रक्षात्मक अवस्थामा कसरी पुगे बालेन शाह ?
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय रक्षात्मक देखिएका छन्, उनले स्पष्टीकरण दिन थालेका छन्।
- सिंहदरबार आगलागी र जेनजी आन्दोलन लगायतका घटनामा बालेनको भूमिकाबारे प्रश्न उठेपछि उनले सामाजिक सञ्जालमा स्पष्टीकरण दिए।
- सुरुमा सार्वजनिक प्रश्नबाट टाढा रहेका बालेन, अहिले भने कामको चर्चा र स्पष्टीकरण दिन बाध्य भएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह पछिल्लो समय रक्षात्मक अवस्थामा पुगेका छन् । नगर प्रमुखमा निर्वाचित भएदेखि नै बालेनले परम्परागत सञ्चारमाध्यम र सार्वजनिक फोरमहरूसँग प्रत्यक्ष सम्पर्कबाट आफूलाई टाढा राख्दै आएका थिए । जसले गर्दा जबाफदेहितामाथि बेवास्ता गरेको आरोप उनले खेप्दै आएका थिए ।
बालेनको सुरुवाती ‘चार्म’ र सामाजिक सञ्जालमा बलियो उपस्थितिले उनलाई लामो समयसम्म आलोचनाबाट जोगाएको थियो । पछिल्लो समयमा बढ्दै गएका प्रश्नहरूले उनलाई आफ्नो कार्यशैली परिवर्तन गर्न बाध्य बनाएको देखिन्छ ।
सुरुमा उनी थोरै बोल्ने र सामाजिक सञ्जालमा कडा स्टाटस लेख्ने छविका साथ प्रस्तुत भएका थिए । जसले गर्दा उनीप्रति ठुलो संख्यामा समर्थक आकर्षित हुन्थे र उनका विवादास्पद भनाइसमेत तत्काल भाइरल हुने गर्दथे । प्रश्नकर्ता र प्रश्नहरू नै उनको फ्यान फलोइङको अगाडि ओझेलमा पर्ने गर्दथे, तर अहिले समय बदलिएको छ । बढ्दो प्रश्नहरूले उनलाई स्पष्टीकरण दिन बाध्य बनाइरहेको छ ।
- कामको चर्चामा जोड र स्पष्टीकरणको आवश्यकता
पछिल्लो समय नगर प्रमुख बालेनले सामाजिक सञ्जालमा व्यक्त गर्ने विषयमा समेत परिवर्तन गरेका छन् । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि बिहीबार बिहानसम्म उनले महानगरपालिकाले गरेका कामको बारेमा १० वटा स्टाटस पोस्ट गरिसकेका छन् । यी स्टाटसमा उनले फोटो र भिडियो प्रशस्त राखेर स्थानीय तहहरूलाई एम्बुलेन्स दिने, कानुन परिवर्तन गरेर विद्यार्थीलाई छात्रवृत्ति दिएको, सडकमा हाइमास्ट लाइट जडान गरेको, स्मार्ट कक्षाकोठा बनाउने योजना, यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको जानकारी, पद्यमोदय स्कुलको सटर हटाएको जानकारी, महिला फुटबल ग्राउन्ड निर्माण गरिरहेको, १३ सय वर्ष पुरानो महाँकाल पुनःनिर्माण कार्य सुरु गरेको, विपद् क्षति न्यूनीकरणका लागि गरेको प्रयास र डेंगु नियन्त्रणमा महानगरले गरिरहेको कामको भिडियो राखेका छन् ।
यसअघिसम्म नगर प्रमुख बालेनले महानगरपालिकाबाट भएका कामको विवरण सामाजिक सञ्जालमा फाट्टफुट्टमात्रै राख्ने गरेका थिए । राजनीतिक दलका नेताहरूलाई गाली गरेको, संघीय सरकारले असहयोग गरेको गुनासोलाई आक्रामक रूपमा उनले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए । अहिले उनी महानगरपालिकाले गर्न खोजेको र गरिरहेको कामबारे विस्तृत चर्चा गरिरहेका छन्, जुन उनको बढ्दो रक्षात्मक कार्यशैलीको संकेत हो ।

बालेनलाई एउटा महत्त्वपूर्ण विषयमा सार्वजनिक रूपमै स्पष्टीकरण दिनुपरेको छ । यो हो सिंहदरबार आगलागीको घटना र त्यसमा महानगरको भूमिका ।
२०८० भदौ १६ मा बालेनले सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’ भन्दै आक्रोश पोखेर ‘सिंहदरबारमा आगो लगाइदिने’ चेतावनी दिएका थिए । उनको यो भनाइले तत्कालीन समयमा निकै चर्चा पाएको थियो । पछि उनकी श्रीमती सबिना काफ्ले प्रसव पीडाका कारण सरकारी गाडी लिएर अस्पताल जान लाग्दा प्रहरीले तनाव दिएको भन्दै सचिवालयले स्पष्ट पारेको थियो ।
विवाद बढेपछि बालेनले भोलिपल्टै त्यो स्टाटस हटाएका थिए । अहिले सिंहदरबार जल्दा महानगरको दमकल ढिलो पुगेको भन्दै उनको त्यो पुरानो स्टाटसको चर्चा पुनः सुरु भयो । उनलाई नै समर्थन गरेकाहरू र उनका आलोचकहरूले सिंहदरबार जल्दा महानगरको दमकल नजानुलाई शंकास्पद रूपमा लिन थाले । एक त बालेनले कुनै समय सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिनु र दमकल पनि समयमा नपुग्नु संयोग हो वा नियोजित भन्ने कोणबाट बहस हुन थाल्यो । जसले गर्दा बालेनले स्पष्टीकरण नै दिनुपरेको थियो ।
यसपछि, मंगलबार उनले सामाजिक सञ्जालमार्फत आन्दोलनकारीको अवरोधका कारण सिंहदरबार जल्दा महानगरको दमकल जान नसकेको बताए । उनले घटनामा आफू र महानगरको भूमिका विवादित बनाउने अभिव्यक्तिहरूको स्पष्टीकरण दिँदै भनेका छन्, ‘सिंहदरबार जलेलगत्तै दमकल जाने प्रयास गरेता पनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन ।’
बालेनले नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न नसकेको र भिडले दमकललाई काम गर्न नदिएको दाबी गरे । भिड अलिक शान्त हुनेबित्तिकै २४ गते साँझ ८ः१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको उनको भनाइ छ । उनले ‘सिंहदरबार जलाउँदा काठमाडौँ महानगरको दमकल कहाँ गयो?’ भन्ने प्रश्न निराधार भएको बताएका छन् ।
बालेनले भदौ २४ गते सरकारले नियन्त्रण गुमाएको वेला पनि काठमाडौँ महानगरको टिम निरन्तर उद्धार, उपचार र आपतकालीन व्यवस्थापनमा जुटिरहेको दाबी गर्दै १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरीको संयुक्त टिमले तीन सिफ्टमा निरन्तर आगो निभाउने काम गरेको जानकारी दिएका छन् ।
- ‘जेनजी आन्दोलन’मा उचालेर छोडेको आरोप
नगर प्रमुख बालेनमाथि ‘जेनजी आन्दोलन’ गर्न भिड उचालेको तर निर्णायक समयमा छोडेको आरोप पनि लागेको छ । उनले जेनजी आन्दोलनलाई समर्थनमात्र गरेनन्, आन्दोलन सफल भएपछि जेनजीहरूलाई संसद् विघटन गरेरमात्र प्रधान सेनापतिसँग कुरा गर्न भने । त्यसैअनुसार आन्दोलन अघि बढ्यो तर बालेनलाई जेनजी अगुवाहरूले निर्णय प्रक्रियामा सहभागी हुन र सुझाव दिन खोज्दा उनी गुमनाम भए । अधिकांश जेनजीहरू अब बालेनले सत्ता सम्हाल्नुपर्छ भनेर आवाज उठाइरहेको बेलामा उनले जेनजी अगुवा कसैको फोन उठाएनन् ।
जेनजी अगुवामध्येका एक सुदन गुरुङले रातोपाटीसँगको कुराकानीमा भनेका छन्, ‘हामीलाई सेनाले तपाईंहरूले खोजेको प्रधानमन्त्रीको नाम दिनुस् भनेर अनुरोध गर्दा जेनजीको अधिकांश प्रतिनिधिहरूले बालेनलाई खोजे तर उनी सम्पर्कमा आएनन् । सेनासँग वार्ता गर्न गएका प्रतिनिधिहरूलाई सुनाएर लाउड स्पिकरमै फोन गरेर देखाएको छु, बालेन सम्पर्कमा आएनन् ।’
त्यसपछि उनकै कानुनी सल्लाहकार भएका ओम प्रकाश अर्यालले सहजीकरण गरेर सुशीला कार्कीको नाम अगाडि आएको थियो ।
देशमा प्रधानमन्त्री नहुँदा सेनाले शान्ति सुरक्षाको जिम्मा लिँदा धेरैले बालेनलाई तत्काल नेतृत्वको लागि आह्वानसमेत गरेका थिए । तर, पछि उनले सुशीला कार्कीलाई समर्थन गर्ने भन्दै स्टाटस लेखेर टारिदिए । यद्यपि उनी निकट धेरै युवाहरू अहिले जेनजी प्रतिनिधिको रूपमा सक्रिय भइरहेका छन्, तर संकटको बेलामा बालेन अगाडि नआएको गुनासो अहिलेसम्म भने हराएको छैन ।

- जबाफदेहितामा सुरुदेखि नै पन्छिए बालेन
प्रश्नहरूसँग बालेनको दुरी आजको मात्र होइन, यो सिलसिला उनको नगर प्रमुख कार्यकालको प्रारम्भिक दिनहरूबाटै सुरु भएको थियो । निर्वाचनको वेला ३० भन्दा बढी राष्ट्रिय सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर आफ्ना योजना सुनाएका उनी नगर प्रमुख बनेपछि भने सार्वजनिक मञ्च र औपचारिक बैठकहरूमा प्रश्न सामना गर्न हिच्किचाउन थाले । उनको यो शैलीले उनको पारदर्शिता र जवाफदेहितामाथि लगातार प्रश्न उठ्दै आएको छ ।
उनले अहिलेसम्म काठमाडौँ महानगरपालिकाले गरेको सार्वजनिक सुनुवाईको सामना गरेका छैनन् । यस्ते निवार्चित भएदेखि अहिलेसम्म पत्रकारसम्मेलन समेत गरेका छैनन् । उनले नेपाली मिडियालाई अन्तर्वार्तासमेत दिएका छैनन् । यतिमात्रै होइन, आफ्नै कार्यपालिका र नगरसभामा उठेका प्रश्नलाई समेत उनले बेवास्ता गर्दै आएका छन् ।
बढ्दो प्रश्न, विशेषगरी जेनजी आन्दोलन र सिंहदरबार आगलागीजस्ता घटनापछि उनी रक्षात्मक बन्न बाध्य भएका छन् । अब उनी आक्रामक स्टाटस लेख्ने भन्दा पनि आफ्नो कामको चर्चा गर्ने र प्रश्नहरूको स्पष्टीकरण दिनतर्फ लागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
-
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण