शरदले नुहाएपछि
उज्यालोको वर्षामा
शरदले नुहाएपछि
स्वर्गभन्दा बेहद सुन्दर
र, भव्य भयो पृथ्वी ।
पाँच दिनको छुट्टी लिएर
स्वर्गबाट धरतीमा ओर्लिए यमराज
दियोका उज्यालाहरूमा सुस्ताए क्षणभर
र, मनाए सुखरात्री ।
समाचार ल्याएको बदलामा कागलाई,
सुरक्षा गरेको बदलामा कुकुरलाई,
गाईलाई अमृत दिएको बदलामा,
गोरुलाई जमिन जोतेर अन्न उब्जाइदिएको बदलामा
प्रेमको दुबो र हार्दिकताको फूलअक्षताले
बडो सम्मानका साथ पुजे मानिसहरूले ।
बदलामा ती सबै मानिसहरूलाई
दीर्घायुको आशीर्वाद दिए यमराजले ।
भाइटीकामा सप्तरङ्गी टीका,
सयपत्री र मखमलीको माला लगाएर
यमराजले खेले– कौडा र पासा
र, सिकाए मानिसहरूलाई हारजितको अर्थ र महत्त्व
‘देउसी रे’ भट्ट्याउँदै यमराजले खेले
मानिसहरूसँग देउसीभैलो
टेके हरियो गोबरले लिपेका थुप्रै आँगन र दैलोहरू
साटे आकाशभन्दा फराकिलो प्रेम र आत्मीयताको वैभव
उल्लासले खुब खाए, खुब गाए, खुब नाचे र रमाए औधी ।
यमपञ्चकको अन्तिम रात
अँध्यारोको वर्षामा
शरदले नुहाएपछि
एक्कासि
पृथ्वीभन्दा बेहद सुन्दर
र, भव्य देखियो स्वर्ग
त्यसपछि कसैलाई थाहै नदिई
एक्लै स्वर्गतिर लागे यमराज
र खुरुखुरु ओसार्न थाले
– अघि आफैँले दीर्घायुको आशीर्वाद दिएका मानिसहरूलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण