घरको छतमै छ विद्युत् प्रसारण लाइन, त्रासमा छन् स्थानीय
सारांश
- बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा बिजुलीको प्रसारण लाइन बस्ती माथिबाट गएकोले स्थानीय बासिन्दा जोखिममा छन्।
- प्रसारण लाइनका कारण घर निर्माण गर्न र बैंकबाट ऋण लिन समस्या भएको र पटकपटक प्राधिकरणलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो छ।
- प्राधिकरणले समस्या समाधानका लागि अध्ययन समिति बनाएर काम गरिरहेको र राजमार्ग हुँदै प्रसारण लाइन सार्ने विकल्पमा छलफल भइरहेको छ।
बुटवल । बुटवल उपमहानगरपालिका–३ गोल पार्क, डाँफे पथका कृष्ण श्रेष्ठको घरमाथि बिजुलीको प्रसारण लाइन छ । चट्याङ पर्दा वा हाई भोल्टेज लाइन आउँदा श्रेष्ठको परिवार सधैँ त्रासमा बस्छ ।
सोही वडाका बुद्ध एकता पथका डेबिट अमात्यको घरमा पनि यस्तै त्रास छ। घरको छत माथिबाट तार विस्तार गरिएकाले ठुलो हावाहुरी चल्दा बिजुलीका तार घरका छतमा छुने र खस्ने डर रहेको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणले बुटवलमा घर-घरका बिचबाट लगेको प्रसारण लाइनका कारण बुटवलका वडा नम्बर ३ गोल पार्क र चिडिया खोला तथा वडा नम्बर ४ का गरी ३ सयभन्दा बढी घरपरिवार यस्तो जोखिममा छन् । यस्तै बुटवल राजमार्ग चौराहादेखि रामनगरसम्म पनि यस्तै समस्या छ ।
बस्तीकै बिचबाट लगिएको प्रसारण लाइनले जोखिममा परेको भन्दै बुटवल–३ गोल पार्कका बासिन्दाले पटक–पटक हटाउन माग गरे । तर विद्युत् प्राधिकरणले भने सुन्न नै नखोजेको स्थानीय कृष्ण श्रेष्ठ बताउँछन् ।
बुटवल पावर कम्पनीले पाल्पाको तिनाउ गाउँपालिका दोभानस्थित तिनाउ नदीबाट उत्पादित विद्युत् ल्याउन पावर हाउसदेखि बुटवलको चिडिया खोला हुँदै राजमार्ग चौराहासम्म उक्त प्रसारण लाइन विस्तार गरेको थियो । बाक्लो बस्तीको बिचबाट ल्याइएको ३३ केभीएको हाइटेन्सन लाइनका कारण लामो समयदेखि सयौँ घरपरिवार जोखिममा छन् ।
बुटवल–३ का वडाध्यक्ष विष्णु ढकाल हाइटेन्सन लाइनका कारण वडा नम्बर ३ मा मात्रै ३ सय घरधुरी प्रभावित भएका रातोपाटीलाई बताए। हाइटेन्सन लाइनका कारण नक्सा पास गरेर घर निर्माण गर्न र घरजग्गालाई बैंकमा धितो जमानी राखेर ऋण निकाल्नसमेत नपाइँदा स्थानीयलाई समस्या भएको छ । यस विषयमा उनीहरूले हालै प्राधिकरणमा मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण पनि गराएका थिए ।

हाइटेन्सन लाइनको दुवैतर्फ १५–१५ मिटर क्षेत्रका घर तथा जग्गालाई बैंकहरूले धितोका रूपमा अस्वीकार गर्ने गर्छ । अर्कोतिर घर नजिकैबाट लगिएको हाइटेन्सन लाइनका कारण विद्युतीय दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
प्राधिकरण बुटवलका प्रमुख कपिलराज पाण्डेयले चिडिया खोलादेखि इलाका प्रहरी कार्यालय बुटवलसम्म १८ सय मिटर क्षेत्रफलमा करिब ३ सय घर र राजमार्ग चौराहादेखि रामनगरसम्मको १७ सय मिटर क्षेत्रमा रहेका करिब ३ सय घर जोखिममा रहेका बताए ।
बुटवलको राजमार्ग चौराहा ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पाका लागि बस्तीमाथिबाट लगिएको ३३ केभीए प्रसारण लाइनले जोखिम निम्त्याएको हो । बुटवलको योगिकुटी सबस्टेसनलाई राजमार्ग चौराहामा रहेको सबस्टेसनमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पामा ११ हजार भोल्टको विद्युत् प्रसारण भइरहेको उनले खुलाए । जसका कारण बेलाबेला तार चुँडिएर करेन्ट लागी केही स्थानीयले ज्यानसमेत गुमाएका छन् ।
यो समस्या पुरानो भए पनि प्राधिकरणले ध्यान नदिएको स्थानीयबासीहरूको गुनासो छ । पछिल्लो समय चिडिया खोलाबाट राजमार्ग हुँदै ल्याउन मिल्ने वैकल्पिक रुट निर्माणको सम्भावना पनि रहेको वडाध्यक्ष ढकाल बताउँछन् ।
प्राधिकरण बुटवल प्रमुख पाण्डेयले यो समस्या समाधानका लागि माथिल्लो निकायमा पत्राचार गरिएको जानकारी दिए ।
प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद कुसियतले बुटवलमा घरको छतबाट गएको लाइनका सम्बन्धमा करिब एक महिनाअघि केन्द्रलाई पत्राचार गरिएको र प्राधिकरणको केन्द्रीय कार्यालयको एक टोलीले अध्ययन समिति बनाएर काम गरिरहेको रातोपाटीलाई बताए । विद्युत् लाइन सार्ने कार्य प्रदेश कार्यालयको क्षेत्राधिकार भित्रको काम नभएकाले केन्द्रीय कार्यालयमा पठाइएको उनले खुलाए ।
केन्द्रमा अध्ययन समिति बनेको उल्लेख गर्दै केन्द्र पनि बुटवलको समस्याबारे गम्भीर भएको आफूले जानकारी पाएको र केन्द्रले केही दिनमा निर्णय गर्न सक्ने बताए । विगतमा बस्तीको बिचबाट लैजानुपर्ने बाध्यता भए पनि अहिले राजमार्ग हुँदै लैजान सकिने रुट रहेकोले लामो समय नलाग्ने उनले प्रस्ट्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण