मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दसैंमा ट्राफिकको कडाई: सुर्खेतमा ५३८ सवारी साधनमाथि कारबाही

बुधबार, २२ असोज २०८२, १४ : ११
बुधबार, २२ असोज २०८२

सारांश

  • दसैं अवधिमा सुर्खेतमा ट्राफिक नियम उल्लंघन गर्ने ५३८ सवारी साधनलाई कारबाही गरिएको छ।
  • दुर्घटनामा २ जनाको मृत्यु र ६३ जना घाइते भएका छन् भने सबैभन्दा बढी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन कारबाहीमा परेका छन्।
  • यातायात व्यवस्थालाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ, जसमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ।

‎सुर्खेत । दसैंकाे अवधिमा सुर्खेतमा ट्राफिक नियम उल्लंघन गर्ने ५३८ वटा सवारी साधनलाई कारबाही गरिएको छ। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार, ‎ती सवारी साधन कारबाहीबाट ४ लाख ५७ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ।

‎यस अवधिमा २० वटा सवारी दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन् भने ६३ जना घाइते भएका छन्।

‎जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा प्रमुख वकिल सुनारका अनुसार, सबैभन्दा बढी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १२० वटा सवारी साधनमाथि कारबाही गरिएको छ, जसबाट १ लाख १८ हजार रुपैयाँ राजश्व उठेको छ। 

‎तीव्र गतिमा सवारी चलाउने ६ वटा साधनबाट ३ हजार ५०० रुपैयाँ र मादक पदार्थ सेवन गरी सवारी चलाउने ८९ वटा साधनबाट ५२ हजार रुपैयाँ राजश्व संकलन भएको छ। 

‎अन्य विभिन्न कसूरमा ३२३ वटा सवारी साधनमाथि कारबाही गरिएको छ र त्यसबाट २ लाख ८४ हजार रुपैयाँ राजश्व उठेको छ।

‎कारबाहीमा पर्ने सवारी साधनहरूमा मोटरसाइकल २०९ वटा, जीप १२२ वटा, ट्रक ७६ वटा, बस ७३ वटा, अटो ३८ वटा रहेका छन् भने सबैभन्दा कम २० वटा ट्र्याक्टर कारबाहीमा परेका छन्।

‎दुर्घटनाको तथ्यांक हेर्दा, २० वटा दुर्घटनामा २ जनाको मृत्यु र ६३ जना घाइते भएका छन्। दुर्घटनामा पर्ने सवारी साधनहरूमा मोटरसाइकल ११ वटा, अटो ७ वटा र जीप कार ५ वटा रहेका छन्।

‎ट्राफिक प्रमुख सुधारका अनुसार, अटाेहरु प्रायः राजधानी वीरेन्द्रनगरभित्र चल्ने गर्दछन् । सवारी दुर्घटना र यातायातलाई सहज र व्यवस्थित बनाउन ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चाडपर्व लक्षित ट्राफिक प्रहरी सुरक्षा योजना बनाई कार्यान्वयन गराएको छ। 


‎जसअन्तर्गत, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बसपार्कमा, अस्थाययी ट्राफिक प्रहरी पाेष्ट बबई, छिन्चु, बोटेचौर, बड्डिचौर, वादेपिपल, लेकवेशी र बावियाचौर गरी जम्मा ८ ठाउँमा यात्रु सहायता कक्षा सञ्चालन गरिएको उनले बताए।

‎यसैगरी, बढी दुर्घटना हुने स्थानको पहिचान गरी आकस्मिक चेकिङ गर्ने गरिएको पनि ट्राफिक प्रमुख सुनारले राताेपाटीलाई बताए।

‎'कार्यालय तथा मातहतका युनिटबाट नियमित तथा विशेष चेकिङ गर्ने गरिएको छ भने २४ घण्टा द्रुत प्रतिक्रिया टोली परिचालन गरिएको छ,' उनले भने, 'माइकिङ गरी तथा अन्य विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने कार्य गरिएको छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप