शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

बिहार विधान सभा निर्वाचनअघि नेपाल–भारतका सुरक्षा निकायबिच समन्वयात्मक बैठक

शनिबार, ०१ कात्तिक २०८२, ०९ : ३२
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • आगामी नोभेम्बरमा भारतको बिहारमा हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारतका सुरक्षा अधिकारीहरूबीच भर्चुअल बैठक सम्पन्न भयो।
  • बैठकमा सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि, मानव तस्करी, र नक्कली नोटको कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भयो।
  • निर्वाचनलाई ध्यानमा राखी सीमा सिल गर्ने, संयुक्त गस्ती गर्ने, र तस्करी नियन्त्रणमा कडाइ गर्ने निर्णय गरियो।

रौतहट । भारतको बिहार राज्यमा आगामी नोभेम्बरमा हुने विधान सभा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नेपाल–भारत सीमाक्षेत्रका उच्च सुरक्षा अधिकारीहरूबिच भर्चुअल जुम बैठक सम्पन्न भएको छ।

आगामी नोभेम्बर ६ र ११ तारिखमा हुने निर्वाचनलाई लक्षित गर्दै सीमाबाट हुन सक्ने अवाञ्छित गतिविधि, मानव तस्करी, नक्कली नोट कारोबार, मदिरा र लागुऔषध तस्करी लगायतका आपराधिक कार्यहरू नियन्त्रण गर्ने विषयमा बैठकमा विस्तृत छलफल गरिएको हो।

बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदकुमार खड्का, नेपाल प्रहरीका एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक कुमार बढाथोकी, साथै सर्लाही र महोत्तरीका सुरक्षा अधिकारीहरू सहभागी थिए।

भारततर्फबाट सितामाढीका जिलाधिकारी (डीएम) रिची पाण्डे, एसपी अमित रंजन तथा अन्य सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको बैठकको समन्वय रौतहटका सहायक सीडीओ किरणनिधि तिवारीले गरेका थिए।

सहायक सीडीओ तिवारीका अनुसार निर्वाचनअघि ४८ घण्टापछि सीमा पूर्ण रूपमा सिल गर्ने, सीमाक्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने, अपराधिक गतिविधि, नक्कली नोट र तस्करी नियन्त्रणमा कडाइका साथ कारबाही गर्ने, मानव तस्करी र लागुऔषध ओसारपसारमाथि निगरानी बढाउने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप