मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको नीतिविरुद्ध अमेरिकाको विभिन्न सहरमा प्रदर्शन

आइतबार, ०२ कात्तिक २०८२, १० : ४२
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा वासिंटन डीसी, न्यूयोर्क लगायतका सहरहरूमा हजारौं नागरिकले प्रदर्शन गरे।
  • प्रदर्शनकारीहरूले 'लोकतन्त्र राजतन्त्र होइन' र 'संविधान वैकल्पिक होइन' जस्ता नारा लगाए भने ट्रम्प समर्थकले प्रदर्शनकारीलाई अति वामपन्थी संगठनसँग जोडे।
  • ट्रम्पले विभिन्न कार्यकारी आदेश जारी गरेपछि आलोचकहरूले उनको प्रशासनका फैसलाहरूलाई असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा भएको दाबी गरे।

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध देशका विभिन्न सहरमा प्रदर्शन भएको छ । वासिंटन डीसी, न्यूयोर्क, शिकागो, मियामी, लस एन्जलस लगायतका सहरमा हजारौँ नागरिक विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

प्रदर्शनकारीले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात् ‘लोकतन्त्र राजतन्त्र होइन’, ‘द कन्स्टिच्यूसन इज नट अप्शनल’ अर्थात् ‘संविधान वैकल्पिक होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

ट्रम्प समर्थकले भने प्रदर्शनकारीको सम्बन्ध अति वामपन्थी संगठन ‘एन्टीफा’सँग रहेको आरोप लगाएका छन् । उनीहरूले यो प्रदर्शन ‘द हेट अमेरिका र्याली’ भनेर आलोचना गरेका छन् ।

विरोध प्रदर्शन आयोजकले ‘नो किङ्ग्स’ प्रदर्शनको मुख्य सिद्धान्त अहिंसा रहेको प्रस्ट पारेको छ । प्रदर्शनकारीलाई सम्भावित झडपलाई कम गर्न पनि आयोजकले निर्देशन दिएको छ ।

न्यूयोर्क प्रहरीका अनुसार सहरको पाँच स्थानमा भएको विरोध प्रदर्शनमा कुल एक लाख जनाभन्दा बढी मानिस सहभागी छन् । विरोध प्रदर्शन शान्तिपूर्ण रहेकाले कसैलाई पनि गिरफ्तार नगरिएको न्यूयोर्क प्रहरीले जनाएको छ ।

ह्वाइट हाउसमा पुनरागमनपछि ट्रम्पले राष्ट्रपति पदको शक्ति प्रयोग गर्दै विभिन्न कार्यकारी आदेश जारी गरेका छन् । उनले कंग्रेसबाट स्वीकृत फन्डीङ रोक्नुका साथै संघीय सरकारमा विभिन्न कटौती र व्यापक मात्रामा ट्यारिफ लागु गरेका छन् । गभर्नरहरूको विरोधका बाबजुद ट्रम्पले विभिन्न सहरमा नेशनल गार्ड्स तैनाथ गरेका छन् ।

ट्रम्पले संकटमा घेरिएको देश पुनर्निर्माणका लागि आफूले यस्तो कदम चालेको ट्रम्पको जिकिर छ । उनले आफूमाथि ‘तानाशाही’ र ‘फाँसीवादी’ भनेर लगाइएको आरोपलाई पनि ‘पागलपन’ भन्दै खारेज गरेका छन् ।

तर उनका आलोचकहरूले ट्रम्प प्रशासनका केही फैसला असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा भएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप