सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१४ वर्षदेखि अलपत्र कन्काई पुलको मन्त्री  घिसिङद्वारा निरीक्षण, छिट्टै ठोस निर्णय लिने आश्वासन

आइतबार, २६ असोज २०८२, १४ : २९
आइतबार, २६ असोज २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको झापाको कन्काई पुलको स्थलगत निरीक्षण गरेका छन्।

हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो सो पुलको निर्माण प्रगतिबारे जानकारी लिँदै मन्त्री घिसिङले स्थानीयसँग छलफल गरे। पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ।

यो पक्की पुल ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८ मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी पाएको उल्लेख गर्दै मन्त्री घिसिङले अब यसको विस्तृत अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए।

उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौँ। जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौँ, चाँडै निकास दिन्छौँ।’

स्थानीय बासिन्दाहरूले पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धनमा समेत असर परेको भन्दै पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरेका थिए।

निर्माण व्यवसायीकातर्फबाट २०७६ सम्म काम गरिएको थियो। तर, निर्माणमा त्रुटि देखिएपछि प्राविधिक परीक्षण गरिएको थियो। त्रुटि सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिए पनि ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ। हाल निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधनबमोजिम म्याद थपका लागि निवेदन दिएका छन्।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बीम (गर्डर) हालिएको छ। ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ।

यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका(२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरे। बाढीका कारण उक्त पुल भाँचिएको थियो। उनले उक्त पुलको पनि प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे। 

मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायतको उपस्थिति थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप