बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दिक्तेल–दुम्ली सडक नियमित सञ्चालनमा ल्याउन श्रमदान अभियान

शनिबार, २५ असोज २०८२, २१ : ४८
शनिबार, २५ असोज २०८२

सारांश

  • दिक्तेलका स्थानीयले सडक मर्मतका लागि जनश्रमदान अभियान सुरु गरेका छन्, जसले गर्दा दैनिक ६० जना स्थानीय सहभागी भइरहेका छन्।
  • सडक मर्मत अभियानमा वृद्धवृद्धादेखि युवायुवतीसम्मको सहभागिता रहेको छ, र यसले गर्दा बिरामी बोक्ने एम्बुलेन्स र अन्य सवारी साधन सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।
  • स्थानीय सरकारले चासो नदेखाएपछि स्थानीय बासिन्दा आफैँले सडक मर्मतको लागि जनश्रमदान सुरु गरेका हुन्।

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यगाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा खण्डमा पर्ने करिब नौ दशमलव पाँच किलोमिटर सडक मर्मत गरेर बाह्रैमहिना यातायात सञ्चालन गर्ने उद्देश्यले स्थानीयले जनश्रमदान अभियान सुरु गरेका हुन् । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कबाट मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी हुँदै आएका छन् ।

दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म करिब हप्ता दिनसम्म सञ्चालन हुने यस जनश्रमदान अभियानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, ढुङ्गा हाल्ने, सडक सम्याउनेलगायत काम भइरहेको अभियानका संयोजक आचार्यले बताए ।

दिक्तेलस्थित आचार्यगाउँको बसपार्कमा आज औपचारिक कार्यक्रम गरेर सुरुवात गरिएको जनश्रमदान अभियानमा वृद्धवृद्धादेखि युवासम्म तथा महिला र केटाकेटी सबै उमेर समूहका स्थानीय स्वतःस्फूर्त रूपमा जुटेका छन् । अवरुद्ध सडक मर्मतका लागि नगरपालिकासँग पटकपटक अनुरोध गर्दा पनि काम नभएपछि स्थानीयले आफैँं जुटेर जनश्रमदान अभियान थालेका हुन् ।

अवरुद्ध सडक मर्मतपछि बिरामी बोक्ने एम्बुलेन्स सहजै सञ्चालन हुने, बेँसीबाट धान, पराल, दाउरा ल्याउन सजिलो हुने र चाडपर्वका समयमा आवागमन हुने अपेक्षा गरिएको स्थानीय टङ्कप्रसाद आचार्यले बताए ।

‘हिउँद लागेसँगै बेँसीबाट धान र दाउरा ल्याउन आवश्यक पर्दछ । बाटो नराम्रो हुँदा हिँड्न पनि कठिन छ । त्यसैले अहिलेको श्रमदान हाम्रो बाध्यता हो’, उनले भने, ‘सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजना गरेको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटले ग्राभेल हाल्ने तयारी गरिएको छ ।’  

वर्षाद्को समयमा अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि नगरपालिकामा पटकपटक अनुरोध गर्दासमेत सुनुवाइ नभएपछि जनश्रमदान अभियान सुरु गरिएको स्थानीय झमप्रसाद आचार्यले बताए ।

‘नगरपालिकासँग जेसिभी भए पनि हाम्रो सडक मर्मतका लागि कहिल्यै प्राथमिकता दिइएन । हामीले धेरै पटक गएर आग्रह गर्‍यौँ, तर कहिल्यै सुनुवाइ भएन’, उनले भने,  ‘अन्तमा जनता आफैँ जुटेर सडक मर्मत गर्नुपर्ने अवस्था सिर्जना भयो । वर्षाद्को पानीले अवरुद्ध सडक बाह्रैमहिना सञ्चालनमा ल्याउन स्थानीयको सक्रियतामा जनश्रमदान अभियान थालेका हौँ ।’

जनश्रमदानमार्फत सडक मर्मत गरेपछि बिरामी ओसारपसारका साथै एम्बुलेन्स, अटो, मोटरसाइकल र ट्र्याक्टर सहज रूपमा सञ्चालन हुने स्थानीयले विश्वास गरेका छन् । वर्षायाममा बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने अवस्था अब अन्त्य हुने आशा गरिएको स्थानीयले बताएका छन् ।

विसं २०६५ मा निर्माण गरिएको सडक अवरुद्ध हुँदा आचार्य गाउँका करिब आठ सय परिवार तथा छिमेकी स्थानीय तह साकेला गाउँपालिकाको रतन्छा र बाँझेच्यानडाँडाका स्थानीयले सास्ती खेप्दै आएका छन् ।

निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडक मर्मत तथा स्तरोन्नतिमा तीनवटै तहका सरकारले चासो नदिँदा आफूहरूले समस्या भोग्नु परेको स्थानीयले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप