तनहुँका न्यायिक समितिमा दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याइँदै
सारांश
- स्थानीय तहका न्यायिक समितिहरूले मुद्दाहरू दुवै पक्षको जित हुने गरी टुङ्ग्याउन प्राथमिकता दिएका छन्।
- व्यास नगरपालिकामा गत आर्थिक वर्षमा ८८ मुद्दा फर्छ्योट भए भने बन्दीपुर गाउँपालिकामा ११ वटा मुद्दा फछ्र्योट भए।
- न्यायिक समितिहरूले मेलमिलाप केन्द्र स्थापना गरी सामान्य विवाद वडामै मिलाउने नीति लिएका छन्।
दमौली । यहाँका स्थानीय तहमा रहेको न्यायिक समितिले दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याउने कार्यलाई प्राथमिकतामा राखेको छ । जिल्लाका नगरपालिका र गाउँपालिकामा रहेका न्यायिक समितिले मेलमिलापका माध्यमबाट मुद्दाको किनारा लगाउँदै आएको छ । यसले गर्दा दुवै पक्षलाई जितको महसुस गराउन सकिएको बताइएको छ ।
सदरमुकामस्थित व्यास नगरपालिकामा गत आर्थिक वर्षमा ११६ मुद्दा दर्ता भएकामा ८८ मुद्दा फर्छ्योट भएका छन् । न्यायिक समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले मेलमिलापका माध्यमबाटै मुद्दाको छिनोफानो गर्दै आएको उल्लेख गरिन् ।
दरैले भनिन्, ‘न्यायिक समितिमा मुद्दा दर्ता भएपछि दुवै पक्षसँग छलफल गर्छौं, दुवै पक्षलाई जितको आभास दिलाउन मेलमिलापको नीति लिएका छौँ ।’
नगरपालिकामा फोहाेरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलो पानी, जग्गा खिचलो, महिला हिंसालगायतका मुद्दा दर्ता हुने गरेका छन् । नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना गरिएको दरैले बताइन् । दरैले भनिन्, ‘सबै मुद्दा न्यायिक समितिमा पठाउँदा मुद्दाको चाप बढी हुने गर्छ, सामान्य विवादलाई वडामै छलफलबाट टुङ्ग्याउन सकिन्छ ।’
बन्दीपुर गाउँपालिकामा १७ मुद्दा दर्ता भएकामा ११ वटा फछ्र्योट भएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् । उनले दुवै पक्षलाई हारको महसुस नहुने गरी विवाद समाधानलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिइन् ।
भिमाद नगरपालिकामा २६ मुद्दा दर्ता भएकामा २३ मुद्दा फर्छ्योट गरिएको उपप्रमुख एवं न्यायिक समितिका संयोजक शारदा खनालले जानकारी दिइन् । ऋषिङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक गिनुमाया थापाका अनुसार पालिकामा १६ मुद्दा दर्ता भएकामा चार मुद्दा फर्छ्योट भएका छन् । शुक्लागण्डकी नगरपालिकामा ७९ मुद्दा दर्ता भएकामा ४७ मुद्दा फर्छ्योट भएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिए ।
घिरिङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक राधादेवी अधिकारीले पालिकामा १३ मुद्दा दर्ता भएकामा छ मुद्दा फर्छ्योट भएको उल्लेख गरिन् । भानु नगरपालिकामा ६० मुद्दा दर्ता भएकामा ४४ मुद्दा फर्छ्योट भएको उपप्रमुख उमा गोतामेले बताइन् ।
स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुखका संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।
स्थानीय स्तरमा शान्ति, सौहार्द र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियालाई टेवा पुर्याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुसलमान, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तीकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवअधिकार र नागरिक हितको संवर्द्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण