बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बाढीपीडित किसानको व्यथा

सर्वस्व गुमाएका ३५ सय परिवारको पुनर्स्थापना कसरी हुँदै छ ?

शुक्रबार, २४ असोज २०८२, १२ : ००
शुक्रबार, २४ असोज २०८२

सारांश

  • झापाको झापा गाउँपालिकाका करिब ३५ सय घरपरिवार बाढीबाट प्रभावित, राहत तथा पुनःस्थापनामा कठिनाइ भइरहेको छ।
  • प्रदेश सरकार र अन्य निकायबाट राहत आए पनि अपुग भएको र स्थानीय सरकारले विकास बजेटबाट राहत दिने निर्णय गरेको छ।
  • इलाममा सडक सञ्जालमा क्षति पुगेको र झापामा हजारौं मानिस विस्थापित भएका छन्, तर खाद्य संकटको अवस्था छैन।

विराटनगर । गएको १८ र १९ गतेको वर्षपछि माइखोलामा आएको बाढीले विस्थापित भएका झापाको झापा गाउँपालिकाका वडा नम्बर १ र २ का झन्डै ३ हजार ५ सय घरपरिवारलाई राहत तथा पुनः स्थापनामा कठिनाइ हुन थालेको छ । 

पानी घटेर पीडितहरू फर्किए पनि घर बस्न सक्ने अवस्थामा नरहेका झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया बताउँछिन् । ‘घर फर्किए पनि त्यहाँ हिलो, कालो लेदो र माटो मात्रै छ, बस्न सक्ने अवस्था छैन । अवस्था एकदम विकराल छ,’ उनले भनिन् ।

थपलियाका अनुसार पालिकामा करिब ३५ सय घरपरिवार बाढीबाट प्रभावित भएका छन्, जसमध्ये वडा नम्बर १ र २ का सबैजसो नागरिक मारमा छन् । ‘उनीहरूको बालीनाली, घरमा राखेको अन्नपात केही पनि बचेको छैन,’ थपलियाले भनिन्, ‘लत्ताकपडा पनि छैनन् । अलिअलि भएका पनि सुकाउँदै, ओढ्दै र ओछ्याउँदै गरिरहेका छन् ।’

थपलियाले बाढीले पालिकाका हजारौँ नागरिकको जीवन कष्टकर बनाएको र उनीहरूको अवस्था अत्यन्तै दयनीय रहेको बताइन् । अहिलेसम्म विभिन्न दातृ संघसंस्था र सामाजिक संस्थाहरूबाट राहत आए पनि त्यो अपुग भएको उनले बताइन् । प्रदेश सरकारबाट बिहीबार भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई पुगेको भए पनि राहत थोरै आएको उनले बताइन् । ‘राहत थोरै लिएर आउनु भएको थियो । मैले यतिले हुँदैन भनेपछि थप्छौँ भन्नुभएको छ,’ उनले भनिन् । 

बाह्य सहयोगले मात्र नपुग्ने भएपछि गाउँपालिकाको कार्यपालिका बैठकले विकासका लागि छुट्याइएको बजेट काटेर भए पनि पीडितलाई राहत दिने निर्णय गरेको छ । ‘विभिन्न संस्थाबाट आएको सहयोगले नपुगेपछि हामीले गाउँपालिकाको विकास बजेट काटेर भए पनि सहयोग गर्ने निर्णय गरिसकेका छौँ,’ थपलियाले भनिन् ।

Jhapa (3)

पालिकाले तत्कालका लागि प्रतिपरिवार २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, २ लिटर तेल, दुईवटा म्याट्रेस र कम्बलजस्ता सामग्री वितरण गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा रोगव्याधि फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै पालिकाले स्वास्थ्यकर्मीहरूलाई टोल–टोल र बस्ती–बस्तीमा परिचालन गरेको जनाएको छ । ‘हामीले घुम्ती स्वास्थ्य शिविरहरू राखेका छौँ । स्वास्थ्यकर्मीहरू घरदैलोमा पुगिरहनुभएको छ,’ उनले भनिन्, ‘कुनै पनि हालतमा रोग नलागोस् भन्ने हाम्रो चाहना हो ।’ बाढीपीडितहरूको अवस्था अत्यन्तै संवेदनशील रहेको भन्दै सहयोगका लागि प्रदेश, संघ सरकारले धेरै चासो नदिएको गुनासो गरिन् । 

उता, बिहीबार झापा गाउँपालिका पुगेका कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले झापा गाउँपालिकाका बाढीपीडितको अवस्था अत्यन्तै कारुणिक र संवेदनशील रहेको बताएका छन् । 

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि उनले मानिसहरू पूर्ण रूपमा विस्थापित भएका र उनीहरूको जीविकोपार्जनको मुख्य आधार कृषि क्षेत्र तहसनहस भएको बताए । ‘त्यहाँ बाढी पसेर मान्छेलाई पूरै विस्थापित बनाएको रहेछ । मधेसका साना–साना घरहरू डुबेका छन्,’ मन्त्री राईले भने, ‘अवस्था यतिसम्म दर्दनाक छ कि खेतमा काटेर सुकाउन राखेको धान बाढीले बगाएको छ । कतिपय भिजेर कुहिएको छ, घरभित्र थन्काएको धानसमेत पानीले भिजेर टुसाउन थालेको रहेछ ।’

Ilam (1)

खेतमा रहेको धानबाली पानीमा डुबेर उम्रिन थालेको छ भने मकै पनि कुहिएर हेर्नै नसकिने अवस्थामा पुगेको उनले बताए । माइखोलाको बाढी पस्दा बालीनालीसँगै नागरिकहरूले घरभित्रका भाँडाकुँडा, लत्ताकपडा लगायत सर्वस्व गुमाएको आफूले देखेको उनले बताए । ‘नागरिकहरूलाई तत्काल सुरक्षित तरिकाले राख्नुप¥यो र उनीहरूको घर बनाएर पुनर्स्थापना गरिदिनुपर्‍यो भन्ने मुख्य माग छ,’ उनले भने । बाढी प्रभावित क्षेत्रमा रोगव्याधि फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली खटाउने र आवश्यक औषधिको व्यवस्थापन गरिसकेको उनले बताए ।

मन्त्री राईले इलाम र झापाको क्षतिको प्रकृति फरक रहेको औंल्याए । उनका अनुसार इलाममा मानवीय हताहती र भौतिक संरचना (बाटोघाटो) को क्षति बढी छ भने झापामा मानवीय क्षति नभए पनि हजारौं मानिस विस्थापित भएका छन् र उनीहरूको बालीनाली तथा घरबास पूर्ण रूपमा नष्ट भएको छ ।

Jhapa (5)

उता, इलाम नगरपालिकाका प्रमुख केदार थापाले बाढीपहिरोले सडक सञ्जालमा क्षति पुर्‍याउँदा सदरमुकाम विच्छेद भए पनि तत्कालका लागि खाद्य संकट र इन्धन अभावको विकराल अवस्था नरहेको बताएका छन् । 

यद्यपि अझै एक हप्तामा सडक खुलाउन नसके त्यस्तो समस्या आउने उनले बताए । अहिलेको अवस्थामा लगभग एक हप्तासम्म पुग्ने खाद्यान्न लगायतका आवश्यक वस्तु मौज्दात रहेको उनको भनाइ छ । थापाले भने, ‘तत्कालै खाद्य संकट हुने परिस्थिति छैन, लगभग हप्ता दिनजति त हामी धान्न सक्छौँ ।’

मेची राजमार्गमा गएको ठुलो पहिरो र वैकल्पिक मार्गमा रहेका तीनवटा पुल बगाएपछि इलाम सदरमुकामसँगको सडक सम्पर्क टुटेको छ । नगरप्रमुख थापाका अनुसार, नगरपालिका, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा बाटो खुलाउने काम तीव्र गतिमा भइरहेको छ ।

झापातर्फ जाने मुख्य सडक मेची राजमार्ग पहिरोले क्षतविक्षत भएको छ । यसअघि निर्माण गरिएका वैकल्पिक मार्गका दुईवटा बेलिब्रिज र एउटा पक्की पुल पनि बाढीले बगाएको छ । इलाम नगरपालिकाभित्र मात्र नभई अन्य पालिकामा जाने पुलहरू पनि बगाएकोले क्षति ठुलो छ । 

Ilam (4)

बजारमा कालोबजारी बढ्न सक्ने आशंकालाई उनले अस्वीकार गरे । ‘त्यस्तो हुँदै हुँदैन । हामी, स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ सबै मिलेर कडा निगरानी गरिरहेका छौँ,’ उनले भने ।

थापाका अनुसार, आपत्कालीन अवस्थामा बिरामीलाई उद्धार गर्ने संयन्त्र बनाइएको छ । एम्बुलेन्सलाई पहिरो गएको ठाउँसम्म ल्याउने र त्यहाँबाट स्ट्रेचरमा बोकेर करिब ३००–३५० मिटर पार गराई अर्को गाडीमा राखेर पठाउने व्यवस्था मिलाइएको छ । यस कार्यमा सुरक्षाकर्मी र स्थानीयले सघाइरहेका छन् । साथै, अलपत्र यात्रुहरूलाई पहिरो क्षेत्रसम्म पुग्न नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको छ ।

बाटो खुलाउन तीनवटा मेसिन प्रयोग भइरहेको छ । तर, पहिरो गएको भू–भाग ठुलो र अस्थिर भएकाले काम गर्न कठिन भइरहेको छ । उनले भने, ‘भूगर्भविद् लगायतका विज्ञहरूको टोली पनि फिल्डमा छ । जमिनमुनि पानी धेरै भएकाले काम गर्न चुनौतीपूर्ण छ ।’ अवस्था सामान्य रहे दुई–तीन दिनमा बाटो खुल्न सक्ने तर डाँडै झरिरहेकाले यकिन भन्न नसकिने उनले बताए । अन्य वैकल्पिक बाटो बनाउने ठाउँ पनि नभएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप