मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनका बेला बाँकेको नौवस्ता र नख्खु कारागारबाट भागेका दुई कैदी सुर्खेतमा पक्राउ

सोमबार, २० असोज २०८२, १४ : २८
सोमबार, २० असोज २०८२

सारांश

  • सुर्खेतमा जेनजी आन्दोलनका क्रममा फरार भएका दुई कैदी पक्राउ परेका छन्।
  • फरार कैदीहरूमा रतन वादी र गङ्गबहादुर भुरुङ रहेका छन्, जो जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए।
  • उनीहरूलाई सुर्खेतको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला कारागारमा राखिएको छ।

 सुर्खेत । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीलाई सुर्खेतबाट पक्राउ गरिएको छ ।

बाँकेको नौवस्ता कारागारबाट फरार रतन वादी र काठमाडौँको नख्खु कारागारबाट फरार गङ्गबहादुर भुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका २२ वर्षीय रतन वादीलाई सोमबार बिहान सुर्खेतको गुर्भाकोट नगरपालिका–६, नक्कलेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

उनी गत भदौ २४ गते जेनजी आन्दोलनका बेला बाँकेको नौवस्ता कारागारबाट भागेका थिए ।

उनलाई मेहलकुना प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

यस्तै, जबरजस्ती करणी मुद्दाकै अर्का फरार कैदी ३६ वर्षीय गङ्गबहादुर भुरुङलाई पनि सोमबार बिहान ११ बजे नियन्त्रणमा लिइएको छ ।

उनी जेनजी आन्दोलनकै क्रममा काठमाडौँको नख्खु कारागारबाट फरार भएका थिए । गङ्गबहादुरलाई सुर्खेतको लेकबेसी नगरपालिका–८ स्थित उनको घरबाट इलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप