बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भेपमार्फत सुन तस्करी प्रकरण

महरासँग बयान लिएसँगै अख्तियारको अनुसन्धान अन्तिम चरणमा

शुक्रबार, २४ असोज २०८२, १७ : १६
शुक्रबार, २४ असोज २०८२

काठमाडौँ । तीन वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने प्रक्रिया पूरा गरेको छ । चिनियाँ संगठित गिरोहसँग जोडिएको सुन तस्करी प्रकरणमा बिहीबार अख्तियारले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएसँगै अनुसन्धान अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ । 

पूर्वसभामुख महराले आफूले दावाजिन वाङसँग पुरानो चिनजानको आधारमा कर्मचारीलाई सामान के हो छुटाइदिन फोन गरेको बयानमा स्वीकार गरेको अख्तियार स्रोतले बतायो । ‘महराले आफ्नो बयानमा सामान छुटाउन फोन गरेको स्वीकार गरेकमा छन्, तर सो सामानमा सुन थियो भन्ने आफूलाई थाहा नभएको बयानमा भनेका छन्,’ अख्तियार स्रोतले भन्यो । 

‘महरासँगको बयान सकिएसँगै अनुसन्धान प्रक्रिया पूरा भएको छ,’ अख्तियार स्रोतले अगाडि भन्यो, ‘अब मुद्दा चलाउने प्रक्रियाको विषयमा प्रतिवेदन तयार बनाएर निर्णयमा पुग्छौँ ।’ अख्तियारले महरासँग यसअघि पनि बयानका लागि बोलाउने तयारी गरेको थियो । राजनीतिक प्रभावका कारण उनलाई अख्तियारले बयानमा बोलाएको थिएन । उनी पटक–पटक जोगिँदै आएका थिए ।

भेपमा लुकाएर तीन वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँबाटै २०८० चैत ९ गते महरालाई हाजिरी जमानीमा छुटाइएको थियो । सीआईबीले महरालाई चैत ५ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सुन लुकाएर ल्याइएको भेप छुटाउनमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले भन्सारका कर्मचारीसहितसँग २५६ पटक फोन र मोबाइलमा कुराकानी गरेको विषय सार्वजनिक भएको थियो । 

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चिनियाँ नागरिक वाङले महरासँग ११ पटक फोनमा कुराकानी गरेको विवरण सार्वजनिक भएको थियो ।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आउँदा भेपबाट लुकाएर ल्याएको ७३० थान बट्टामा ९ केजी सुन लुकाएर ल्याएका थिए । व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी ‘भेप’ जफत गरियो । पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए । दिनेशले नायब सुब्बा रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए । 

तत्काल खुल्न आए अनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो ।

भेप जाँचपास गर्दा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार विभागले डेढ महिना भन्सारमा थन्काएर राखेको थियो । भन्सार गोदाममा थन्किएर बसेको भेप छुटाउनुअघि कर्मचारीको मिलेमतोमा अर्कै भेप राखेर सुन राखिएको भेप बाहिर ल्याइएको थियो । सुन रहेको भेप छुटाउन पूर्वसभामुख महरा, उनका छोरा राहुल महराले भन्सारका कर्मचारीलाई पटक–पटक फोन संवाद गरेको विषय बाहिर आएपछि छानबिन सुरु भएको थियो । चिनजानका आधारमा महराले भेप छुटाउनका लागि तत्कालीन भन्सार प्रशासक अरुण पोखरेल र कर्मचारीलाई फोन गरेका थिए । 

तस्करीको सुन ल्याउने समूहमा रहेका लुई नाम गरेका एक चिनियाँ नागरिक रहेको र उनीसँग महराको बारम्बार प्रत्यक्ष सम्पर्क भएको भेटिएको थियो । लुईले तस्करीका लागि दाओजिन वाङ नामका व्यक्तिलाई परिचालन गर्ने गरेको र वाङले नेता महरा र उनका छोरा राहुललाई बारम्बार सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

राहुलले लुईका सवारी चालक लोकेन्द्र पौडेल, वाङ र असिन नाम गरेका व्यक्तिसँग बारम्बार कुरा गरेको पाइएको छ । दाओजिन वाङले लुई, लुईका चालक लोकेन्द्र पौडेल, श्याम साह र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपाने लगायतलाई समेत बारम्बार सम्पर्क गरेको भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप