बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लहान नगरपालिकाद्वारा विपन्न दलित परिवारलाई किरिया खर्च र राहत

सोमबार, ०३ कात्तिक २०८२, ०९ : २७
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • लहान नगरपालिकाले विपन्न दलित र मुसहर समुदायका मृतक परिवारलाई किरिया खर्च र राहत सामग्री दिएको छ।
  • नगरपालिकाले शिवशङ्कर सदायलाई राहत सामग्री र नगद सहित सहयोग गरेको छ, जसले ठूलो राहत दिएको छ।
  • नगर प्रमुख महेश चौधरीले सामाजिक न्याय व्यवहारमा देखाउनुपर्ने बताए र आगामी दिनमा सहयोगलाई व्यवस्थित गर्ने जनाए।

सिरहा । सिरहाको लहान नगरपालिकाले विपन्न दलित र मुसहर समुदायका मृतक परिवारलाई किरिया खर्च र राहत सामग्री दिएर सहयोग गरेको छ। एक हप्ताको अन्तरमा बाबुआमा गुमाएका लहान-१५, लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायलाई नगरपालिकाले आइतबार सहयोग गरेको हो। 

७० वर्षीय बौधु सदाय र क्यान्सर पीडित उनकी श्रीमती कुमारीको निधनपछि दैनिक ज्यालादारी गर्ने शिवशङ्करलाई नगरपालिकाको सहयोगले ठूलो राहत मिलेको छ। नगर प्रमुख महेश चौधरीले स्वयं पीडितको घरमा पुगेर एक क्विन्टल चामल, दाल, नून, तेल लगायतका खाद्यान्न र किरिया खर्चका लागि जनही पाँच/पाँच हजार रुपैयाँ नगद दिएका थिए। 

यस्तै, लहान-२४, मल्हन मुसहरी टोलमा पनि चार दिनअघि निधन भएका ७८ वर्षीय तेजीलाल सदायको परिवारलाई नगर प्रमुख चौधरीले राहत सामग्री र नगद सहयोग दिएका छन्।

नगर प्रमुख चौधरीले नगरपालिकाभित्रका दलित, विपन्न तथा मुसहर समुदायमा कसैको मृत्यु भएमा नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम चलाइरहेको बताएका छन्। उनले 'सामाजिक न्याय केवल योजनामा होइन, व्यवहारमा देखिनुपर्छ' भन्दै हरेक दुःखद घडीमा साथ दिने प्रयास गरेको जनाए। नगरपालिकाले आगामी दिनमा यस्ता सहयोगलाई अझ संस्थागत र व्यवस्थित गर्ने बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप