बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

शनिबार, ०१ कात्तिक २०८२, २१ : ५९
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद् डा. रामप्रसाद दाहाल र चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गर्यो।
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा ताम्रपत्र, दोसल्ला र नगद सहित सम्मान अर्पण गरियो।
  • डाक्टर अनन्तप्रसाद अधिकारी र नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि सोही सम्मान प्रदान गरियो।

काठमाडौँ । बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार डा‍.रामप्रसाद दाहाल र श्रीमती चन्दा दाहाल कोइरालालाई सयपत्री राष्ट्रिय सम्मान –२०८२ प्रदान गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ  जन्मजयन्तीको सन्दर्भ पारेर उनीहरूलाई ताम्रपत्र, दोसल्ला र दुबोको माला तथा नगदसहितको सम्मान अर्पण गरिएको हो ।

वि.सं  २०५५ सालदेखि निरन्तर दिँदै आएको उक्त सम्मान यसअघि राष्ट्रकवि  माधवप्रसाद घिमिरे, कवि बैरागी काइलालगायत विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएकामा यस वर्ष भने दाहाल दम्पतीलाई प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाले पनौती निवासी कवि तथा वरिष्ठ  चिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारी र श्रीमती नर्मदा खनाल अधिकारी दम्पतीलाई पनि उक्त सम्मान अर्पण गरेको छ ।

श्रीमानको काममा सहयोग गर्न र अगाडि  बढ्न श्रीमतीको त्यतिकै  योगदान हुने भएकाले उक्त प्रतिष्ठानले श्रीमतीसहितको जोडीलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले विगत चार दशकदेखि निरन्तर रूपमा शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील डा.दाहाल र २० वर्षदेखि स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा डाक्टर अधिकारीले पुर्‍याएको सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान अर्पण गरिएको बताए ।

वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीले महाकवि देवकोटाको बहु–आयामिक व्यक्तित्व र शिक्षाविद् दाहालको सम्मानले आफूलाई अझै क्रियाशील भएर राष्ट्र सेवामा जुट्ने प्रेरणा प्राप्त भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप