्जाल प्रयोगकर्ता जसले बेथिति, बेरोजगार, भ्रष्टाचारका आवाजहरू उठाइराखेका समूहलाई भन्ने ? यदि सामाजिक सञ्जाल प्रयोगकर्ताको आवाजलाई घुसपैठ भन्ने हो भने त्यो भन्दा बढी शान्ति, सुरक्षा भत्काउने खालका अभिव्यक्तिहरू निवर्तमान प्रधानमन्त्री देखि जिम्मेवार नेताहरूले सामाजिक सञ्जालमा पोस्ट गरिएका भेटिन्छन् ।
एउटा सच्चा राष्ट्रभक्त नेपाली जो शोषित, पीडित र बेरोजगार छ । उ सङ्गठित हुँदैन त्यसैले आफ्नो पिडाको आवाज बुलन्द पार्न सक्दैन । यस्तै विद्रोहको समयमा आफ्नो आक्रोश पोख्छ वा यस्तै विद्रोह पर्खी राखेको हुन्छ यो विद्रोह हो, घुसपैठ होइन ।
षड्यन्त्रको पनि कुरा आइरहेको छ । जहाँ शक्ति र सत्ता हुन्छ त्यहाँ षडयन्त्र हुन्छ नै । नेपालको इतिहासमा धेरै किसिमको षडयन्त्रले कोतपर्व सम्म भयो । पार्टीहरू भित्र पनि नेतृत्व तहमा बसी रहन विभिन्न खालका फोहरी खेल देखि राखेका छौँ, के यो षडयन्त्र होइन ? अर्कोतिर विदेशीहरूले षडयन्त्र ग¥यो भन्ने पनि छ । भूराजनीति यति जटिल भइसक्यो ठुला राष्ट्रले सानो राष्ट्रमाथि षडयन्त्र गर्न र आफ्नो पक्षमा राख्न चाहन्छन् । ठुला ठुला शक्ति राष्ट्रहरू बिच पनि आ–आफ्नो जासुसी संयन्त्र र गुप्तचर संस्थाबाट एक अर्का देशमा षड्यन्त्र गरिराखेका हुन्छन् । यस्तो हुन्छ भनेर नै आ–आफ्नो देशमा राजनेताहरू राजनैतिक स्थायित्व, शान्ति र एकताको लागि, सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाज कायम गर्ने प्रयास गरी राखेका हुन्छन्, ताकि जसले गर्दा विदेशी षडयन्त्र कम होस् ।
- दृश्य ६ – इमरान खान/ओली
रुसले युक्रेनमा २४ फेब्रुअरी २०२२ मा आक्रमण ग¥यो । त्यसै दिन पाकिस्तानको प्रधानमन्त्री इमरान खानले रुसको राष्ट्रपति पुटिनलाई भेटे । उनी फर्केपछि ८ मार्च २०२२ मा खान माथि अविश्वासको प्रस्ताव दर्ता भयो । पाकिस्तानको संसदमा १० मार्च २०२२ मा खानलाई प्रधानमन्त्री पदबाट हटाइयो । त्यसपछि उनले धेरै राजनैतिक कठिनाइ भोग्दै हाल जेलमा छन् ।
हाम्रा निवर्तमान प्रधानमन्त्रीले चीनमा भइरहेको संघाइ को–अप्रेसन सम्मेलन ३० अगस्टदेखि ३ सेप्टेम्बर २०२५ मा भाग लिए । त्यसपछि रेडपरेडमा पनि संलग्न भए । त्यहाँ उनले रुसको राष्ट्रपति पुटिनसँग पनि भेट गरे । उनी फर्केको १ हप्ता अर्थात् सेप्टेम्बर ८ र ९ (भदौ २३ र २४) मा जेनजी विद्रोह भयो । नागरिक सरकार बन्यो । संसद विघटन भयो । चुनाव घोषणा भयो ।
- दृश्य ७ – नेपाल प्रहरी र नेपाली सेना
दङ्गा/भिड रोक्न नेपाल प्रहरी तालिम प्राप्त हुन्छन् । भिड नियन्त्रण गर्न भदौ २३ गते प्रहरीले अन्तिम अस्त्र बन्दुक चलाउँदा मानव क्षति भयो भने २४ गते सेनाको पहिलो अस्त्र बन्दुक नचल्दा भौतिक क्षति भयो । सेना भनेको नै बन्दुक हो, बन्दुक विना सेना हुँदैन । सेना दङ्गा वा भिड नियन्त्रणमा तालिम प्राप्त हुँदैन । उनीहरूलाई अश्रुग्यास, हवाई फायर, पानीको फोहरा र लाठी चार्ज गर्न र उत्तेजित भिडलाई सम्झाई, बुझाई गर्ने अभ्यास र तालिम हुँदैन । उनीहरूले गोली सुतेर हान्ने कि, घुँडा टेकेर चलाउने कि, उठेर चलाउने आदेश कुरेर बसिरहेका हुन्छन् ।
सेना परिचालनदेखि गोली चलाउने आदेशसम्म विधि र प्रक्रियाबाट मात्र हुन्छ । सेनाले किन बल प्रयोग नगरेको भन्ने टीका टिप्पणी भइरहेको देखिन्छ तर अहिलेसम्म आधिकारिक निकायबाट विधि र प्रक्रिया पु¥याएर सेना सञ्चालन र बल प्रयोग गर्ने लिखित आदेश दिँदा पनि सेनाले आदेश मानेन भनेर कहीँकतैबाट वक्तव्य आएको देखिँदैन । बरु २४ गते भौतिक संरचना बचाउन भन्दा पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र नेतागणहरूलाई बचाउन सक्रिय भएका दृश्य देखियो, के यो गलत थियो ? हातमा बन्दुक छ भन्दैमा जथाभाबी चलाउन मिल्दैन । सेनाले नागरिक मारिसकेपछि देश भित्र र बाहिरी दुनियाँलाई जवाफ दिनुपर्छ । देशभित्र सेनाको छवि माथि प्रश्न उठ्छ नै, अन्तर्राष्ट्रिय जगतमा पनि सेनाको भूमिकामाथि प्रश्न उठ्ने र यसले शान्ति सेनामा भाग लिने प्रक्रियामा समेत असर पार्न सक्दछ । त्यसैले सेनाले नागरिक माथि गोली चलाउँदा देशवासी र अन्तर्राष्ट्रिय जगत् आश्वस्त हुनुपर्दछ ।
मानिलिऔँ वा कल्पना गरौँ सेनाले भौतिक संरचनाको सुरक्षाको लागि गोली चलाएको भए ती संरचनाको वरिपरि सयौँको सङ्ख्यामा लासहरू हुन्थ्यो, हजारौँ घाइतेहरू छटपटाइरहेका हुन्थे, उद्धार कार्य हुन सक्दैन थियो वा अस्पतालहरू क्षमता भन्दा बढी घाइते आउँदा सेवा दिन असक्षम हुन्थ्यो होला । सेनाद्वारा नागरिकको हत्या भएपछि नेपाली जनता र सेना बिचको बर्षौं देखिको सुमधुर सम्बन्ध आत्मीयता, विश्वास र उत्तरदायित्वमा दूरी बढ्न गई २५ गते बिहान लाखौँ जनता सैनिक मुख्यालय घेर्न जान्थे होलान् तब स्थिति सेनाको हातबाट बाहिर गई टोल–टोलमा लुटपाट आगजनी हुन्थ्यो होला । त्यसपछि उद्धार र राहतको नाममा विदेशी सेना र शान्ति सेनाको प्रवेश हुन्थ्यो होला ।
- दृश्य ८ – नागरिक सर्वोच्चता
नीतिगत र सैद्धान्तिक कुरा गर्न सजिलो हुन्छ । मृत्यु हुने वा घाइते युवा आफ्नै परिवारका सदस्य भएको कल्पना गरौँ, जवाफ आफै मिल्छ । नागरिक कुनै हालतमा पनि मारिनु हुँदै हुँदैन । जसको एउटा उदाहरण, केही वर्ष अघि काठमाडौँबाट दिल्ली उडेको भारतीय वायुसेवा विमानको अपहरण भई अफगानिस्तानको कन्दार विमानस्थल लगिएको थियो । त्यसभित्र अधिकांश भारतीय थिए । तिनीहरूलाई बचाउन भारत सरकारले खुनकार आतंककारीहरुलाई छोडेर नागरिकहरूको ज्यान बचाई नागरिक सर्वोच्चताको सम्मान गरेको थियो ।
- दृश्य ९ – संसद्को सरकार र राष्ट्रपति
नागरिकमाथि सेनाले किन गोली नचलाएको भनेर प्रश्न गर्नु भन्दा पहिले अङ्क गणितीय संसद्को सरकारले निम्न कार्य गरेको भए जनधनको क्षति हुने थिएन कि भनेर प्रश्न गरौँ – भ्रष्टाचार मुक्त समाज र सुशासन कायम गरेको भए, जनतालाई रोजगारी दिएको भए, सामाजिक सञ्जाल बन्द नगरेको भए, जेनजीले विरोधको कार्यक्रम घोषणा गरेपछि वार्ता गरेको भए, विरोध कार्यक्रमका दिन उचित सुरक्षाको व्यवस्था गरेको भए, संसद् भवनमा गोली नचलाएको भए, २३ गते राती प्रधानमन्त्रीले राजीनामा दिएको भए, कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनकारीलाई वार्तामा बोलाएको भए, सुरक्षा निकाएका प्रमुखहरूले दिएको सुझाव अनुरूप प्रधानमन्त्रीले बिहानै राजीनामा दिएको भए ? अर्कोतिर राष्ट्रपतिले २३ गते राति नै प्रधानमन्त्रीको राजीनामा मागेको भए नदिएमा प्रधानमन्त्रीलाई बरखास्त गरी सेना परिचालन आदेश दिएको भए, २४ गतेको घटना पनि घट्ने थिएन कि ? प्रधानमन्त्रीले राजीनामा दिनु भन्दा पहिले देश भित्रका महत्त्वपूर्ण भवनहरू जलिरहेका थिए, २४ गते २ बजे बेलुका देखि राति १० बजे सम्म देशमा सरकार विहीनताको अवस्था देखियो ।
अन्तमा, ‘जनता नै जर्नादन हो’ त्यसैले जनताको कुरा नसुन्ने, त्यसको बदलामा यिनीहरूलाई गाली गर्ने, खिसी, टिप्पणी गर्ने, प्रतिशोधको कुरा गर्ने, झूट बोल्ने, ललकारने प्रवृत्ति बन्द गरी जनतासँग माफी माग्नु पर्छ ताकि अर्को विद्रोह नजन्माओस् । सत्य कुरा के हो भने गरिब, पीडित, शोषित र बेरोजगारहरूलाई देशभित्र बस्न गाह्रो भएकै हो ।
पीडितले न्याय नपाएकै हो, भ्रष्टाचारले सीमा नाघेकै हो, सुशासन मरकै हो, न्यायालय, अख्तियार, संवैधानिक अङ्ग र सरकारी नियुक्तिहरूमा भागवन्डा भएकै हो । त्यसैले, गीतामा कृष्ण भगवानले भन्नु भएको छ, ‘जब जब पृथ्वीमा धर्मको ह्रास हुन्छ र अधर्म अत्यधिक बढ्न थाल्छ तब–तब म यस पृथ्वीमा जन्म लिइरहनेछु ।’
त्यसैले कहीँ कतै यी जेनजी पुस्ता भगवान कृष्ण स्वरूप प्रकट भइराखेको त छैनन् ? यदि त्यसो हो भने, सत्य, धर्म, अहिंसा, प्रेम र शान्ति अपनाई देशलाई मार्गदर्शन दिन यस पुस्तालाई शुभकामना !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण