सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना

शनिबार, ०१ कात्तिक २०८२, २२ : ५९
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व र प्राकृतिक प्रकोपको सामनाका लागि सांस्कृतिक सम्पदाको उपयोग गर्ने सङ्कल्प गरेको छ।
  • सम्मेलनमा विभिन्न देशका सम्पदा विज्ञहरूले सांस्कृतिक सम्पदाले शान्ति पुनःस्थापना र स्थानीय समुदायको आर्थिक दिगोपनामा भूमिका खेल्ने बताए।
  • सम्मेलनमा ६७ राष्ट्रका ३०० स्वदेशी तथा विदेशी सहभागी थिए र आइतबार काठमाडौंमा समापन हुनेछ।

बुटवल  । लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकोपको सामना तथा शान्तिका लागि  सांस्कृतिक सम्पदाको उपयोग गर्ने सङ्कल्प गरेको छ ।

विभिन्न देशका २ सय सम्पदा विज्ञहरूको उपस्थितिमा बुधवार सुरु गरिएको सम्मेलन अन्तर्गत शनिवार प्राचीन तिलौराकोट दरबार क्षेत्रको स्थलगत निरीक्षण पश्चात् विभिन्न देशमा देखिएको द्वन्द्व तथा प्राकृतिक प्रकोपहरूको सामनाका लागि सांस्कृतिक सम्पदालाई उपयोग गर्ने सङ्कल्प गरिएको हो । 

आयोजक संस्था सम्पदा संरक्षण समाज (इकोमस) ले एक विज्ञप्ति जारी गर्दै सम्मेलनले द्वन्द्व र प्राकृतिक विपत्तिपछि शान्ति पुनःस्थापनामा  सांस्कृतिक सम्पदाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ ।  

विज्ञप्तिमा सम्पदा सांस्कृतिक पहिचानका लागि मात्र नभई  स्थानीय समुदायको आर्थिक दिगोपनाको आधार पनि भएको उल्लेख गर्दै  यसले सहअस्तित्व कायम गर्न पनि भूमिका खेल्न सक्ने उल्लेख छ ।

वक्तव्यमा हाल विश्वका ३८ देशमा युद्ध तथा तनावको अवस्था रहेकाले यो सम्मेलनले त्यसको सामना गर्न शक्ति प्रदान गर्ने विश्वास समेत गरिएको छ । सम्मेलनमा भविष्यमा जलवायु परिवर्तनले पार्ने असरबारे पनि छलफल गरिएको थियो भने सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारका पक्षमा  प्रतिबद्धता व्यक्त गरिएको समाजका अध्यक्ष ज्ञानिन राईले बताए ।

युनेस्कोको सल्लाहकार समेत रहेको इकोमसले विश्व सम्पदा सूचीमा प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई सिफारिस गर्ने गर्दछ ।

सम्मेलनमा इकोमस इन्टरनेश्नलका सदस्यहरू सहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माता, सरकारी अधिकारी, अन्तर्राष्ट्रिय पाहुनाहरुसहित ६७ राष्ट्रका करिब ३०० स्वदेशी तथा विदेशी सहभागीहरू थिए ।

सम्मेलनमा विभिन्न विषयहरूमा प्राप्त २६० कार्यपत्रमध्ये छनोटमा परेका १९० वटा कार्यपत्रहरूको प्रस्तुतीकरण गरिएको इकोमस नेपालका कोषाध्यक्ष  सृष्टिना श्रेष्ठले बताइन् ।  

सम्मेलनमा इकोमसका अन्तर्राष्ट्रिय अध्यक्ष प्राध्यापक टेरेशा प्याटिसियो,  नेपालका तर्फबाट सांस्कृतिक सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा.काई वाईजे, एनी जोशी, डा.ईनु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराईसहित इकोमस इन्टरनेसनलका सचिवालय सदस्यहरूले प्रस्तुति दिएका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टियल हेरिटेज साइट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिस काउन्सिल, अस्ट्रेलिया इकोमस, इकोमस चाइना लगायतको साझेदारीमा भएको सम्मेलन आइतबार काठमाडौँमा समापन गरिने आयोजकले जनाएका छन् । 

सम्मेलनअघि अक्टोबर ११ तारिखदेखि इकोमसको ६० औँ वार्षिकोत्सव समेत लुम्बिनीमा मनाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप