बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रीपरिषद् विस्तार तयारी

रामजीसहित चार जेनजी मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की

शुक्रबार, २४ असोज २०८२, २२ : १८
शुक्रबार, २४ असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले चार जना जेनजी पुस्ताका प्रतिनिधिलाई मन्त्रिपरिषद्मा समावेश गर्ने तयारी गरेकी छिन्।
  • रामजी रामलाई स्वास्थ्य मन्त्रालय, गणपतिलाल श्रेष्ठलाई पर्यटन, बब्लु गुप्तालाई युवा तथा खेलकुद, र टासी ल्हाजोमलाई महिला मन्त्रालयको जिम्मेवारी दिइनेछ।
  • यी प्रतिनिधिहरू विभिन्न सामाजिक मुद्दा र अभियानमा सक्रिय छन्, जस्तै सांस्कृतिक सम्पदा संरक्षण, कोभिड-१९ मा निःशुल्क खाना, र जलवायु परिवर्तन।

काठमाडौँ । चमार समुदायबाट पहिलो डाक्टर बनेका रौतहटका रामजी रामसहित चार जना जेनजी पुस्ताका प्रतिनिधिलाई मन्त्रिपरिषद्मा समावेश गर्न प्रधानमन्त्री सुशीला कार्कीले तयारी थालेकी छिन्। आगामी सोमबारसम्म शपथ गराइने गरी मन्त्रीहरूको नाम टुङ्गो लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

रामजी रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ। चमार समुदायबाट पहिलो डाक्टर बनेका राम कलेज शुल्क विवादका कारण चर्चामा आएका थिए । 

रामजीसहित मन्त्री बन्ने अन्य तीन जेनजी प्रतिनिधिमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र टासी ल्हाजोम रहेका छन्। श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जानकारी दिएको छ । 

श्रेष्ठ सांस्कृतिक सम्पदा संरक्षणका अभियन्ता हुन्। भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी, पशुपति क्षेत्र र खुलामञ्चमा भएको व्यापारीकरणको विरोध गर्दै उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

त्यसैगरी बब्लु गुप्ता कोभिड-१९ को समयमा निःशुल्क खाना अभियान सञ्चालन गर्ने युवा अभियन्ता हुन्। उनले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थीलाई निःशुल्क पढाइरहेका छन् र बिरामीका लागि रगत खोज्ने अभियानमा पनि सक्रिय छन्।

हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोम जलवायु परिवर्तनका मुद्दामा बोल्दै आएकी युवती हुन्। दिल्ली विश्वविद्यालयको हिन्दु कलेजकी स्नातक टासीले हिमाली समुदायका समस्याबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाउने गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका अन्य युवाहरूलाई पनि सचिवालय तहमा समेट्ने तयारी गरेकी छिन्। गत २७ भदौमा अन्तरिम सरकारको नेतृत्व समालेकी उनले यसअघि दुई पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप