बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जेनजीको प्रदर्शन

आगजनीले ध्वस्त यातायात विभाग : लाइसेन्स र सवारीसाधनको डेटा सुरक्षित छ ?

सोमबार, २७ असोज २०८२, ०६ : २३
सोमबार, २७ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगलागी हुँदा सवारी चालक अनुमतिपत्र र सवारी दर्तासम्बन्धी महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भए।
  • विभागका अनुसार आगलागीबाट करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ, जसमा इम्बोस्ड नम्बर प्लेटमा ठूलो क्षति पुगेको छ।
  • विभागले तिहारअघि वा पछि सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको छ, र सेवाग्राहीलाई परेको असुविधालाई मध्यनजर गर्दै म्याद थप र जरिवाना छुटको लागि प्रस्ताव गरेको छ।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग जलेर ध्वस्त भयो । सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधन दर्तालगायत सम्पूर्ण कागजात जलेर नष्ट भए भने डेटा भण्डारणमा पनि क्षति पुगेको थियो ।

तर विभागका अधिकांश डेटा भने सुरक्षित रहेको विभागको भनाइ छ । विभागले आन्दोलन हुनुभन्दा केही दिन अघिसम्मको डेटा म्यानुअल्ली ब्याकअप गरेर राखेको दाबी गरेको छ । विभागका सूचना अधिकारी गणेशमानसिंह राईले विभागसँग छुट्टै डेटा सेन्टर वा डेटा रिकभरी सेन्टर नभए पनि म्यानुअल्ली ब्याकअप गरिएको बताए ।

‘हामीसँग छुट्टै डेटा सेन्टर त थिएन । डेटा रिकभरी सेन्टर पनि थिएन । त्यो त हामीले प्रस्ताव मात्रै गर्दै थियौँ । कहाँ सेटअप गर्ने, कहाँ इस्टाब्लिस गर्ने हामीसँग प्लानिङ मात्रै हुँदै थियो । तर यहाँ भएको डेटा  म्यानुअल्ली हामीले ब्याकअप गरेर राखेका थियौँ’, राईले भने, ‘ब्याकअप गरेको रेन्ज आन्दोलनको हुनुभन्दा अगाडि १०–१२ दिन अगाडिसम्मको डेटा छ ।’

उनका अनुसार त्यसपछिको डेटा आईटी सेक्सनले म्यानुअल्ली गरेर छुट्टै हार्ड डिस्कमा ब्याकअप गरेर राखेको थियो । १२–१५ दिन अगाडिसम्मको डेटा विभागसँग छ । तर पछिल्लो १२–१५ दिनको डेटा भने गुमेको हुनसक्ने अनुमान गरिएको छ । यस्तै, विभागको अगाडिको स्टोरेजमा रहेका केही डिस्क पनि ‘करप्ट’ भएको वा चोरिएको हुनसक्ने बताइएको छ, जसले गर्दा डेटामा आंशिक क्षति भएको छ ।

‘प्रदेशअन्तर्गतका यातायात कार्यालयहरूबाट भेरिफाइ गर्नुपर्ने हुन्छ । हाम्रो सिस्टमको अगाडिको डेटा पनि के कति छ भन्ने भन्न सक्ने अवस्था छैन, किनभने डिस्कहरू तोडफोड भएको छ केही हराएका छन्’, उनले भने, ‘त्यसले गर्दा खेरि पनि अब टोटल नभए पनि हामीसँग केही मात्रामा डेटा सुरक्षित छ ।’

photo-4_cnxqI1qVdI

  • ४ अर्ब बराबरको क्षति 

यातायात व्यवस्था विभागमा जेनजी आन्दोलनका कारण भएको आगलागीबाट लाइसेन्स वितरण तथा सवारी दर्ता र नवीकरण प्रणालीमा ठुलो क्षति पुगेको छ । राईका अनुसार यस घटनाले यातायातसम्बन्धी सेवामा गम्भीर असर पारेको छ भने विभागका अनुसार प्रारम्भिक अनुमानमा करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागका सूचना अधिकारी राईले जानकारी दिएका हुन् । यसमध्ये सबैभन्दा ठुलो इम्बोस्ड नम्बर प्लेटमा पुगेको उनले बताए ।

इम्बोस्ड नम्बर प्लेटको प्लान्ट र वितरणका लागि तयार पारिएका सबै प्लेट जलेर नष्ट भएका छन् । करिब ८ लाख बराबर प्लेट जलेर नष्ट भएका विभागले जनाएको छ । इम्बोस्ड नम्बर शून्य अवस्थामा पुगेको सूचना अधिकारी राई बताउँछन् ।

whatsapp-image-2025-09-14-at-3.15.29-pm_f5mzfFBn4w

‘इम्बोस्ड नम्बरको क्षति यकिनका लागि विभाग र ठेकेदार कम्पनीको एउटा समिति गठन भएको छ । उक्त समितिले क्षतिको मूल्याङ्कन गरिरहेको छ’, उनले भने, ‘त्यसपछि मात्रै केही गर्न सक्ने अवस्था होला । अर्को अब अगाडि कसरी बढ्ने भन्ने विषयमा विभागले प्रस्ताव लिएर गएपछि अन्तिम डिसिजन सरकारले कसरी गर्छ त्यसमै डिपेन्ड हुन्छ ।’

यस्तै आगजनीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण प्रणाली र सवारी दर्ता तथा नवीकरण सम्बन्धी प्रणाली ध्वस्त भएको छ ।

यी दुई मुख्य प्रणालीमा क्षति पुगेकाले नयाँ लाइसेन्सका लागि आवेदन, लाइसेन्स नवीकरण, सवारी दर्ता र नामसारी जस्ता महत्त्वपूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन् । जसकारण यी सेवा लिने सेवाग्राहीहरू सबैभन्दा बढी मारमा परेका छन् ।

whatsapp-image-2025-09-14-at-3.15.19-pm_E7p79XkQRo

राईले अनुमानित करिब १८ हजार हाराहारीको सङ्ख्यामा सवारी लाइसेन्स जलेर ध्वस्त भएको वा हराएको बताए । यसअघि प्रिन्ट भइसकेका सवारी लाइसेन्सहरू पनि हालको प्रणालीबाट पुनः प्रिन्ट गर्न नसकिने अवस्था रहेको राई बताउँछिन् ।

यस्तै विभागको सर्भरमा क्षति पुगेपछि नागरिक एपमा पनि सवारी लाइसेन्स प्रणाली हटेको छ । जसकारण नयाँ सवारी लाइसेन्स पास गरेका चालकहरूमा समस्या आएको छ । जसले सवारी लाइसेन्स पास भएका छन्, तर पास गरेको रसिद हराएकाले सवारी चालकलाई समस्या हुने देखिएको हो ।

  • कहिले सुरु हुन्छ विभागको सेवा ?

विभागबाट नयाँ लाइसेन्सका लागि आवेदन, लाइसेन्स नवीकरण, सवारी दर्ता र नामसारी जस्ता महत्त्वपूर्ण कार्य तत्काल सञ्चालन गर्ने तयारी भइरहेको विभागले जनाएको छ । विभागका सूचना अधिकारी राईले यो विषयमा प्राविधिक पक्षको अध्ययन भइरहेको र तिहारअघि वा पछि जुनसुकै बेला पनि सेवा पुनः सुरु हुनसक्ने बताए ।

उनका अनुसार विभागले सवारी तथा सवारी लाइसेन्स नवीकरणको म्याद थप गर्न र यस अवधिमा हुने ढिलाइमा लाग्ने जरिवाना छुटका लागि मन्त्रालयमा प्रस्ताव पठाएको छ । यस्तो निर्णय प्रदेश सरकारहरूले पनि आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर गर्न सक्ने गरी अनुरोध गरिएको राईले जानकारी दिए ।

whatsapp-image-2025-09-14-at-3.15.27-pm_6pf8sqDD93

हाल यातायात व्यवस्था विभागका कर्मचारीहरू क्षतिग्रस्त कार्यालयबाहिर प्रतीक्षा कक्षमा बसेर काम गरिरहेका छन् । सूचना अधिकारी राईले सरकारले नीतिगत निर्णय लिएपछि मात्रै रोकिएका सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आउने र त्यसका लागि मन्त्रालयले पहल गरिरहेको बताए । उनले विभागको पुनर्स्थापनामा धेरै समय नलाग्ने अपेक्षा गरिएको पनि उल्लेख गरे ।

यस्तै क्षतिग्रस्त प्रणाली बाहेक वर्कसपको नवीकरण, सवारी परीक्षण र नयाँ सवारी साधन आयातका लागि सिफारिस जस्ता केही सेवा भने अहिले पनि सुचारु रूपमा चलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप