आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

निर्देशक दीपेन्द्र के खनाललाई प्रश्नः जेनजी आन्दोलनसँग कसरी मिल्यो फिल्म ?

बुधबार, २२ असोज २०८२, ०७ : ३१
बुधबार, २२ असोज २०८२

सारांश

  • निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म 'हरिबहादुरको जुत्ता' प्रदर्शन भइरहेको छ, जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।
  • फिल्ममा पारिवारिक कथा, राजनीतिमा युवाहरूको प्रवेश र सामाजिक विषयवस्तुहरू समावेश छन्, जसले दर्शकलाई आकर्षित गरेको छ।
  • निर्देशकले फिल्ममार्फत सामाजिक रूपान्तरण र नयाँ सोच प्रदान गर्ने प्रयास गरेको बताएका छन्, र फिल्मले दर्शकको अपेक्षा पूरा गरेको दाबी गरेका छन्।

दीपेन्द्र के खनाल नेपाली फिल्म उद्योगका एक कुशल र सफल निर्देशक हुन् । हरेक फिल्म फरकफरक विधामा बनाएर दर्शकको मन जित्दै आएका उनी पछिल्लो समय फिल्म ‘हरिबहादुरको जुत्ता’को कारण चर्चामा छन् । 

उनी दर्शकलाई केवल मनोरञ्जन मात्र नभई सामाजिक रूपान्तरण र नयाँ सोच प्रदान गर्ने खालका कथाहरूमा काम गर्न रुचाउँछन् । उनी आफ्ना फिल्ममार्फत दर्शकलाई एकसाथ ल्याउने र पारिवारिक सद्भाव बढाउने प्रयास समेत गर्छन् । जसको एउटा उदाहरण फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि हो । उनी यो फिल्मले परिवारलाई जोड्ने बताउँछन् । फिल्ममा पारिवारिक कथाको अलवा राजनीतिमा युवाहरूको प्रवेशको कथा पनि छ । फिल्मको व्यवसाय र विषयवस्तुबारे निर्देशक खनालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

तपाईंको नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनरत छ, व्यवसायचाहिँ कस्तो छ ?
राम्रो भइरहेको छ । सुरुवाती दिनदेखि आज (मंगलबार) नवौं दिनसम्म आउँदा पनि राम्रो देखिएको छ । नर्मल दिनमा पनि हाउसफुल बिजनेस छ । देशको अवस्था हेर्दा हलमा फिल्म हेर्न मान्छे नै नआउने हुन् कि भन्ने डर थियो । केही हदसम्म त्यसलाई चिर्दै फिल्मले दर्शकलाई हलसम्म तान्यो । अघिल्ला वर्षको दसैंजस्तो यसपालि दर्शक देखिएनन् । 

दर्शकबाट फिल्मको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
समग्रमा प्रतिक्रिया एकदमै राम्रो छ । त्यही भएर त आज नवौं दिनसम्म पनि हाउसफूलको व्यवसाय गरिरहेको छ । यदि दर्शकलाई राम्रो नलागेको भए त फिल्म दुई–तीन दिनमै हलबाट उत्रिन्थ्यो होला । हाम्रो त झन् शुरुमा कम शोमा ओपनिङ भएको फिल्म हो । अहिले दिन प्रतिदिन शो बढाउँदै बढाउँदै लगेर हामी अहिले एक नम्बरमा छौँ । यसले पनि दर्शकको रुचिमा परेको मान्न मिल्छ ।

फिल्मको कथामा राजनीति पनि उठाउनुभएको छ, किन ?
फिल्ममा राजनीति मात्रै छैन, राजनीति, सामाजिक, हास्य र पारिवारिक विषयहरू मिश्रित छन् । फिल्मको मुख्यकथा पारिवारिक सामाजिक कथा नै हो । एउटा चोर मान्छे समाजमा सुध्रिन्छु भन्दा उसले भोग्ने उतारचढाव नै फिल्मको विषयवस्तु हुन् । 

फिल्ममा स्वस्तिमा खड्काको अभिनयलाई कतिले जेनेजी आन्दोलनसँग जोडेर चर्चा गरेका छन् । कसरी मिल्यो त प्रसंग ?
होला, हरिवंश दाइ फिल्मको लेखकका रूपमा पनि हुनुहुन्छ । उहाँले जहिले पनि समाजका केही कुराहरू टिप्नुहुन्छ । ठ्याक्कै त्यही कुराचाहिँ ‘हरिबहादुरको जुत्ता’मा उतारिएको हो । संयोगले जेनेजी आन्दोलन भइदियो र फिल्मको कन्टेन्ट मिल्यो । फिल्ममा समाजले यो चाइरा’छ भन्ने हिसाबले जेनजी आन्दोलनजस्तो चुनावी प्रसंग राखिएको थियो । त्यो लेखकको भिजन हो । लेखक दूरदर्शी हुन्छ भनेको यही होला ।

तपाईंको फिल्म आउँदै गर्दा दर्शकमा एक किसिमको अपेक्षा हुन्छ । यो फिल्मले कति पूरागर्यो जस्तो लाग्छ ?
मैले जति फिल्म गरेँ, फिल्मका जनराहरू एकै किसिमका छैनन् । फरक फरक छन् । फिल्मको जनराअनुसार दर्शक पनि फरक फरक हुन्छन् । फिल्म ‘हरिबहादरको जुत्ता’ बनाउँदा हामीले अलिकति लाइट कमेडीमा एउटा समाजको मिठो कुरा भन्ने भनेर बनाएका हौँ, दर्शकहरूले रुचाउनुभएको छ । त्यो भनेको अपेक्षा पुरा गरेको हो । हरेक फिल्मको आफ्नो जनरा हुन्छ, त्यो कथा कसरी भन्ने कुरा पहिल्यै हुन्छ । त्यसमा चाहिँ त्यो फिल्म कत्तिको सफल भयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छजस्तो मलाई लाग्छ ।

अरूको लेखनीमा काम गर्दा कतिको अप्ठ्यारो महसुस भयो ?
खासै भएन । हरिवंश दाइ (हरिवंश आचार्य) सँग काम मेरो पहिलोचोटि हो र उहाँसँग काम गर्दा माहोल नै अर्को रह्यो । साँच्चिकै रमाइलो नै भयो । उहाँले कहिले पनि म एकदम सिनियर हुँ भन्ने हिसाबको फिल गराउनुभएन । मैले पनि केही कुरा सिक्नुपर्छ । मैले जानेको कुरा केही भन्नुपर्छ भन्ने हिसाबले उहाँसँग काम गरेँ । 

492003949_9588056494641180_5954790694729606989_n (1)

फिल्ममा हरिवंश दाइको अभिनय अलिकति लाउड भयो भन्ने छ नि ?
म त्यो मान्दिनँ । किनभने त्यो क्यारेक्टर नै हामीले टीभीमा हेरिरहेको हो । त्यो क्यारेक्टर नै त्यस्तै हो नि । हरिबहादुर भन्ने क्यारेक्टरलाई सटल गराउने हो भने त्यो क्यारेक्टर मरिहाल्छ  । कोही मान्छेको स्वभाव अलि नर्मल हुन्छ, कोही चड्केर बोल्ने हुन्छ । म एकदमै सफ्ट बोल्छु, त्यो भन्दैमा अलिकता कडा बोल्ने मान्छेलाई त्यसले रिसाएर बोल्यो भन्न त मिल्दैन नि । क्यारेक्टरको एउटा स्वभाव हुन्छ । त्यसमा फिट हुनुहुन्छ । मैले चलाउन थालेको भए फिल्म बिग्रन्थ्यो ।

सानो पर्दामा स्थापित पात्रलाई ठुलो पर्दामा देखाउदा के हुँदो रहेछ ?
सानो पर्दामा आउँदा त्यो क्यारेक्टरलाई जता पनि छोड्दिन मिल्छ । किनभने त्यो हरेक हप्ता नयाँ एपिसोड आउँछ । फिल्ममा भने एउटा निश्चित बिन्दुबाट सुरु गरेर निश्चित बिन्दुमा सकाउनुपर्ने हुन्छ । टेलिभिजनमा जसरी क्यारेक्टरलाई फिल्ममा छोड्न मिल्दैन । त्यसलाई बाँधिराख्नुपर्ने हुन्छ । यही यसको ठुलो चुनौती हो ।

हरिहर शर्मालाई फिल्ममा भिलेनका रूपमा उभ्याउनुभयो, यो जोखिम थिएन ? 
म उहाँको अभिनयको फ्यान हुँ । उहाँको अभिनय यति सटल हुन्छ कि आँखा, बडीलगायत शरीरको सबै भागबाट एक किसिमको भाव पैदा गर्नुहुन्छ । मैले सानोसानो क्यारेक्टरहरूमा उहाँसँग यो यसअघि पनि काम गरिसकेको थिएँ । यसमा रोल अलिकति लामो हो । सुरुमा त नेगेटिभ क्यारेक्टरमा गर्न उहाँलाई मनाउन निकै गाह्रो पर्‍यो । मैले आर्टिस्ट भएपछि त नेगेटिभ पोजिटिभ भन्दा पनि त्यो क्यारेक्टरचाहिँ कस्तो छ भन्ने कुरा महत्त्व हुन्छ दाइ, गरौँ भनेर बुझाएँ । अहिले पर्दामा जतिबेला देखिनुहुन्छ, उहाँले साँच्चै एउटा मजाको छाप छोड्नुभएको जस्तो लाग्छ । मेरो बुझाइमा उहाँ जस्तो पनि क्यारेक्टर गर्न सक्ने कलाकार हो ।

फिल्मभित्रका चरित्र छनोटमा कठिन थियो कि ?
पक्कै सजिलो थिएन । हरेक फिल्म बनाउँदा पनि मिहिनेत त भइहाल्छ । यो फिल्मको सानोसानो क्यारेक्टरमा पनि राम्रा राम्रा कलाकारहरू छन् । कति कलाकार हरिवंश दाइँसँग पहिल्यैदेखि जोडिएका पनि छन् । यसमा नयाँ जेनेरेसनका प्रकाश सपुत, स्वस्तिमा खड्का पनि छन् । यो सबै जेनेरेसनका कलाकार समेटिएको फिल्म पनि हो ।

dipendra1

फिल्ममा चुनावी परिवेश अहिलेका जेनजीले चाहेको जस्तो छ । यसले आगामी चुनावमा कत्तिको प्रभाव पार्ला ?
दर्शकहरूले हलमा पनि अहिले त्यही कुराहरूको चर्चा गरिरहनुभएको छ । चुनाव घोषणा भएपछि फिल्म रिलिज भयो । अहिलेका नयाँ जेनेरेसनले जे कुराहरू चाहिरहनुभएको छ, जुन कुराहरूबाट वाक्क हुनुभएको छ, त्यो कुरालाई यो फिल्मले पक्कै पनि सम्बोधन गरेको छ । समाजले, अहिलेको पुस्ताले जुन रूपान्तरण खोजिरहेको यसले अलिकति त्यतातिर अगाडि बढ्न मद्दत गर्छ ।

हरेक फिल्म फरक फरक जनराको किन गर्नुहुन्छ ?
म त जहिले पनि नयाँ कुराहरू गर्न रुचाउने मानिस हो । मैले केही नयाँ गर्न सकेभने दर्शकले पनि केही कुराहरू नयाँ टेस्ट पाउँछन् भन्ने लाग्छ । त्यसैले म जहिले नयाँतिर अगाडि बढिरहेको हुन्छु । 

धेरै फिल्म गरिसक्नुभयो, अझै भन्न मन लागेको कथा छ ?

त्यस्ता कथाहरू धेरै छन् । बिस्तारै भन्दै जाने सोच पनि छ । आफूलाई भन्न मन लागेर पनि भएन । कति कुराहरू मिल्दै जानुपर्ने पनि रहेछ । मैले आफूले पनि कति कुराहरू सिक्दै जानुपर्ने पनि छ । निर्देशनमा अझै खारिएर, अझै नयाँ कथाहरू लिएर आउने सोच छ । मेरो अरू पेसा त छैन । अब जीवन, मरण नै यही फिल्म नगरीमै हो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप