आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

संयुक्त राष्ट्र सङ्घका उच्च प्रतिनिधि र सञ्चारमन्त्रीबिच भेटवार्ता

बिहीबार, २३ असोज २०८२, १८ : ५३
बिहीबार, २३ असोज २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन् । 

मन्त्रालयमा सम्पन्न सो भेटवार्तामा संयुक्त राष्ट्र सङ्घकी नेपालका आवासीय संयोजक हन्ना सिङ्गर, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (यूनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी थिए । 

मन्त्री खरेलले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्र सङ्घले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद दिए । 

उनले भने,“अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदन प्राप्त सरकार हो । आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ । आगामी निर्वाचन सफल बनाउनका लागि संयुक्त राष्ट्रसंघलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा सरकारले गरेको छ ।”

मन्त्री खरेलले विपद् व्यवस्थापनमा संयुक्त राष्ट्र सङ्घका निकायहरूले पुर्‍याएको सहयोगको उच्च प्रशंसा गर्नुभयो । साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्द्धन, र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबिच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ । 

त्यस अवसरमा संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हन्ना सिङ्गरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा देखाएको तत्परता र नेतृत्वको प्रशंसा गर्दै भने,“नेपाल सरकारले सङ्कटको समयमा देखाएको संयम र समन्वय प्रशंसनीय छ । हामी तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग पुर्‍याउन प्रतिबद्ध छौँ ।”

यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भने –“डिजिटल रूपान्तरण र मिडिया साक्षरताको क्षेत्रमा नेपालसँगको साझेदारीलाई अझ सशक्त बनाउन हामी इच्छुक छौँ।”

यूनेस्कोका प्रतिनिधि जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रलाई सुदृढ बनाउन नेपालसँगको सहकार्य निरन्तर जारी रहने बताए ।

भेटवार्ता आपसी समझदारी, साझेदारी र सहयोगको वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप