संसारको सबैभन्दा चलाख चराको अद्भुत संसार
सारांश
- कागहरू बुद्धिमान, सामाजिक र समस्या समाधान गर्न सक्षम चराहरू हुन्।
- कागहरूले उपकरण प्रयोग गर्छन्, मानिसको अनुहार चिन्छन्, र शोकसभा गर्छन्।
- कागहरूमा क्षेत्रीय बोली हुन्छ र तिनीहरू आजीवन जोडी बनाउँछन्।
कागहरू बुद्धि, अनुकूलनशीलता र उनीहरूको चर्को, कर्कश ‘काँ काँ’ आवाजका लागि परिचित चरा हुन् । तिनीहरू रेभन, जय, म्याग्पाइ र नटक्र्याकरहरू जस्तै एउटै परिवारका हुन्।
फरक-फरक प्रजातिका कागहरू दक्षिण अमेरिका र अन्टार्कटिकाबाहेक हरेक महादेशमा बस्छन्। उनीहरूलाई कहिलेकाहीँ हल्ला गर्ने चराको रूपमा बेवास्ता गरिए पनि, कागहरू चलाख, जिज्ञासु र गहिरो सामाजिक प्राणी हुन्।
आज पनि वैज्ञानिकहरूले यी चराहरू कति उल्लेखनीय छन् भन्ने कुरा पत्ता लगाउन जारी राखेका छन्।
कागका बारेमा रोचक तथ्यहरू
- कागहरूले उपकरण प्रयोग गरेको देखिएको छ— जुन उनीहरूको उच्च बुद्धिमत्ताको सङ्केत हो।
- कागहरूको समूहलाई ‘मर्डर’ (Murder) भनिन्छ।
- बिजुलीका खम्बामा गुँड बनाएका कागहरूले एक पटक जापानमा बिजुली कटौती (ब्ल्याकआउट) को सिलसिला नै निम्त्याएका थिए।
- कागका विभिन्न समूहहरूमा क्षेत्रीय ‘लवज’ (accents) हुन्छ, र कागहरूले नयाँ समूहमा घुलमिल हुन खोज्दा त्यो ‘लवज’ प्रयोग गर्छन्।
- कागहरूले ओखरलाई सडकमा राखेर गाडीले थिचेर फुटाउने गरेको र त्यसपछि खान सजिलो हुने गरेको देखिएको छ।
के कागहरू चलाख हुन्छन्?
कागहरू अत्यन्तै बुद्धिमान हुन्छन्। उनीहरू समस्या समाधान गर्ने, अचम्मको सञ्चार कौशल र मानिसलाई चिन्न सक्ने क्षमताका लागि जानिन्छन्। वास्तवमा, अनुसन्धानले देखाउँछ कि कागहरूले मन नपर्ने मानिसहरूको अनुहार सम्झन्छन् र यो जानकारी आफ्नो बथानका अन्य कागहरूलाई पनि दिन्छन्।

कागहरूमा जटिल सामाजिक व्यवहार पनि देखिन्छ। अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि जब एउटा काग मर्छ, बथानका कागहरू मृत चराको वरिपरि भेला हुन्छन्, जुन लगभग ‘अन्त्येष्टि’ जस्तो देखिन्छ। वैज्ञानिकहरूलाई लाग्छ कि यसले कागहरूलाई मरेको कागलाई के कारणले मार्यो भनेर बुझ्न मद्दत गर्न सक्छ, ताकि उनीहरूले त्यो खतराबाट बच्न सकुन्।
यी चतुर चराहरू गणितका विशेषज्ञ पनि हुन्। कागहरूले गन्न सक्छन्, र उनीहरूले शून्यको अवधारणा बुझ्छन्। कुनै-कुनै तरिकामा, कागहरू कलिला बच्चा वा ससाना केटाकेटीहरू जस्तै चलाख हुन्छन्, र बुद्धिमत्ताको एउटा परीक्षणमा त उनीहरूले बाँदरहरूलाई पनि पछि पारेका थिए।
काग र रेभनलाई कसरी छुट्याउने?
काग र रेभन (कालो काग) सम्बन्धित भए पनि फरक-फरक हुन्छन्। तपाईंले मुख्य रूपमा तिनीहरूको आकारबाट यी दुईलाई छुट्ट्याउन सक्नुहुन्छ; रेभनहरू ठुला हुन्छन् र आकारमा बाजको नजिक हुन्छन्। कागहरू ठुला बथानमा यात्रा गर्ने प्रवृत्ति राख्छन्, जबकि रेभनहरू प्रायः जोडीमा देखिन्छन्।
तिनीहरूको पुच्छरको प्वाँख पनि फरक हुन्छ। कागको पुच्छरका सबै प्वाँखहरू एउटै लम्बाइका हुन्छन्, त्यसैले जब काग उडिरहेको हुन्छ, यसको पुच्छर हातले समात्ने पङ्खा जस्तो देखिन्छ। अर्कोतर्फ, रेभनको पुच्छरको बिचमा लामो प्वाँखहरू हुन्छन्, त्यसैले जब यो उड्छ, यो तीरको आकार जस्तो देखिन्छ। अन्तमा, कागहरू आफ्नो विशिष्ट काँ काँ आवाजका लागि चिनिन्छन्, जबकि रेभनहरूको गहिरो, कर्कश आवाज हुन्छ।

कागले के खान्छ?
कागहरू सर्वाहारी (omnivores) हुन्, जसको अर्थ उनीहरूले लगभग जे पनि खान्छन्। कागहरूले साना स्तनधारी प्राणीहरू, उभयचर र सरीसृपहरू, साथै अण्डा र मरेका जनावरहरूको अवशेष खान्छन्।
उनीहरूले किराहरू, बीउ, अन्न, नट, फलफूल, मोलस्क, कीरा र अन्य चराहरूलाई समेत खान्छन्। कागहरू कहिलेकाहीँ खाजाको लागि मानिसले फालेको फोहोर खोतल्छन्, र उनीहरू आफ्नो खाना लुकाएर पछि खानका लागि जोगाएर राख्ने गर्छन् भन्ने कुरा पनि थाहा छ।
के काग बोल्न सक्छ?
सुगाहरू जस्तै, केही कागहरूले मानव बोलीको नक्कल गर्न सिक्न सक्छन्। यद्यपि, चराहरूले आवाज निकाल्ने तरिका हामीले गर्ने तरिकाभन्दा धेरै फरक हुन्छ। मानिसहरू आफ्नो स्वरयन्त्र, वा भोकल बक्सका कारण बोल्न सक्छन्। जब फोक्सोबाट हावा स्वरयन्त्रबाट गुज्रिन्छ, हाम्रो भोकल कर्डहरू कम्पन हुन्छन्, जसले हामीले बोलीको रूपमा चिन्ने ध्वनि तरङ्गहरू सिर्जना गर्छ।
यद्यपि, कागहरूसँग स्वरयन्त्र हुँदैन। तिनीहरूसँग सिरिन्क्स (syrinx) भनिने फरक आवाज अङ्ग हुन्छ, जसको प्रयोग तिनीहरू आवाज निकाल्नका लागि गर्छन्।

कागबारे जान्नै पर्ने तथ्यहरू
१. कागहरूसँग खाना प्राप्त गर्ने चतुर तरिकाहरू छन्
कागहरू प्रायः अवसरवादी र रचनात्मक हुन्छन्, जसले आफ्नो जीवनलाई सजिलो बनाउनका लागि नयाँ खाद्य स्रोतहरू पत्ता लगाउँछन् वा नयाँ खुवाउने रणनीतिहरू अपनाउँछन्। उदाहरणका लागि, अमेरिकी काग आफै माछा समात्न जान्छ । केही अवस्थामा त उनीहरूले माछालाई नजिक आकर्षित गर्न रोटी वा अन्य खानालाई चाराको रूपमा प्रयोग गरेको पनि देखिएको छ।
यो प्रजातिले अन्य जनावरहरूबाट खाना पनि चोर्छ । कहिलेकाहीँ त पीडितलाई गोप्य रूपमा तिनीहरूको गुँड वा लुकाइएको खाना भएको ठाउँसम्म पछ्याउँछ। कर्नेल ल्याब अफ ओर्निथोलोजीका अनुसार, एक घटनामा, अमेरिकी कागहरूको एउटा समूह ओटरलाई विचलित गरिरहेको देखिएको थियो ताकि उनीहरूले यसको माछा चोर्न सकुन्।

धेरै कागहरूले गुरुत्वाकर्षण र जमिनको उपयोग गरेर उडिरहेको बेला घोंघी र कडा खोल भएका नटहरू माथिबाट खसाल्छन्। यो अन्य चराहरूले पनि गर्छन्, तर केही कागहरूले यसलाई अझै धेरै कदम अगाडि बढाएका छन् जस्तो देखिन्छ।
उदाहरणका लागि, जापानका कागहरूले ओखरलाई सडकमा राख्छन् ताकि कारहरूले खोल किचुन् । उनीहरु ट्राफिक बत्ती परिवर्तन हुनको लागि पनि पर्खन्छन्, र त्यसपछि सुरक्षित रूपमा खोलिएका ओखरहरू जम्मा गर्छन्।
२. कागहरूले उपकरण प्रयोग मात्र गर्दैनन्, बनाउँछन् पनि
सन् १९६० को दशकको प्रारम्भमा, प्राइमाटोलोजिस्ट जेन गुडअलले जङ्गली चिम्पान्जीहरूले धमिरा समात्नका लागि रुखका टुक्राहरूलाई उपकरणको रूपमा प्रयोग गरेको पत्ता लगाएर संसारलाई चकित पारेकी थिइन् । यसले मानिसहरू मात्र उपकरण प्रयोग गर्ने प्रजाति हुन् भन्ने धारणालाई गलत साबित गर्यो।
उपकरणको प्रयोगका लागि एक निश्चित स्तरको संज्ञानात्मक परिष्कार आवश्यक छ । तर अब हामीलाई अन्य धेरै जनावरहरूले पनि जङ्गलमा उपकरणहरू प्रयोग गर्छन् भन्ने थाहा छ।

यसमा न्यू क्यालेडोनियन कागहरू विशेष गरी उन्नत हुन्छन्। चिम्पान्जीहरू जस्तै, तिनीहरूले दुलाहरूबाट किराहरू बाहिर निकाल्नका लागि लट्ठी वा अन्य विरुवाका सामग्रीहरू प्रयोग गर्छन्। त्यो आफैँमा प्रभावशाली छ, खास गरी हातहरू बिना, तर यो तिनीहरूको धेरै चालहरू मध्ये एक मात्र हो।
प्राकृतिक रूपमा राम्रो आकारका उपकरणहरू छनोट गर्नुका साथै, न्यू क्यालेडोनियन कागहरूले जङ्गलमा उपकरणहरू निर्माण पनि गर्छन्, जुन केवल भेटिएका वस्तुहरू प्रयोग गर्नुभन्दा धेरै दुर्लभ छ। उनीहरू लट्ठीबाट पातहरू हटाउने देखि लिएर टुक्राहरू, पातहरू र काँडाहरूबाट आफ्नै हुक-आकारका उपकरणहरू सिर्जना गर्नेसम्मका कामहरू गर्छन्।
न्यू क्यालेडोनियन कागहरूले लचिलो सामग्रीहरूलाई हुक भएको उपकरणहरूमा मोडेका पनि छन्, र सहज रूपमा ‘मेटाटूल प्रयोग’ अर्थात् एउटा उपकरणलाई अर्कोमा प्रयोग गर्ने क्षमता— पनि देखाएका छन्। अध्ययनमा अनुसन्धानकर्ताहरूले चिम्पान्जी र ओराङ्गुटान जस्ता जनावरहरूले मेटाटूल निर्माण गर्न सक्छन् ।
कागहरूले दुई वा बढी अन्यथा काम नलाग्ने तत्त्वहरूबाट नयाँ संयुक्त उपकरणहरू पनि बनाएका छन्। अध्ययनका एक लेखकले बीबीसीलाई बताएअनुसार, त्यसका लागि उपकरण अस्तित्वमा आउनुअघि त्यसले के गर्नेछ भनेर कल्पना गर्न आवश्यक हुन्छ ।
३. कागहरूले मानिसको बच्चाहरू जत्तिकै पहेली समाधान गर्न सक्छन्
दन्त्यकथा ‘द क्रो एन्ड द पिचर’ मा, एउटा तिर्खाएको कागले थोरै पानी भएको एउटा गाग्रो फेला पार्छ तर सुरुमा कम पानीको स्तर र त्यसकोको साँघुरो मुखले गर्दा पानी पिउन असफल हुन्छ। त्यसपछि कागले गाग्रोमा ढुङ्गाहरू खसाल्छ र पानीको स्तर यति माथि उठाउँछ कि पानी पिउन सफल हुन्छ।

अनुसन्धानले कागहरूले यो गर्न सक्छन् भन्ने प्रमाणित मात्र गरेको छैन, तर यसले देखाउँछ कि उनीहरूले ५ देखि ७ वर्षका मानव बच्चाहरू जस्तै स्तरमा पानी विस्थापन परीक्षण पास गर्न सक्छन्। कागहरूले अन्य विभिन्न जटिल परीक्षणहरूमा पनि सफलता प्राप्त गरेका छन्।
बीबीसीले आफ्नो शृङ्खला ‘इनसाइड द एनिमल माइन्ड’ मा एउटा कागले आठ-चरणको पहेली समाधान गरेको देखाएको थियो। ‘करेन्ट बायोलोजी’ जर्नलमा गरिएको एउटा अध्ययनअनुसार, कागहरूले आफ्नो उपकरण प्रयोगको योजना पनि बनाउन सक्छन् ।
४. कागहरूले आफ्ना मृत साथीका लागि शोकसभा गर्छन्
कागहरू आफ्नो झुण्डमा रहेका कुनै एक कागको मृत्यु हुँदा ‘शोकसभा’ गर्ने कुराका लागि प्रसिद्ध छन्। यो शान्त वा कोलाहलपूर्ण हुन सक्छ। केही अवस्थामा, कागहरूले केही दिनसम्म मरेको चरामाथि निगरानी राख्न सक्छन्।
वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ता काइली स्विफ्ट भन्छिन्, ‘उनीहरूमा भावनात्मक बुद्धिमत्ता छ भन्नेमा थोरै मात्र शङ्का छ, यद्यपि यो सम्भावनाको परीक्षण वैज्ञानिक रूपमा अझै पनि समस्याग्रस्त छ, किनकि हामीले अझै पनि जनावरको दिमागमा भावनात्मक स्तरमा के भइरहेको छ भनेर वास्तवमा जान्न सक्ने कुनै तरिका छैन ।’
त्यसैले, शोकलाई अनिवार्य रूपमा अस्वीकार नगरी, स्विफ्ट र अन्य अनुसन्धानकर्ताहरूले ‘खतराबारे सिकाउने’ लाई बढी सम्भावित प्रेरणाको रूपमा ध्यान केन्द्रित गरेका छन्। ‘यदि मैले जङ्गलमा कुनै मरेको व्यक्ति भेट्टाएँ भने म दुःखी महसुस गर्न सक्छु, तर म सतर्क पनि हुनेछु र म
अर्को नबनूँ भनेर मृत्युको कारण खोज्नेछु,’ स्विफ्ट लेख्छिन्, ‘सायद कागहरूले पनि त्यही गरिरहेका छन्, खतराको स्रोत खोज्दै छन् र अनुभवका मुख्य तत्त्वहरू सम्झिरहेका छन् जसले तिनीहरूलाई भविष्यमा सुरक्षित राख्न मद्दत गर्नेछ।’

५. कागहरू कुरा काट्छन्, वैरभाव राख्छन् र तपाईँलाई चिन्न सक्छन्
धेरै प्रकारका कागहरूले मानव अनुहार पहिचान गर्ने क्षमता देखाएका छन्। उदाहरणका लागि, म्याग्पाइ र रेभनहरू विगतमा आफ्ना गुँडको नजिक पुगेका अनुसन्धानकर्ताहरूलाई खेदाउन पुग्थे, उनीहरूले जे लगाए पनि फरक पर्दैन थियो।
यो क्षमताको केही राम्रो प्रमाण वासिङ्टन राज्यका कागहरूबाट आउँछ, जहाँ स्विफ्ट र उनका सहकर्मीहरूले तिनीहरूले मानव अनुहारहरूमा चराहरूको प्रतिक्रियालाई व्यापक रूपमा परीक्षण गरेका छन्। वासिङ्टन विश्वविद्यालयका वन्यजन्तु विज्ञानका प्रोफेसर जोन मार्ज्लुफको नेतृत्वमा गरिएको यो परीक्षणमा कागहरूले उनीहरूलाई अनुसन्धानका लागि जालमा फसाएर पट्टा लगाउने विशिष्ट व्यक्तिहरूप्रति वैरभाव राखेको महसुस भएपछि सुरु भएको थियो।
अनुसन्धानकर्ताहरूले यो काम गर्दा रबरको मास्क लगाउन थाले, जसले कागहरूले कसरी आफ्ना शत्रुहरूलाई चिन्दै थिए भन्ने कुरा प्रकट गर्यो। कागहरूले मास्क लगाउने जो कोहीलाई आक्रमण गरे, मास्क मुनि को छ भन्ने कुराको वास्ता नगरी।
पछिल्ला परीक्षणहरूमा, अनुसन्धानकर्ताहरूले मृत काग समातेर मास्क लगाउँदा पनि त्यस्तै प्रभाव प्राप्त गरे, जसको परिणामस्वरूप कागहरूले भविष्यमा ती उस्तै मास्क लगाउनेहरूलाई दुःख दिए। मार्ज्लुफले भने, ‘चाखलाग्दो कुरा यो थियो कि अनुहार बाहेक अरू धेरै कुराले फरक पारेन।’
धेरै अन्य जनावरहरूले पनि मानव अनुहार चिन्न सक्छन् तर कागहरू अझै पनि फरक छन् । तिनीहरूको स्मरणशक्तिको लम्बाइ र उनीहरूले कसरी आफूहरू बिच जानकारी बाँड्छन् भन्ने कुरा अन्य भन्दा पृथक् छ।
अध्ययन सुरु भएको वर्षौँ पछि, कागहरूले मास्क लगाएकालाई अझै पनि दुःख दिइरहेका छन् । अझ मास्क लगाएका मानिसकोलाई आक्रमण गर्ने चराहरूको प्रतिशत समयसँगै बढेको थियो । सात वर्षभित्र यो सङ्ख्या लगभग दोब्बर भयो । यद्यपि अधिकांशलाई कहिल्यै पट्टा लगाइएको थिएन भने मास्क लगाएको मानिसले आपत्तिजनक केही गरेको व्यक्तिगत रूपमा देखेको सम्भावना थिएन।
केही त यस्ता साना कागहरू पनि थिए जो वैरभाव सुरु हुँदा जन्मेका पनि थिएनन्। कागहरूले स्पष्ट रूपमा महत्त्वपूर्ण जानकारी— एक खतरनाक व्यक्तिको पहिचान आफ्ना परिवार र साथीहरूलाई प्रसारित गरिरहेका छन्।
मानिसहरूलाई चिन्न सिक्नु सहरी कागहरूको लागि एक मूल्यवान् कौशल हुन सक्छ किनभने हामीमध्ये कोही खतरनाक, कोही तटस्थ, र कोही सहयोगी हुन्छन्।

६. कागहरूको बोलीका लवज हुन्छन्
तपाईं कागको ‘काँ काँ’ आवाजसँग परिचित हुनुहुन्छ, तर के तपाईँलाई थाहा छ कि तिनीहरूको आवाजमा बोलीका लवज (dialects) हुन्छन् ? मानिसहरू जस्तै, जसको भाषा क्षेत्र अनुसार फरक हुन सक्छ, कागहरूमा पनि दुई जनसङ्ख्याका कागहरू बिच तिनीहरूको पक्षी भाषामा भिन्नता हुन्छ।
‘इन द कम्पनी अफ क्रोज एन्ड रेभेन्स’ नामक पुस्तकका सह-लेखक पक्षीविद् जोन एम. मार्ज्लुफ र लेखक टोनी एन्जेलका अनुसार, आवाजहरू क्षेत्रीय रूपमा फरक हुन्छन्, मानिसको बोलीका लवजहरू जस्तै जुन उपत्यका-उपत्यका अनुसार फरक हुन सक्छन्।
र यदि कुनै कागले आफ्नो समूह परिवर्तन गर्छ भने, यो नयाँ समूहमा घुलमिल हुनका लागि आफ्नो आवाजलाई अनुकूलन गर्छ। मार्ज्लुफ र एन्जेलले लेखेका छन्, ‘जब कागहरू नयाँ बथानमा सामेल हुन्छन्, उनीहरूले प्रभुत्वशाली बथानका सदस्यहरूको आवाजको नक्कल गरेर बथानको बोलीको लवज सिक्छन्।’
७. कागहरू आजीवन जोडी बनाएर बस्छन्, तर अन्यसँग पनि यौन क्रियाकलापमा संलग्न हुन्छन्
कागहरू सामाजिक प्राणी हुन् । उनीहरू सोचेभन्दा बढी परिवार-उन्मुख हुन्छन्।
कागहरू आजीवन जोडी बनाएर बस्छन्, जसको अर्थ एक जोडी सामान्यतया आफ्नो बाँकी जीवनभर सँगै बस्छ, तर तिनीहरूको पारिवारिक जीवन त्यो भन्दा अलि बढी जटिल हुन सक्छ।
कागहरू ‘मनोग्यामिस’ हुन्छन् अर्थात् अन्यसँग पनि यौन क्रियाकलापमा संलग्न हुनसक्छन् । कागहरू सामाजिक रूपमा एकगामी (socially monogamous) तर आनुवंशिक रूपमा बहुगामी (genetically promiscuous) मानिन्छन्। यसको अर्थ उनीहरू सामान्यतया जीवनभर एउटै साथीसँग बस्छन्, तर आनुवंशिक विश्लेषणले देखाउँछ कि भाले कागहरूले आफ्नो परिवारका लगभग ८०% सन्तानलाई मात्र जन्म दिन्छन्।
८. युवा कागहरू ‘सहयोगी’ को रूपमा सेवा गर्न केही समय घरमै बस्न सक्छन्
अमेरिकी कागहरूले वसन्तको सुरुमा गुँड बनाउन थाल्छन्, तिनीहरूले काठहरूबाट गुँड बनाउँछन् र तिनीहरूलाई घाँस, भुवा वा प्वाँखहरू जस्ता नरम सामग्रीहरूले भित्रबाट अस्तर लगाउँछन्।
युवा कागहरू गुँड छोडेपछि केही महिनासम्म आफ्ना आमाबाबुमाथि निर्भर रहन्छन् । उनीहरू गुँडबाट बाहिर निस्केपछि पनि केही समयसम्म आफ्नो परिवारको नजिकै बस्ने प्रवृत्ति राख्छन्।
यी युवा कागहरूलाई तिनीहरूका आमाबाबुले कडाइका साथ रक्षा गर्छन् । युवा कागहरू अन्ततः आफ्ना आमाबाबुसँग कम समय बिताउन र ठुला बथानहरूसँग बढी समय बिताउन थाल्छन् ।
अधिकांश कागहरूको जनसङ्ख्यामा अघिल्लो वर्षका सन्तानहरूले आफ्ना आमाबाबुलाई नयाँ चल्लाहरू हुर्काउन केही वर्षसम्म मद्दत गर्न जारी राख्छन्। कागको परिवारमा १५ जनासम्म हुन सक्छन्, जसमा पाँच फरक वर्षका सन्तानहरूले सबैले मद्दत गरिरहेका हुन्छन्। यो किन विकसित भयो भन्ने स्पष्ट छैन ।
एजेन्सीहरूको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण