बिहानसँग जन्मिने जीवन
फेरि रात फेरिएर धर्तीमा बिहान झर्यो । चखेवा–चखेवीहरू लोभलाग्दा चिर्बिरमा कौसी, बोटबिरुवा र दलानसम्म नाच्न लागे । उनीहरू निर्भयमा छन्, यति सबेरै त व्याधा पनि आउँदैन । खोला–खहरे शालीन सुसेलीमा छन् । वनपाखाहरू स्निग्ध सरस छन्, कलिला मुनामाथि कञ्चन शीतको मोती मुकुट बनेको छ । बाबुनानीहरू भने रोएको बहानामा आमा खोज्दै छन् । आमाहरू गाग्री भरेर घरतिर उकालो लाग्दै छन्, पानीका मुहान, जङ्गल र चौरतिर पँधेर्नीहरू मिठा भलाकुसारी साथ दैनिकी उघार्दै छन् । गाईवस्तुहरू हिजोको खाना ओकार्दै छन् । हो, बिहानी प्रत्येक दिन यसरी नै आउँछ, यसरी नै सबैलाई अनौठो चुस्का दिन्छ र भन्छ— दैनिकी सुरु गर उत्साहमा, रमाएर सुरु गर, जिन्दगीका पोयाहरू थप्दै जाउ, स्निग्ध, सरल र स्वच्छ बन ।
बिहान थालनीको शुभ हो । त्यसैले शिष्टाचारमा पनि ‘शुभप्रभात’ भन्ने गरिएको छ । थालनीहरू शुभ होउन् भन्ने सबैमा छ । बिहान हिजोका थकानहरूपछि उत्साहमा आउँछ । बेलुकाका बासीहरू त्यतै छाडेर ताजा बनेर आउँछ, हो बिहानले सम्भावना र ताजगीहरू उघार्दै जीवनको रथलाई गति र प्रगति दिन्छ ।
बिहान समय हो, बिहान उत्साह र उन्माद हो । बिहान निश्छल, स्वच्छ र बेदाग छ । पूर्वी नीर फाट्दै बिहानीले दैनिकीलाई शुभप्रभात भन्छ, उषाकिरणसँगै बिहान प्रकृतिमा हाँस्छ र दिनलाई सुरुवातको स्वागत गर्छ ।
बिहान आफँैमा अन्जान छ, सन्देहहीन छ र अज्ञान पनि । दृश्यहरू सपाट स्वच्छ छन् । दृष्टिहरू परसम्म सजिलै फ्याँकिन्छन् । आकाशमा बादलका फिर्का पनि छैनन्, पूरै नीलो मैदानको समुद्रजस्तो आकाशले दिनभरि अनन्त आकाङ्क्षा उघारेको छ, जीवनलाई उदात्त बनाउने आकाङ्क्षा ।
हो, बिहान दिनभरिका हैरानी थकावट, मेलापात, उछिनपाछिन, आशा, आशक्ति, ईष्र्या, कुण्ठा, प्रेम–पीडा, दौडाइ, पसिना, सङ्घर्ष सबैको शैथिल्यको विश्रामपछि ताजा सुरुवातमा झुल्किएको छ ।
बिहानसँग जन्मिने जीवन ताजा सुरुवात हो । बिहानले कार्यका शृङ्खला रच्छ, दैनिकीको तालिका बनाउँछ, दिनरूपी जीवनको शिलान्यास गर्छ । पूर्वी आकाशबाट ध्वार्र आफूसम्म पोखिएको उषाकिरणले मन–मस्तिस्कलाई फराकिलो बनाउँछ । शरीरमा स्वच्छ हावा सिञ्चन गर्छ, मनभरि निस्वार्थ माया र मस्तिष्कभरि उज्यालो भर्छ । प्रकृतिको निश्छल अल्लारेपन सजाएर एउटा असल जीवन सुरु गर्छ ।
जुगौँदेखि जीवन यसरी नै बिहानसँग बिउँझने र निद्रासँग बिर्सने खेलमा नाटक गरिरहेछ । नेपथ्यको निर्देशक को हो कुन्नि ? त्यसले कुन दिन जीवनको पर्दा तानिदिन्छ, त्यसको भेउसम्म पाउँदैन मान्छेले ।
सम्झौँ त, हाम्रा सुरुवाती दिनहरू बिहानजस्तै हुन्छन्, ती बिहान नै हुन्, त्यसैले बेदाग छन् । अबोध बालक कुभलो गर्दैन, दुर्भाव राख्दैन । माया, प्रेम, शान्ति, सद्भाव र पवित्रताले सुरलिएको हुन्छ । बालसुलभ दिनचर्या बिहान हो । सच्चा मानवता बिहानी हो, सृष्टि र सभ्यताको पाइला बिहानी हो । सृष्टि र सभ्यता सधैँ सुन्दर हुन्छ । प्रत्येक बिहान सृष्टि र सभ्यताको सुरुवात हो । प्रजनशीलता र विनिर्माणको स्वागत हो, कर्म हो, कर्मको जग हो । प्रकृतिसम्मत जीवनको सपाट क्यानभास हो, क्यानभासभरि प्रकृतिका पहिचान र पवित्रता पोखिएको छ । बेदाग र उदात्त प्रकृति यस्तै जीवन हुनुको स्फूर्त आग्रह हो ।
बिहान अन्जान भएकाले अज्ञान छ । भनिएला अज्ञान पनि राम्रो हो र ? ज्ञानका दम्भलाई बिहानले बेवास्ता गर्छ । अज्ञानका मूर्खलाई बिहानले मान्दैन । ऊ हो त फगत अन्जान सृष्टि, मनमा भावना कुद्न रमाएको सपाट मन । हो, त्यो रित्तो छ, त्यसैले बिहानमा राम्रा मिठा सिर्जना कुद्न सकिन्छ । अर्धज्ञानी अज्ञानी हो, बिहान पूरै रित्तो छ, त्यसैले अर्धज्ञानमा दम्भ देखाउँदैन, मिठा सिर्जनाको तयारीमा छ । अज्ञानको मूर्खता, ज्ञानका आडम्बर र विज्ञानको तृष्णाहरू बिहानमा वर्जित छन् । बिहानरूपी बालक कर्मको आशक्ति, प्रेमको पागलपन, शक्तिको उन्माद र प्रतिष्ठाको मदहोसीमा छैन । बिन्दास बिन्दास हो बाटोमा रमिने, मनभरि गद्गदिने पनि गर्दैन । मनभरि आमाको माया, साथी–सङ्गातीको प्रेम र प्रकृतिको मोहन नै पर्याप्त छन् । फौरिने, झौरिने, हौसिने, लठारिने गर्दैन बिहान; बिटुलिँदैन बिहान । त्यसैले बिहान स्वच्छ छ, रित्तो मनजस्तै स्वच्छ, नीरफाटेपछि उषा नआउँदैको पूर्वी क्षितिजजस्तै पवित्र, उषाले नचुमेको शीतविन्दुजस्तै स्निग्ध ।
बिहान सपना पनि हो । सुरुवातको जगमा सपना हुन्छ । सपनाहरू भयङ्कर भए पनि डर लाग्दैनन्, मिठा हुन्छन् । सपनाले उत्साह र ऊर्जा थप्छ । सपनाले बिगार्दैन । सपनाको युद्धले कहाँ विध्वंस मच्चाएको छ र ? बरु अचेत मनलाई पुग्ने गरी चेतना, ज्ञान, उत्साह र उत्सर्ग भरिदिन्छ । सपनामा मरेकाहरू विपनामा बिउँझिएर जीवनयात्राका असजिला गन्तव्य समाउँछन्् । विपनाले गरेको अन्याय सपनामा विनाक्षति उपस्थित छ । सपनाको मृत्युमा पनि जीवन बाँकी छ, अचेतनमा पनि चेतना बाँकी छ, क्रोधमा पनि शान्ति छ, युद्धमा पनि अहिंसा छ, सबै सबैमा मानवता छ र झसङ्ग भएर सपना बिहानको मझेरीमा पोखिएको छ । त्यसैले बेदाग छ र सिर्जनाको शक्ति हो ।
समय तातिँदै गएपछि फूल पनि मन्द मुस्कानमा रहँदैन, फक्रक्क बन्छ, मुना–पालुवाहरू घामसँग लोभिन्छन्, चरा–चुरुङ्गीहरू चुड्किला गीत गाउन थाल्छन्् ।
बिहान उषासँगै यात्रामा सम्मिलित छ, साथी–सङ्गीसँग खेल्छ । बिस्तारै खेलका सिद्धान्तहरू रचिन थाल्छन्् । निश्छल खेल सिद्धान्त, नियम र मान्यताले हारजितको प्रतिस्पर्धामा बिस्तारै कमसल हुन थाल्छ । प्रतिस्पर्धाले सिर्जनात्मक तनाव थप्दैन, ईष्र्यामा डाहिन्छ । लालसा र लोभ झँगाउँछ र जालझेलका लामाछोटा तानाबाना रचिन्छन् । किनकि अरुलाई जित्नु छ । दायित्वबाट थिचिन थाल्छ, जिम्मेवारीमा बाँधिन थाल्छ । बिहान ८–९ बजेतिर पुग्दा विकृति र सुकृतिको दोभान बन्छ, छ्यासमिसे बन्छ तर अहिलेसम्म खेल धेरै बिग्रिसकेको छैन, बिग्राइपट्टि उद्यत् छ ।
८–९ बजाई निश्छलतामाथि कस्मल दाग देखिनसक्ने समय हो । कर्मले पनि, बाँच्नका लागि पनि संघर्षको क्षमता चाहिन्छ । हो सङ्घर्ष भनेपछि सूत्र र नियमहरू भाँचिन सक्छ । कर्मका साथ जिब्रोले सुखको स्वाद र शरीरले आनन्द खोज्छ । सबैले सुख पाउँदैनन्, कसैको दुःख अर्कोको सुख बन्ने न हो । दुःख त पाइतालाले पाउँछ । दिमागले पाइतालाहरूलाई कहाँ न्याय गरेको छ र ? पाइतालाहरू कर्मलाई नै जीवन सम्झन्छन्, कर्म नगरी कहाँ बस्न सक्छन् र यी पाइतालाहरू ? तर पाइताला र दिमागको फासला फराकिँदो छ । कर्म गर्नेहरू अन्याय सहन्छन्, दिमाग चाहिँ शक्तिमा बोझिन्छ ।
समय तातिँदै गएपछि फूल पनि मन्द मुस्कानमा रहँदैन, फक्रक्क बन्छ, मुना–पालुवाहरू घामसँग लोभिन्छन्, चरा–चुरुङ्गीहरू चुड्किला गीत गाउन थाल्छन्् । हिंस्रक प्राणीहरू खानाको सिकारमा लम्किँदै छन् । वातावरण तात्नु भनेको परिश्रम गर्नु हो, पसिना चुहाउनु हो, उब्जाउनु हो । तातो बीजाङ्कुरणको शक्ति हो । प्रसव वेदना लिने समय हो । प्रसव पीडा पनि सिर्जनाका लागि हो । त्यसैले मध्याह्न मन फैलिएर मात्र रमिँदैन, शरीर तात्नुपर्छ भन्नेमा सतत छ । भुइँमा प्रशोचित पानी पुनः आकाशतिर बाष्पीकरणमा फैलिन्छ । धुलकण र बाष्पको समागम, सङ्घर्ष र सन्तुलनले पानी जमिनतिर बइरिन्छन्, जसरी शरीरबाट पसिना चुहिने गर्छ । अब बिहानमा जन्मिएको जीवन मध्याह्नमा वयस्क बन्यो । परिवार छ, परिश्रम गर्नुपर्यो, प्रतिस्पर्धा चाहियो, मायालाई सङ्घर्षले ओत दिनुपर्यो । तेरो–मेरो, आफ्नो–पराय, माया–सम्झौता, सुकृति–विकृतिमा जीवनले मध्याह्न पाएको छ, परिपक्वता पाएको छ । मध्याह्न फोस्रो मायामा रमाउँदैन । सङ्घर्षमा मोलिँदै छ जीवन, साँघुरिदै छ जीवन तर यो सच्चाइ जीवनले कहाँ बुझ्यो र ?
दिन ढल्किनु उत्साह पनि निहुरिनु हो । छड्के पर्दै गएको उषाले टाढैबाट दिएको किरणको उज्यालो त छ तर न्यानो छैन ।
मध्याह्नले नराम्रो गर्यो मात्र भनेर लाञ्छना गर्नु हुँदैन । जीवन आधा मेलोमा पुग्दा सीप र सामर्थ्य उपयोग गर, कर्म गर उपलब्धि आशक्तिमा, जाउ निस्काम नबस भन्ने सिकायो । नब्बे डिग्रीको उषाले सिधै शक्ति दिएर कर्ममा ततायो । छायाहरू आफैँमा हराउनु भनेको भ्रम र भ्रान्तिमा होइन, कर्ममा बढ, परिश्रमले उब्जाउ भनेको हो । त्यसैले मध्याह्न आलस्यको विरोध गर्छ, सुख होइन समृद्धिका लागि आक्रामक बन्छ । सङ्घर्ष बिहानले भनेजस्तो शान्तिपूर्ण छैन । मनभरि ज्वारभाटा छन्, दिमागमा तुफानी उहापोह छ र हात–पाइतालाहरू जुर्मुराएका छन् । निधारदेखि पसिना तप्किएको छ । पसिनाले सिर्जनालाई सिञ्चन गर्छ, समाज र सभ्यतालाई समृद्ध बनाउँछ ।
दिन ढल्किनु उत्साह पनि निहुरिनु हो । छड्के पर्दै गएको उषाले टाढैबाट दिएको किरणको उज्यालो त छ तर न्यानो छैन । उत्साह र सामर्थ्यहरू मधुरा बन्दै छन् । मध्याह्नको कमाइ टिप्ने सामर्थ्य भए पुग्यो । उषा टाढा पुग्दा हावा मच्चिएर जीवन थचार्न थाल्छ । हिमाल चिसिन्छ, आकाश बादलिन्छ । कहिले त असिना र चट्याङ बर्साउँछ । स–साना ढिक्का बादलले पनि थाक्दो उषालाई छोप्न–उघार्न थाल्छ । बादल उषाकिरणले नै जन्माएको थियो । आफ्नै सृष्टिले पनि आफैँमाथि धावा बोलेको आफैँले हेरेको छ । सफलतामा वाहवाही गर्नेहरू सङ्घर्ष र खेदाइमा निरपेक्ष छन् । आफैँले हुर्काएका लालाबालाहरू आफ्नै रुचिमा लागिसके, मानौँ उनीहरू पनि आफ्नै बिहानीबाट आफ्नै यात्रा सुरुमा छन् । हावाका झोँक्काले वटवृक्षका हाँगाहरू यताउता पार्न थाल्यो । प्रतिक्रियाहीन, आवाजहीन वटवृक्षहरू सङ्घर्ष गर्न सक्दैनन्, शालीन सहेर बस्नुको विकल्प छैन । चखेवा–चखेवीहरू खोपा–खटप्वाल पसेर वात्सल्य ओतिरहेका छन् ।
दिन ढल्किनु जवानी रित्तिनु हो । समयको जीवनमा जवानी सामर्थ्य भएर आउने गर्छ । त्यही भएर जवानी आएथ्यो, निर्माण र विनिर्माणका कथा गरेथ्यो । उजाड उब्जाउ स्थललाई हराभरा बनाएथ्यो तर जोस सकिए पनि जीवन बाँकी छ, चेतना र विवेक बाँकी छ । ईष्र्या र उन्माद झनै दोलायमान छन्, दाह्रा किटेर, अट्टहास गरेर फेरि मध्याह्न फित्र्याउन खोज्छ । सबै सोचहरू सम्भव छैनन् । सोचलाई सम्भव गराउने सामर्थ्यले हो । तैपनि जीवन सोचमा उरालिन्छ, मौलिन्छ र भौँतारिन्छ; फेरि एकपटक जीवन र जवानीको सन्तुलनमा तम्सिन्छ, विश्लेषित हुन्छ । बिहानीमा स्वच्छता र अन्जानपन हराएकामा चिन्ता पनि छैन तर चिन्तन गर्छ– मैले अझै गर्नु छ । परिवार छ, लोभ र लालसा छ । लुकामारी गर्दै समय र उषाले अग्ल्याउँछ, थचार्छ, उचाल्छ, पगाल्छ । यही लुकामारी र समयको पटाक्षेपसँग जीवन सकिनसकी घिच्चिरहेको छ ।
सन्ध्यामा पुगेको समयले बिहानीलाई पूर्णतः भुलिसक्यो । तुरिसकेको यात्राका लामालामा बाटोहरू फर्केर हेर्दैन । चहकिलो बिहान मधुरो साँझ बन्दै छ । बिहानजस्तै चिसो छ, तर उस्तै होइन । उषाकिरण बिहान पनि छँदै थियो, उज्यालो उत्साहमा थियो, बेलुकीको उषा आफैँ कमजोर र सागर पाकेको चित्र बन्दै छ । बिहान प्रस्ट थियो, अहिले मिठो तर अमूर्त छ, न राप छ न ताप नै । सायद बिहानदेखिको यात्राले होला, शिथिल र शीतल छ । देख्नमा मात्र राम्रो, अमूर्त चित्रहरू देख्नमा राम्रा हुन्छन्, अर्थ र आशय जे लगाए नि भो । पिँढी–बार्दलीमा आफैँलाई समीक्षा गर्दै बसेको समयरूपी जीवन गर्न नसकेका, गर्न नभ्याएका, तुर्न छाडिएका कुराहरूमा चिमोटिएको–टङ्चिएको छ । बिहानजस्तो ताजा र मध्याह्नजस्तो जोसिलो अनि आक्रामक छैन । बरु विस्मृत हुन लागेका बिहानदेखिका मधुराचित्र स्मृतिमा उतार्न खोज्दै छ, चलचित्रका मोन्टाजजस्तै लोलाउँदै छ । शिथिल सुतेको बुढो समय यहाँभन्दा बढी के गर्न सकोस् ?
बिहान सुरु हो । प्रत्येक बिहान जीवनको ताजा थालनी हो । मध्याह्न सङ्घर्षमा परिपक्व बन्छ र सन्ध्यामा शिथिल । प्रत्येक दिन यसै गरी मिर्मिरेसँगै बिहान नयाँ जीवन, भनाँै ताजा थालनीका लागि बिउँझिन्छ, मध्याह्नमा पौरख गर्दै सन्ध्या जरासन्धको समीक्षापछि रातमा विश्राम लिन्छ ।
एउटा जीवन हजारौँ दिनको जीवन भोग्दै, स्वाद र सङ्घर्ष लिँदै समयसँग खेल्छ र पनि जीवनदेखि अघाउँदैन । जुगौँदेखि जीवन यसरी नै बिहानसँग बिउँझने र निद्रासँग बिर्सने खेलमा नाटक गरिरहेछ । नेपथ्यको निर्देशक को हो कुन्नि ? त्यसले कुन दिन जीवनको पर्दा तानिदिन्छ, त्यसको भेउसम्म पाउँदैन मान्छेले ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण