बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जाडो छल्न हिमालपारिबाट आउन थाले चरा

बिहीबार, ३० असोज २०८२, १६ : ०८
बिहीबार, ३० असोज २०८२

सारांश

  • चितवनमा जाडो छल्न विभिन्न देशबाट हाँस प्रजातिका चरा आउन थालेका छन्।
  • चराहरू मुख्यतया साइबेरिया, मंगोलिया, तिब्बत, रसिया लगायतका देशहरूबाट आउँछन् र गर्मी सुरु भएपछि फर्कन्छन्।
  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रहरू चराका लागि उत्तम बासस्थान हुन्, जहाँ विभिन्न प्रजातिका चराहरू देखिन्छन्।

चितवन । जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् ।  चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् ।

हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने गर्दछन् । नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष बासु बिडारीकाअनुसार नेपालमा जाडो छल्न चरा आउन थालेका हुन् ।

साइबेरिया, मङ्गोलिया, तिब्बत, रसिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट चरा आउन थालेका छन् । जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोँच हुँदै चितवनसम्म आइपुगेका छन् ।

जाडो छल्न हाँस प्रजातिका कर्याङकुरुङ, चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको उनले बताए । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेका छन् ।

उनका अनुसार नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा आउने गर्दछन् । जाडो बढ्दै गएपछि नेपालकै हिमाली भेगका चरा मध्यपहाड र मध्यपहाडका चरा तराईमा आउने गर्दछन् ।

नेपालमा १५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गर्दछन् । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने सङ्घका बागमती प्रदेश अध्यक्ष बिडारीले जानकारी दिए । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञहरू बताउँछन् ।

नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् ।  ‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार दसैँमा परेको वर्षात्सँगै नदी तटीय क्षेत्रमा आगन्तुक चरा देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम बासस्थानका रूपमा लिइन्छ । 

निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप