बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पुस्तक समीक्षा

साहित्यको नोबेल पुरस्कार विजेता क्राज्नाहोर्काईका पुस्तक कसरी पढ्ने ?

शनिबार, ०१ कात्तिक २०८२, १६ : ३०
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लो क्राज्नाहोर्काईलाई प्रदान गरियो।
  • लेखकको लेखन शैलीमा लामो वाक्य र सर्वनाश जस्ता विषयवस्तुको प्रयोग रहेको छ, जसले पाठकलाई धैर्यको परीक्षा लिन्छ।
  • लेखकका कृतिहरूमा कला र मानवतावादलाई जोड दिइएको छ, जसले पाठकलाई गहिरो अनुभूति गराउँछ।

बर्सेनि नोबेल पुरस्कार प्रदान गर्दै आएको ‘स्विडिस एकेडेमी’कै मापदण्ड अनुसार हेर्दा यस वर्ष साहित्यतर्फ यस पुरस्कार प्राप्त गरेका हंगेरीका लेखक लास्ज्लो क्राज्नाहोर्काई खास किसिमका र चुनौतीपूर्ण छनोट नै हुन् । धेरै पाठकहरूझै मैले पनि पहिलो पटक उनलाई ‘बेला टार’ले चलचित्रको पर्दामा उतारेको उनको पहिलो उपन्यास ‘सातान्ताङ्गो’ मार्फत थाहा पाएको हुँ । 

सुस्त गतिमा कथा अघि बढ्ने साढे सात घन्टाको त्यो चलचित्र हेर्नु आफैमा दर्शकका रूपमा धैर्यको परीक्षा उत्तीर्ण गर्नुजस्तै थियो । हेर्दाहेर्दै म कम्तीमा दुई पटक निदाएको थिएँ । ब्युँझेको समयका दृश्यहरू भने राम्रै लागेका थिए ।

क्राज्नाहोर्काईका पुस्तक पढ्दा पनि धेरै हदसम्म त्यस्तै अनुभव हुन्छ । उनको लेखाइमा एउटै वाक्य दर्जनौँ पृष्ठ लामो हुन सक्छन्, कुनै कुनै त सयौँ पृष्ठ । सामान्यतः कुनै समीक्षकले कुनै पनि पुस्तक पढ्न थालेपछि ‘छोड्नै नसकिने’ छ भन्छन्, त्यहाँ कुनै न कुनै खुल्दुलीले वा ‘सस्पेन्स’ले तानेर राखेको हुन्छ । 

Krasznahorkai (1)

तर क्राज्नाहोर्काईका पुस्तकको हकमा भने अलि फरक छ । उनका पुस्तकमा कहाँनेर रोकिने भनेर ठम्याउनै मुस्किल पर्छ । मैले उनको पछिल्लो उपन्यास ‘हस्च्र्ट ०७७६९’ को समीक्षा गर्ने जमर्को गरेँ । त्यसमा एउटै शब्द चार सय पृष्ठ लामो छ । पढ्दापढ्दै रोकिनुपर्दा म बिचमा चिह्न लगाउने गर्न थालेँ । अन्यथा म उनका अनन्त धाराहरूमा कहाँनेर वा कुन अभिव्यक्तिमा पुगेको थिएँ भनेर पत्ता लगाउनै सकिन्नथ्यो । 

अझ सर्वनाश वा ‘एपोक्यालिप्टिक’ जस्तो उनको प्रिय विषयवस्तुबारे लेखिएका उपन्यासमा त यस्तो कठिनाइ झन् बढ्ता अनुभव हुन्छ ।  ‘सतान्ताङ्गो’ तथा लगत्तै आएको ‘द मेलान्चोली अफ रेसिस्टेन्स’जस्ता पुस्तकमा त इतिहासको शक्तिले धुजा–धुजा पारेर टुक्राएको समुदायमा सनकी र दुष्ट शक्तिहरू प्रवेश गरेका हुन्छन् । 

उनका कथाहरूमा सामान्यतः क्षयीकरण भएको वा पतीत समाजमा मानिस हरेक दिन थप बर्बादीमा खस्दै गरेका हुन्छन् । ‘हस्च्र्ट ०७७६९’मा मुख्य पात्र मानिने फ्लोरियनले भनेझैं ‘सर्वनाश वा एपोक्यालिप्स भनेको जीवनको स्वाभाविक अवस्था हो ।’ यो अभिव्यक्तिमा क्राज्नाहोर्काई आफैले जोड गरेर लेखेको देखिन्छ । त्यही लाइनले उनको सम्पूर्ण कृतिको सार पनि बोलेको अनुभव हुन्छ । 

हुन त नोबेल पुरस्कार प्रदान गर्दा लेखकका सबै कृतिलाई प्रदान गरिएको हुन्छ । यद्यपि ‘हस्च्र्ट ०७७६९’ ले चाहिँ उनलाई उक्त पुरस्कार दिलाएको होभन्दा अत्युक्ति हुँदैन । उपन्यास कोरोना महामारीको समयको जर्मन सहरको परिवेशमा लेखिएको छ । उपन्यासले ‘फ्लोरियन’ नामको पात्रका एकपछि अर्को दुस्साहस देखाएको छ । फ्लोरियन सोझो र दयालु पात्र हो । थाहै नपाई नव–नाजी समूहलाई सघाउन पुग्छ । 

1 (1)

जब उसले आफूले गरेको कामको परिणाम देख्न थाल्छ, ऊ भयभीत हुन्छ । त्यसका परिणामहरू अचम्म लाग्दा हुन्छन । र त्यहीँनेर क्राज्नाहोर्काईका लामा वाक्यहरूले नवीन शक्ति हासिल गर्छन् । जसले धेरै विषय खुलासा गर्न मौलिक र सहज बनाइदिन्छ । संसारमा फासीवादको बढ्दो खतराबिच उपन्यासले देखाउने अज्ञानताको चित्रले गर्दा नै स्विडिस एकेडेमीले यस वर्षको पुरस्कारका लागि उपयुक्त ठानेको हुनुपर्छ । 
हिंसाले मुक्ति दिन सक्छ भन्ने कुरामा क्राज्नाहोर्काईका पुस्तकले गहन रूपमा शंका गर्छन्, यसले पनि उनका पुस्तक पुरस्कार समितिको नजरमा परेका हुन सक्छन् । 

यस्ता चर्चाले झट्ट सुन्दा उनको लेखाइ पट्यारलाग्दो होला भन्ने लाग्न सक्छ, तर त्यस्तो पटक्कै होइन, उनका कृति रमाइला छन् । जस्तैः उनको एउटा पात्र फ्लोरियनलाई ‘वलिष्ठ गड्जिला’ का रूपमा बलियो मान्छे भनेर वर्णन गरिएको छ, तर खासमा त्यो वलिष्ठ फ्लोरियन भने धेरैजसो समय ‘क्वान्टम मेकानिक्स’ बुझिएन भन्दै भौँतारिइरहेको हुन्छ । उनको लेखन आफ्ना पाठकलाई रनभुल्लमा पार्न मात्रै अस्पष्ट बनाइएका होइनन् । 

उनका लामा र नागवेलीजस्ता घुमाउरा वाक्यहरूले आधुनिक दिमागले कसरी अनगिन्ती आवाज र विचारहरू बोक्छ तथा आपसमा मिश्रण गर्छ भनेर देखाउने प्रयत्न गर्छन् । जटिल लेखनीभित्र उनका रचनाले गहिरो मानवतावाद बोक्छन् । मानिसहरूले कसरी एकअर्कालाई प्रभाव पार्छन्, कसरी आपसमा सम्बन्धित हुन पुग्छन् भन्ने खोज्ने प्रयत्न गर्छन् । 

त्यसैगरी क्राज्नाहोर्काईले आफ्नो लेखाइमा प्रयोग गर्ने ‘डार्क’ तथा सर्वनाश वा ‘एपोक्यालिप्स’ मा आधारित विषयवस्तुहरू समेत कलाको शक्तिबारे उनको गहिरो विश्वासले मुलायम बनाइएका हुन्छन् । ‘हस्च्र्ट ०७७६९’ उपन्यासमा प्रख्यात संगीतकार बाखको संगीतले मुख्य भूमिका खेलेको छ । 

कथाको पात्र फ्लोरियनले जस्तै लेखक आफैले पनि बाखका कृतिले मानव जातिलाई विनाशबाट जोगाउन सक्छ भन्नेमा विश्वास गर्छन् भन्ने त शंकाकै घेरामा छ । तथापि पुस्तकले कला र सौन्दर्यमा दिएको जोड भने असाध्यै इमानदार प्रतीत हुन्छ । त्यसैगरी उनको अर्को पुस्तक ‘द मेलान्चोली अफ रेसिस्टेन्स’मा केही पात्रहरू कुशलतापूर्वक बजाइएको पियानोको संगीतमा सान्त्वना पाएको अनुभव गरिरहेका हुन्छन् । 

अर्को पुस्तक ‘वार एन्ड वार’ मा हंगेरियन लेखकले आफ्नो रहस्यमय पाण्डुलिपी बाँडेर आफूमा एक खालको रूपान्तरण ल्याउने प्रयत्न गर्छन् । क्राज्नाहोर्काईका आख्यानमा कलामार्फत मुक्तिको खोज अव्यवहारिक हुन पुग्छ । निराशाका कारणहरू हटाउन नसक्दा नसक्दै पनि त्यससँग जुध्नका लागि भने कलाले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

क्राज्नाहोर्काईका कृतिको अध्ययन गर्दा कुन रचनाबाट थाल्ने भन्ने लागिरहेको हुन सक्छ । मेरो सुझाव– उनको लघु उपन्यास ‘द लास्ट वोल्फ’बाट थाल्नुस् । त्यसमा एउटा यस्तो मान्छे छ, जसलाई सम्भवतः भुलवश नै हुन सक्छ, स्पेन क्षेत्रको अन्तिम ब्वाँसोको कथा भन्न लगाइएको हुन्छ । 

यो उपन्यास पनि एउटै वाक्यमा लेखिएको छ । जर्ज सिर्टेसले गरेको अनुवादमा त्यो वाक्य ७० पृष्ठ लामो छ । उपन्यासका पन्नाका हरेक हरफ ठुलो ‘मार्जिन’मा छापिएका छन् । पुस्तक सकेसम्म सजिलै पढ्न सकिने बनाउने प्रयास गरेको देखिन्छ । त्यस उपन्यासको कथामा क्राज्नाहोर्काईले प्रयोग गर्ने विविध विषयवस्तु समावेश गरिएका छन् । 

‘डार्कनेस’, आशंका, तथा हास्य सबै प्रयोग गरिएको छ । कथाको एउटा बिन्दुमा पुगेपछि कथावाचक आफूलाई अहिलेसम्म आश्चर्यमा पार्ने र झुक्याउने पात्र आफै पो हो कि भनेर सोच्न थाल्छ । आफ्नै पुरानो संस्करण हुन सक्ने ठान्छ । तपाईंलाई यो छोटो कृतिमा केही रोचक वा सुन्दर पक्ष फेला पर्‍यो भने वा अनौठो अनुभव भयो भने तपाईं उनका अन्य लामा उपन्यासहरूमा अझ मजा मान्न सक्नुहुन्छ ।

उनका कृति छिचोल्न सुरुवात गर्न सकिने अर्को पुस्तक ‘अ माउन्टेन टु द नर्थ, अ लेक टु द साउथ, पाथ्स टु द वेस्ट, अ रिभर टु द इस्ट’ पनि हुन सक्छ । यो कृतिले विधागत सीमा मिचेको छ । पुस्तकमा क्राज्नाहोर्काई यात्रा लेखन गर्छन् । जसमा जापानी गुम्बाको सजीव चित्रण गरिएको छ । 

‘द टेल अफ गेन्जी’को नायकको सन्तानले गुम्बामा घुम्दै गरेको हुन्छ । त्यसरी उनले साहित्यको इतिहास भित्र भूतप्रेतको कथा हालिदिन्छन् । यस कृतिमा भने उनका अन्य पुस्तकका जस्ता असाध्यै लामा वाक्य छैनन्, बिच–बिचमा धेरै ठाउँमा टुटाइएको छ । उक्त पुस्तकलाई डब्ल्यु जी सेवाल्डका कृतिसँग पनि तुलना गर्ने गरिन्छ । 

लेखनशैली वा विविध ठाउँबारे रुचिमा समानता नभए पनि यी दुई लेखकहरू विधागत रूपमा वर्गीकृत गर्न नसकिने खालका छन्, त्यसमा भने समानता छ । अन्त्यमा , ‘हस्च्र्ट ०७७६९’ को तुलनामा अझै गम्भीर कृतिमा डुबुल्की मार्न खोज्नेहरूका लागि उनको हास्यप्रधान कृति ‘बारोन वेंखेइम्स होमकमिङ’ उपयुक्त हुन सक्छ । यसमा पतन हुँदै गरेको हंगेरीयाली सहरका बासिन्दाहरू एउटा मध्यमस्तरको कुलीन व्यक्तिको आगमन हुँदा आफ्ना दुःख दूर हुने विश्वास गर्छन् भन्ने चित्रण छ, तर उसलाई त्यो कुलीन व्यक्तिको साथमा धन छैन भन्ने थाहा हुँदैन ।  

त्यो कुलीन व्यक्तिबाट प्रशस्त नगद उपलब्ध हुने भ्रममा ती बासिन्दाहरू हुनछन् । उससप्रतिको अन्धो विश्वासका कारण उनीहरू अन्य शक्तिले आफ्नो संसार ध्वस्त पार्न लागेको समेत पत्तो पाउदैनन् । अन्त्यमा, उही ‘वेटिङ फर गोडोट’कै जस्तो हुन्छ । गोडोट आइपुग्दा सबै निराश हुन्छन् । कहीँ डरलाग्दो अनि कहीँ रमाइलो अनुभव हुने यो पुस्तक क्राज्नाहोर्काईको लेखनीको उच्चतमस्तर मान्न सकिन्छ ।

क्राज्नाहोर्काईका पुस्तक जहाँबाट सुरु गरे पनि गल्ती हुँदैन, अझ टारले बनाएका चलचित्रबाट सुरु गरे पनि हुन्छ । जसका लागि क्राज्नाहोर्काईले छ वटा पटकथा लेखेका थिए । यिनले पनि उनको लेखनी तथा शैलीबारे सुरुवाती राम्रो परिचय गराउन सक्छन् । 

सदाझैँ साहित्यतर्फको नोबेल पुरस्कारले धेरैलाई यसअघि थाहा नभएका कृति र लेखकबारे बुझ्ने अवसर पनि प्रदान गरिरहेको हुन्छ । त्यस्ता लेखक र कृति हामीले आफै फेला नपारेका पनि हुन सक्छौँ । क्राज्नाहोर्काईको हकमा पनि त्यही लागु हुन्छ । उनका कृतिमा पस्न खोज्यौँ भने निश्चय पनि हामीले अद्भूत अनुभूति पाउन सक्छौँ । 

(वाशिङ्गटन पोस्टबाट)

लेखक ज्याकोब ब्रोगान ‘बुक वल्र्ड’ का सम्पादक हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्याकोब ब्रोगान
ज्याकोब ब्रोगान
लेखकबाट थप