शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय समिति बैठक

गगनलाई वीरबहादुरको प्रश्न– देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए ?

शुक्रबार, ३१ असोज २०८२, १३ : ५२
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • कांग्रेस नेता वीरबहादुर बलायरले महामन्त्री गगन थापालाई सभापति देउवाले कहिले महाधिवेशन हुँदैन भनेर भनेका थिए भनी प्रश्न गरे।
  • बलायरले मंसिरमा महाधिवेशन गर्न कसले रोक्यो भन्दै प्रश्न गरे, र सरकारको कार्यशैलीमाथि पनि टिप्पणी गरे।
  • उनले देउवाको प्रशंसा गर्नेहरूलाई इतिहासले मूल्यांकन गर्ने र कार्यवाहक दिएपछि प्रशंसा गर्नु सुहाउँदैन भने।

काठमाडौँ । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेर भनेका थिए भन्दै प्रश्न गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्दै पार्टीका सुदूरपश्चिम प्रदेश सभापति बलायरले एजेन्डा प्रस्तुत गर्दा मङ्सिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै कसले रोकेको छ भनेर प्रश्न उठाएका हुन् ।

‘शेरबहादुर देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए ? कि केन्द्रीय कार्य समितिले नियमित महाधिवेशनको मिति तय गरेर सारेको थियो ?,’ बलायरले महामन्त्री थापालाई प्रश्न सोध्दै भने ।

उनले मङ्सिरमा महाधिवेशन गर्न महामन्त्री थापालाई कसले रोक्यो भन्दै प्रश्न गरे । ‘महामन्त्रीले यहाँ मङ्सिरमै महाधिवेशन गर्ने भन्नुभयो । गर्नुस् न कसले रोकेको छ ? शेरबहादुरले रोकेको हो ?,’ बलायरले भने– ‘जसको म्याद गुज्रिसकेको छ । उसको हस्ताक्षर ल्याएर म्याद सकिएको कार्यसमितिको विशेष महाधिवेशन गर्ने ? कसले छेक्यो, मङ्सिरमा महाधिवेशन गर्न ?’

सरकार सञ्चालन गर्ने संयन्त्रमा बसेको मान्छेले सरकारप्रति प्रश्न उठाउन नपाइने बलायरको भनाइ थियो । ‘हिजो सरकारमा संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, त्यो सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुग्ने तपाईंहरू नै होइन ? । तपाईं संयन्त्रमा बसेर काम गर्ने अनि त्यसको दोष शेरबहादुरले मात्र लिनुपर्ने ?’

बलायरले सरकारको कार्यशैली, क्षमता र राजनीतिक वातावरणको मूल्याङ्कनसमेत नगरी चुनावमा भाग लिनुपर्छ भन्नु राजनीतिक अपरिपक्वता भएको बताए ।

‘यो सरकारले अहिलेसम्म राजनीतिक दलसँग वार्तासमेत गर्न सकेको छैन । चुनाव गराउने क्षमता राख्छ कि राख्दैन ? यसले त्यतातिर आफूलाई केन्द्रित गरेको छ कि अन्यत्रै ?,’ बलायरले भने ।

देउवाले राजीनामा दिनुपर्छ, नभए कार्यवाहक दिनुपर्छ’ भन्नेहरूले एकै दिनमा देउवाको प्रशंसा सुरु गरेको बलायरले बताए । बलायरले भने– ‘हिजो शेरबहादुरले पार्टीमा बस्नुहुँदैन भन्नेहरूले आज प्रशंसा गर्दैमा चोखो हुँदैन, इतिहासमा यसको लेखाजोखा गर्नेछ ।”

घरमै निर्घात कुटिएर अस्पतालमा भर्ना भएको र घर जलेर खरानी भएका बेला देउवाप्रति सद्भाव नदेखाउनेहरूले कार्यवाहक दिएपछि प्रशंसा गरेको नसुहाएको बलायरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप