बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जेनजी आन्दाेलन

जेनजीको नाममा बढ्न थाल्यो ज्यादती

बुधबार, २९ असोज २०८२, १७ : ००
बुधबार, २९ असोज २०८२

सारांश

  • जेनजी समूहको नाममा सरकारी निकाय र निजी कम्पनीहरूलाई धम्की दिइएको छ, जसले सुशासनमाथि प्रश्न खडा गरेको छ।
  • अर्जुन शाहीको नेतृत्वमा रहेको एक समूहले सरकारी कार्यालयहरूमा आतङ्क मच्चाएको र भोटेकोशी जलविद्युत् आयोजनामा सेयरको माग गरेको छ।
  • जेनजी आन्दोलनका नाममा चन्दा सङ्कलन गर्ने प्रयास भएको र प्रधानमन्त्री कार्यालयले यसलाई अनुमति नदिएको जनाएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । भदौ २३ र २४ गतेको आन्दोलनपछि जेनजी समूहको नाममा विभिन्न समूहले सरकारी निकाय, संवैधानिक कार्यालय र निजी कम्पनीहरूमाथि अनावश्यक दबाब र धम्की दिन थालेको भेटिएको छ । 

यसले शान्तिपूर्ण आन्दोलनको मर्ममाथि नै प्रश्नचिह्न खडा गरेको छ र सुशासनको नाममा अराजकता फैलिन थालेको छ । 

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध देशभर चर्किएको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मात्र गराएन, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार नै गठन गराउन सफल भयो । 

आन्दोलनको २७ घण्टामै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासम्म पुग्दा देशभर तरंग ल्याइदियो । जेनजी पुस्ताका युवाहरूले देशमा देखिएको सामाजिक र आर्थिक असमानता, दलाल, बिचौलिया र भ्रष्ट माफियाको संरक्षण, संस्थागत भ्रष्टाचार, र युवाहरूको कुण्ठित सम्भावनालाई मुख्य कारणका रूपमा उठाएका थिए ।  

तर  जेनजीकै  नाममा हुने गतिविधिहरू भने विवादित बन्न थालेका छन् । सामान्य नागरिकलाई सरकारका कामकारबाहीमा चासो राख्ने र खबरदारी गर्ने अधिकार भए पनि जेनजीका अगुवा भनिने विभिन्न समूहले यसको दुरुपयोग गर्दै आएका छन् ।

उनीहरूले सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा निजी कम्पनीहरूलाई धम्की दिँदै आएको आरोप लागेको छ । पछिल्लो समय सुशासनको नाममा संवैधानिक तथा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीमाथि आतङ्क सिर्जना गर्ने काम भइरहेको छ ।

  • अर्जुन शाही नेतृत्वको समूहको ज्यादती, उनको आपराधिक पृष्ठभूमि

पछिल्लो समय जेनजी अभियन्ता भनिने अर्जुन शाहीको नेतृत्वमा रहेको एक समूहले विभिन्न सरकारी निकायमा पुगेर आतङ्क मच्चाउँदै आएको छ । तर शाहीको पृष्ठभूमि भने आपराधिक गतिविधिले भरिएको पाइएको छ । प्रहरी रेकर्डअनुसार उनी ठगी, बैंकिङ कसुर, चेक बाउन्स र वैदेशिक रोजगार ठगीका मुद्दामा संलग्न रहेको खुलेको छ । जेनजी आन्दोलनअघि नै उनी बैंकिङ कसुरमा धरौटीमा छुटेका थिए ।

शाही नेतृत्वको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेको थियो ।  उनीहरूले वाइडबडी विमान खरिद घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता ठुला भ्रष्टाचारका मुद्दामा आयोगको छानबिन विवादास्पद भएको भन्दै प्रश्न उठाएका थिए ।  ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख राई उपस्थित नभएपछि समूहले कर्मचारीहरूलाई धम्की दिएको थियो । यसअघि जेनजी युवाहरूले अख्तियारको केन्द्रीय कार्यालयमा आगजनीसमेत गरेका थिए ।

शाहीको समूह नेपाल वायुसेवा निगमको कार्यालयमा पुगेर निगममा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको थियो । उनीहरूले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कार्यालयमा नभेटे घरबाटै थुतेर ल्याउने धम्की दिएको समेत आरोप लागेको छ । जेनजी समूहले निगमका भ्रष्टाचार तथा घोटालाहरूको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाह गर्नुपर्ने माग राखेका थिए ।

सोमबार सोही समूह नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा पुगेर महानिर्देशक प्रदीपराज अधिकारीको राजीनामा माग्यो । उनीहरूले अधिकारीलाई बिनाआधार र प्राधिकरणसँग असम्बन्धित प्रश्न सोधेर काम गर्न नसकेको भन्दै राजीनामा दिन दबाब दिएको आरोप छ ।

  • भोटेकोशी जलविद्युत् आयोजनामा सेयरको माग र सम्झौता

सिन्धुपाल्चोकमा सञ्चालित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनामा ‘भोटेकोशी जेनजी ग्रुप’ नामको एक समूहले १० प्रतिशत सेयर माग गरेको थियो । यो मागका कारण आयोजना एक महिनासम्म बन्द भएको थियो, जसले कम्पनीलाई करिब ३० करोड रुपैयाँ बराबरको आम्दानी गुमाउनुपरेको थियो । 

अन्ततः आयोजना प्रतिनिधि, जेनजी समूह, गाउँपालिका जनप्रतिनिधि र स्थानीय प्रतिनिधिबिच भएको सहमतिअनुसार भोटेकोशी पावर कम्पनीले आफ्नो सेयरमध्ये १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई समेटेर स्थापना भएको ‘जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेड कम्पनी’ लाई दिने निर्णय भएको छ । 

यसअघि २०७१ सालमा ६ प्रतिशत सेयर दिने सहमति भए पनि अहिले त्यसलाई बढाएर १० प्रतिशत कायम गरिएको हो । प्रतिकित्ता एक सय रुपियाँ दरका सेयर स्थानीयले लिन पाउने व्यवस्था गर्दै आवश्यक कर्जा बैंकमार्फत उपलब्ध गराउने र सो कर्जा आगामी एक वर्षभित्र आयोजनाको लाभांशबाट फर्छ्यौट गर्ने प्रावधानमा सहमति जुटाइएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष दिँदै आएको ४९ लाख सहयोग रकम बढाएर २ करोड ५० लाख पुर्‍याउने सहमति पनि भएको छ ।  

यस्ता मागले अन्य ऊर्जा उत्पादकहरूलाई पनि चिन्तित बनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले यस्तो अराजक दबाबले ऊर्जा क्षेत्र धराशायी बन्ने चेतावनी दिएको छ । सिन्धुपाल्चोकका अन्य १० वटा जलविद्युत् आयोजनामा पनि १० प्रतिशत निःशुल्क सेयर मागिएको छ, जसले ऊर्जा लगानीकर्तालाई त्रसित बनाएको छ ।

जेनजी आन्दोलनका सबै पक्ष यस्ता अराजक गतिविधिमा संलग्न छैनन् ।  जेनजी अगुवा रक्षा बम, तनुजा पाण्डे, युजन राजभण्डारी, मिराज ढुंगानाहरुले यस्तो गतिविधिमा संग्लन नहुन आग्रह गर्दै आएका छन् ।

यता ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका अध्यक्ष सुदन गुरुङले भने आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् । तर उनी आफैँ सरकारी ऐजेन्सीहरूलाई हस्तक्षेप गर्दै आएको आरोप लाग्ने गरेको छ । 

जेनजी आन्दोलनले नेपाली राजनीतिमा ठुलो परिवर्तन ल्याए पनि यसको नाममा भइरहेका अराजक र धम्कीपूर्ण गतिविधिले सुशासन र कानुनी शासनमाथि नै प्रश्नचिह्न खडा गरेको छ । 

दलमा आबद्ध युवा नेताहरूले जेनजीका माग जायज भए पनि तोडफोड, गोली प्रहार र मारपिटबारे आपत्ति जनाएका छन् । 

यस्तै जेनजीका नाममा चन्दा सङ्कलन गर्ने प्रयाससमेत भएको पाइएको छ, जसलाई प्रधानमन्त्री कार्यालयले अनुमति नभएको स्पष्ट पारेको छ । यसरी चन्दा माग्नेलाई कारबाही गरिने समेत उल्लेख गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप