‘जेनजी’ र वैकल्पिक शक्तिहरू मिलाउन पार्टीको नामदेखि चुनाव चिन्ह फेर्न खुला छौँ : विवेकशील साझा
सारांश
- विवेकशील साझा पार्टीले वर्तमान राजनीतिक परिस्थितिलाई निकास दिन वैकल्पिक शक्तिहरूसँग एकताको आह्वान गरेको छ।
- पार्टीले 'जेन जी' पुस्ताका अभियन्ताहरूसँग सहकार्य गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध लड्ने जनाएको छ।
- पार्टीले नाम र चुनाव चिन्ह परिवर्तन गर्न तयार रहेको र पुनर्गठन गर्ने घोषणा गरेको छ।
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकको वर्तमान विषम राजनीतिक परिस्थितिलाई निकास दिन र भ्रष्टाचार तथा कुशासनविरुद्ध सशक्त मोर्चाबन्दीका लागि वैकल्पिक राजनीतिक शक्तिहरू र ‘जेनजी’ पुस्ताका अभियन्ताहरूलाई बृहत्तर एकताका लागि आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता आशुतोष प्रधानले आज जारी गरेको एक प्रेस विज्ञप्तिमा ‘जेनजी’ विद्रोह र आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै परिवर्तनकारी सबै शक्ति, अभियान, समूह, नयाँ दल र सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता तथा बृहत्तर एकीकरणका लागि खुला छलफल र बहसको ढोका खोलेको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘जेनजी’ पुस्ता विद्रोह र सहादतको जगमा हुन लागिरहेको आम निर्वाचनलाई दृष्टिगत गर्दै विवेकशील साझा पार्टीले भ्रष्टाचार र कुशासनविरुद्ध समतामूलक समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, ‘जेनजी’ आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरणसम्मका लागि सबै ढोकाहरू खुला गरेर, सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गरेको छ।’
पार्टीको नामदेखि चुनाव चिन्ह समेत परिवर्तन गर्न तयार
विवेकशील साझाले आफ्नो एक दशकभन्दा बढीको राजनीतिक विरासत, सुसंस्कृत राजनीतिक पुँजी र नयाँ राजनीतिक संस्कार फैलाउन गरेको सत्प्रयासहरूलाई नेपाली जनता र राष्ट्रको बृहत् हितमा उपयोग गर्ने जनाएको छ। पार्टीले वैचारिक प्रष्टता र मूल्य मान्यताका जगमा दलीय पदानुक्रमलाई समतल बनाउन, पार्टीको नाम, चुनाव चिह्न समेत परिवर्तन गर्दै पार्टी पुनर्गठन गर्न खुला रहेको घोषणा पनि गरेको छ ।
विज्ञप्तिमा ‘जेनजी’ पुस्ताका नवयुवाहरूको स्वतःस्फूर्त शान्तिपूर्ण आन्दोलनमाथि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अत्यन्त क्रूर एवं निर्दयी दमन गरेको आरोप पनि लगाइएको छ । यो बृहत्तर शक्तिको निर्माणले समतामूलक समृद्ध नेपाल निर्माण गर्ने र आसन्न आम निर्वाचनलाई नयाँ दिशा दिने विवेकशील साझाको विश्वास छ ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण