शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी समूहद्वारा टासी ल्हान्जोममाथि लागेको आरोप खण्डन

शनिबार, २५ असोज २०८२, १५ : २५
शनिबार, २५ असोज २०८२

काठमाडौँ । जेनजी पुस्ताको तर्फबाट मन्त्रीमा सिफारिस भएकी टासी ल्हान्जोमाथि लाग्दै आएको आरोपलाई इन्डिजिनियस जेनजी कलेक्टिभ्स र जेनजी मुभमेन्ट अलायन्सले खण्डन गरेको छ । 

ती दुवै समूहले आज विज्ञप्ति जारी गरी आदिवासी जनजातिलाई अगाडि बढ्न नदिन षड्यन्त्रस्वरूप यस्तो आरोपहरू लगाइएको दाबी गरेका हुन् । ती संस्थाहरूले हिमाली अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा भइरहेको आक्षेप र अपमानजनक टिप्पणीको घोर भर्त्सना पनि गरेका छन् । 

आदिवासी र महिला समुदायमाथि हुने विभेद र घृणाको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । हुम्लाको नाम्खा निवासी २५ वर्षीया जलवायु परिवर्तन अभियन्ता टासी ल्हान्जोममाथि हालसालै सामाजिक सञ्जालमा 'हेर्दै नेपालीजस्तो नदेखिने', 'विदेशी शक्तिद्वारा परिचालित', र 'नक्कली नागरिकता लिएको' जस्ता कपोलकल्पित र जातीय पूर्वाग्रहयुक्त आरोप लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

संगठनहरूले यस्ता आरोपहरूलाई पूर्णतः असत्य, बदनियतपूर्ण र आदिवासी समुदायमाथिको ऐतिहासिक पक्षपातको निरन्तरता भएको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, 'नेपालमा गैर खस नेपाली भाषा, गैर हिन्दु संस्कृति र मंगोलियन अनुहार भएकै कारण आदिवासी समुदायहरू शताब्दीऔँदेखि राज्यबाट बहिष्कृत हुँदै आएका छन् । अहिलेको संघीय गणतान्त्रिक राज्य व्यवस्थामा पनि विसं. १८५४ को मुलुकी ऐनले संस्थागत गरेको जातीय–पितृसत्तात्मक विभेदका अवशेष अझै कायम छन् ।' 

संविधानको धारा १८ र ४२ ले समानता, सामाजिक न्याय र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा ती अधिकार लागु नभएको उल्लेख गर्दै विज्ञप्तिमा यो अवस्थालाई 'संविधानको घोर उल्लंघन र ऐतिहासिक संरचनागत अन्यायको निरन्तरता' भनिएको छ । 

संगठनहरूले राज्यका सबै निकायहरूलाई आदिवासी र आदिवासी महिलालाई पूर्ण अधिकारसम्पन्न नागरिकको हैसियतले मान्यता दिनु र विभेद गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'संविधान र समावेशी लोकतन्त्र केवल बहुमतको शासन होइन, सबै नागरिकको सहभागिता र सम्मानमा टेकेको शासन संरचना हो ।' 

विज्ञप्तिसँगै टासी ल्हान्जोमको प्रमाणित नागरिकता र वडा कार्यालयको सिफारिसपत्रका प्रतिलिपिहरू पनि सार्वजनिक गरिएको छ, जसले उनको नागरिकता र वैधानिक पहिचानको पुष्टि गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप