शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी विद्रोह २०८२ को समीक्षा

आइतबार, ०५ असोज २०८२, ०९ : ३६

सारांश

  • आध्यात्मिक गुरुले असल संगतको महत्त्वबारे प्रकाश पारे।
  • जेनजी विद्रोहले संविधानका केही धारा परिवर्तनको माग गर्‍यो तर सरकारले घुसपैठको संज्ञा दियो।
  • विद्रोहमा सरकारी संरचना ध्वस्त भए र नेताहरूलाई आत्मालोचना गर्न आह्वान गरियो।

एक आध्यात्मिक गुरुले आफ्ना भक्तहरूलाई एउटा कार्यक्रममा भन्नुभएको थियो, ‘सत सङ्गत, उठ, बस असल राम्रो बानी र व्यवहार भएका मानिस, समूह र समाजसँग गर्नु । कुसङ्गतले तिमीहरूको जीवन नर्क बनाइदिन्छ।’ 

दुई-तिहाइको सरकार बनेको थियो । प्रश्न उठेको छ, कांग्रेसको लागि एमाले कुसङ्गत कि, एमालेको लागि कांग्रेस ? प्रजातान्त्रिक मुलुकहरूमा विरलै पाइने यस्तो कुसङ्गतको परिणाम नेपालीले भोग्नुपर्‍यो । 

आन्दोलनको कुरा गर्दा, विगतमा पार्टीहरूले व्यवस्था परिवर्तनको लागि गरेका विरोधको कार्यक्रम आन्दोलन थियो । जेनजी पार्टी होइन, सन् १९९७ देखि २०१२ सम्म जन्मेका युवा पुस्ता हो । त्यसैले ‘जेनजीको विद्रोह २०८२’ आन्दोलन थिएन । यस विद्रोहबारे जे जस्ता तर्क-वितर्क गरेता पनि इतिहास बनिसक्यो । अब कसैले मेटाउन सक्दैन ।

संविधानको कुरा गर्दा, अहिले संसद् मात्र विघटन भएको हो, संविधान खारेजी भएको छैन । विगतका आन्दोलनहरूले संविधान च्याते । जेनजी विद्रोहले संविधान बचाएर संविधानको केही धारा परिवर्तनको माग राखे ताकि देश सुशासन र समृद्धि तिर जाओस् भनेर । एउटा ध्रुव सत्य कुरा के हो भने, यही संविधानका केही धारा यथास्थितिमा राखेर देश चल्दैन । भविष्यमा पटक पटक यस्ता विद्रोह हुनेछन् ।

संविधान मिचिएको कुरा आइरहेको छ । विद्रोहले संविधान त चिन्दैन र देख्दैन, धारा को के कुरा । नेपाली जनताको पक्षमा धेरै राम्रा धाराहरू संविधानमा उल्लेख छन् ती सबै निष्क्रिय छन्, के यो संविधान मिचाहा होइन ? १० वर्षसम्म सरकार बनाउन र ढाल्नेमा धाराहरू पटक-पटक प्रयोग भयो । उपलब्धि शून्य भयो। जसले गर्दा देशमा विद्रोह जन्मायो।

शीतलनिवास जल्यो – संविधानको धारा पूर्ण कार्यान्वयन गर्न नसकेर; सिंहदरबारदेखि स्थानीय सरकार जल्यो – सुशासन दिन सकेन भनेर, संसद् भवन जल्यो– विधि विधान बनाउन नसकेको भनेर; अदालत जल्यो – पीडितलाई न्याय दिन असक्षम बनेर; अख्तियार जल्यो– भ्रष्टाचारीलाई कारबाही गर्न सकेन भनेर ।

सांसद पुनर्स्थापनाको पनि कुरा उठाइराखेका छन्, के को लागि ? यदि विघटित सांसदहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव, राष्ट्रियसभालाई समानुपातिक सभा बनाउने, सांसद मन्त्री बन्न नपाउने, सङ्घीयताको खारेजी, गैरपार्टी स्थानीय चुनाव, न्यायाधीश र संवैधानिक निकायको नियुक्ति पारदर्शी बनाउने जस्ता समयको मागहरू संविधानका धारा संशोधन गरी, पुनर्स्थापित संसद्ले गर्ने छ भनेर पूर्वसांसदहरूले दस्तखत गरी एउटा कपि राष्ट्रपति र अर्को कपि नेपाली जनतामाझ दर्ता गराउनुस् तब मात्र जनताले विश्वास गर्न सक्ने बाटो खुल्न सक्दछ । होइन भने नेताहरूको ‘ह्विप’बाट चल्ने संसद् किन चाहियो भनेर, जनताले प्रश्न गर्नेछन् । ‘संविधानभन्दा माथि जनताको इच्छा र चाहना हुन्छ ।’

जेनजी विद्रोहको स्वरूप हेर्दा राजधानीदेखि देशको कुनाकाप्चामा समेत विद्रोह देखियो । शीतलनिवास जल्यो – संविधानको धारा पूर्ण कार्यान्वयन गर्न नसकेर; सिंहदरबारदेखि स्थानीय सरकार जल्यो – सुशासन दिन सकेन भनेर, संसद् भवन जल्यो– विधि विधान बनाउन नसकेको भनेर; अदालत जल्यो – पीडितलाई न्याय दिन असक्षम बनेर; अख्तियार जल्यो– भ्रष्टाचारीलाई कारबाही गर्न सकेन भनेर; सुरक्षा निकायका संरचना ध्वस्त भयो– युवाहरूको ज्यान जोगाउन नसकेर; पार्टी र नेताहरूको घर जल्यो – नेपाललाई समृद्ध बनाउन सकेनौँ भनेर; व्यवसायी प्रतिष्ठान जल्यो – भष्ट्राचारीहरूको संलग्नताको आशङ्का भएर । लामो समय देखि बेलाबेलामा पार्टीहरूका जिम्मेवार नेताहरू र नागरिक अगुवाहरूले विद्रोहको आभास दिइराखेका थिए । समयमा यी कुराहरूलाई सम्बोधन गरेको भए राष्ट्रले यति धेरै क्षति भोग्नु पर्ने थिएन होला ।

जेनजी विद्रोहलाई घुसपैठको पर्दाले ढाक्न कोसिस गर्दैछन् । विरोधको कार्यक्रमलाई सरकारले व्यवस्था विरोधी, षडयन्त्र र घुसपैठको संज्ञा दिएर गोली चलायो तर नेपाली सेनाले जेनजीको विरोधका कार्यक्रमलाई घुसपैठ होइन विद्रोह देख्यो, त्यसैले नागरिकमाथि गोली चलाइएन। योभन्दा ठुलो पुष्टि के हुन सक्छ, घुसपैठ हो कि विद्रोह ?

हाम्रो समाजमा क्षमायाचना, आत्मालोचना र मैले भूल गरेँ भन्ने वाक्यांश, अपराधीले बोल्ने शब्द हो, भन्ने भाष्य निर्माण भएको छ । तर त्यस्तो होइन यी माथिका वाक्यांश, बुद्धिजीवी, ज्ञानप्राप्त, अनुभवी नागरिकले बोल्ने वाक्यांश हो ।

स्वचालित हतियारको प्रयोगका कुराहरू आइरहेका छन् । विद्रोहका समयमा हजारौँ क्यामराले घटनाका दृश्यहरू कैद गरेका छन् । तर कहीँ कतै सामाजिक सञ्जालमा यस्ता स्वचालित हतियारहरू देखा परेका छैनन् । बरु सुरक्षाकर्मीका हातमा हतियार देखिएको छ । जरुरत भएमा यसलाई भू–उपग्रह(स्याटेलाइट)का दृश्यहरूबाट थप पुष्टि गर्न सकिन्छ । 

भीम मल्लको घाँटी काटिएको इतिहास हाल चर्चामा आइरहेको छ। यो विद्रोहमा भीम मल्लको प्रतीक आफूलाई ठान्नेहरू कसैको घाँटी काटिएको छैन। बरु देशभक्त जेनजीहरूको टाउको बन्दुकको गोलीले उडेको छ। भीम मल्लको उपाधि उनीहरूलाई दिइनुपर्छ ।

हाम्रो समाजमा क्षमायाचना, आत्मालोचना र मैले भूल गरेँ भन्ने वाक्यांश, अपराधीले बोल्ने शब्द हो, भन्ने भाष्य निर्माण भएको छ । तर त्यस्तो होइन यी माथिका वाक्यांश, बुद्धिजीवी, ज्ञानप्राप्त, अनुभवी नागरिकले बोल्ने वाक्यांश हो । त्यसैले एक पटक बोलेर हेर्नुस् सबै समस्याको निकास निस्किन्छ ।

पार्टीका नेताहरूले विद्रोहलाई आत्मासाथ गरी पार्टी भित्रबाट परिवर्तनको सुरुवात गर्नुस् । यो विद्रोहलाई असफल बनाउन खोज्नुभयो भने त्यसपछि इमरजेन्सी, त्यसपछि ......... । 

हामीले देखिसक्यौँ, तपाईँहरूले २० वर्षमा बनाएको सुरक्षा संयन्त्रले तपाईँहरूलाई नै सुरक्षित गर्न सकेन । त्यसैले जनतालाई तपाईँहरूको पहरेदार बनाउनुस्, त्यो दिगो हुनेछ । यसको लागि राम्रो कर्म र देशप्रति धर्म निभाउनुस् । धर्म निभाउने सन्दर्भमा ख्याल राख्नु होला सुन्दर सोच नै सुन्दर संसार हो, ज्ञानको कमी समस्याको जड हो र राम्रो ज्ञान समस्याको समाधान हो । संवाद, वार्ता हरेक विद्रोहको अस्त्र हो । परिवर्तन आफैँबाट सुरु गरौँ, देश आफैँ बन्छ ।

अन्त्यमा, विश्वको इतिहासका यति छोटो समय करिब ३६ घण्टामा विद्रोह सफल भएको इतिहास छैन । त्यसैले ‘जेनजी विद्रोह २०८२’ गिनिज बुकमा लेखिनेछ । जेनजी पुस्तालाई बधाई, सहिद प्रति श्रद्धाञ्जली, परिवार प्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप