बीपी राजमार्गको विकल्प मध्यपहाडी हुन सक्ला ?
सारांश
- बीपी राजमार्ग बाढीले फेरि ध्वस्त भएपछि यात्रुले दोब्बर भाडा तिरेर लामो दूरीको यात्रा गर्न बाध्य भए।
- मध्यपहाडी राजमार्ग बीपीको विकल्प हुन सक्ने भए पनि निर्माण सम्पन्न नहुँदा समस्या भएको छ, तर यसको ८१.७३ प्रतिशत काम सकिएको छ।
- विज्ञहरूले बीपी र मध्यपहाडी दुवैको महत्व रहेको र दुवैको निर्माणमा जोड दिनुपर्ने बताएका छन्।
काठमाडौँ । गत असोजको तेस्रो साता अविरल वर्षासँगै आएको बाढीले बीपी राजमार्ग पुनः ध्वस्त बन्यो । दसैँ मनाउन मानिस गाउँ गएका बेला राजमार्ग ध्वस्त बनेपछि फर्किँदा यात्रुहरूले निकै सास्ती भोग्नुपर्यो ।
बीपी राजमार्गको विकल्पमा खुर्कोट–मन्थली–चरिकोट–दोलालघाट–धुलिखेल र मदनभण्डारी राजमार्ग प्रयोग गरी दोब्बर भाडादरमा यात्रुहरू जसोतसो काठमाडौँ भित्रिन बाध्य भए । भाडामात्र होइन, दूरी पनि दोब्बर नै हो ।
गत वर्ष पनि दसैँअघि राजमार्ग अवरुद्ध हुँदा यात्रुले निकै सास्ती भोग्नुपरेको थियो । सिन्धुली, रामेछाप, उदयपुर, ओखलढुङ्गा, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाका मानिसहरू काठमाडौँ–धुलिखेल–दोलालघाट–चरिकोट–किर्ने हुँदै मन्थली रामेछाप–सित्खापुल तरेर खुर्कोट सिन्धुली हुँदै दोब्बर भाडादरमा आवतजावत गरेका थिए ।
बीपी राजमार्गको विकल्पमा काठमाडौँ जोड्ने लामो दूरीका सडक मात्र छन् । पूर्वीपहाडी जिल्लाका लागि बीपीको विकल्प हुन सक्ने मध्यपहाडी राजमार्ग हुन सक्ने विज्ञहरू बताउँछन् । तर यो राजमार्ग लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको छैन ।अघिल्लो वर्ष असोजको दोस्रो साताको बाढीले ध्वस्त पारेको यो सडक पुनः ध्वस्त छ । र अस्थायी ट्र्याक निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । साँघुरो सडक भएकाले जाम उस्तै छ । त्यसमाथि धुलोका कारण यात्रुले निकै सास्ती भोग्नुपर्छ ।
विकल्पमा मध्यपहाडी
पूर्वी पहाडी जिल्लाहरूबाट काठमाडौँ आउने–जाने यात्रुहरूका लागि मध्यपहाडी राजमार्ग बीपीको एक मात्र विकल्प भएकाे पूर्वाधारविज्ञ आशिष गजुरेल पनि बताउँछन् ।
बीपी र मध्यपहाडी दुवैको आ–आफ्नै महत्त्व रहेकाले दुवैको निर्माणमा उत्तिकै जोड दिनुपर्ने उनको भनाइ छ । गजुरेलले बीपी राजमार्गको करिब १२ किलोमिटर ध्वस्त भएकाले उक्त खण्ड टिकाउ हुने गरी अध्ययन गरेर निर्माण गरिनुपर्ने बताए ।
‘सडक निर्माण अन्धाधुन्द काम गर्न हुँदैन, बिग्रिएका खण्डमा प्राविधिक अध्ययन गरी अहिलेको जस्तो बाढीले क्षति नगर्ने खालको निर्माण गर्नुपर्छ,’ गजुरेल भन्छन्, ‘बरु बाटो घुमाएर लग्न किन नपरोस् ।’
डिजाइन परिवर्तन वा थप अध्ययन गर्नुपर्ने बताइरहँदा दीर्घकालीन समाधानका उपायहरू खोज्नुपर्नेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कति बन्यो मध्यपहाडी राजमार्ग ?
करिब १ हजार ८७९ किलोमिटर लम्बाइको यो राजमार्ग पाँचथर जिल्लाको चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । चियोभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । तर यो सडक समयमा निर्माण सम्पन्न हुन नसक्दा देशका पहाडी जिल्लाका नागरिकहरू सडक सञ्जाल प्रयोगबाट वञ्चित छन् ।
मध्यपहाडीको कुल सडकमध्ये खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक खण्डको करिब ३४० किलोमिटर सडक महत्त्वपूर्ण मानिन्छ । यो सडक निर्माण सम्पन्न भएको भए हाल बीपीको विकल्पमा सहजै प्रयोग गर्न सकिन्थ्यो । तर करिब ६० किलोमिटर सडक स्तरोन्नतिको कार्य र ६ वटा पुल निर्माण हुन नसक्दा मध्यपहाडी राजमार्ग प्रयोग गर्न सकिएको छैन ।
यसको हालसम्म भौतिक प्रगति ८१.७३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । यो राजमार्ग निर्माणका लागि २०६४/६५ बाट सुरु भएको र २०७३/७४ सम्म अन्तिम म्याद रहेको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८४/८५ सम्मका लागि म्याद थप गरिएको छ ।
मध्यपहाडीको कुल सडकमध्ये खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक खण्डको करिब ३४० किलोमिटर सडक महत्त्वपूर्ण मानिन्छ । यो सडक निर्माण सम्पन्न भएको भए हाल बीपीको विकल्पमा सहजै प्रयोग गर्न सकिन्थ्यो । तर करिब ६० किलोमिटर सडक स्तरोन्नतिको कार्य र ६ वटा पुल निर्माण हुन नसक्दा मध्यपहाडी राजमार्ग प्रयोग गर्न सकिएको छैन ।
मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा रामेछापका प्रमुख विदुर पोखरेलका अनुसार यो खण्डको ६० किलोमिटरमध्ये ४२ किलोमिटर सडकको ठेक्का प्रक्रिया अघि बढेको छ । करिब १८ किलोमिटर सडकको ठेक्का यसै वर्षमा हुने पोखरेल बताउँछन् ।
ठेक्का लागेको खण्डमा निर्माण कार्य जारी छ । आयोजना प्रमुख पोखरेलका अनुसार खुर्कोटबाट सेलेघाट हुँदै दोलालघाटसम्म ४२ किलोमिटर सडक खण्डको ठेक्का लागिसकेको छ र यसमा निर्माण कार्य भइरहेको छ । यस खण्डलाई आर्थिक वर्ष २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘यो खण्डको थप ४२ किलोमिटर सडक र ६ वटा पुलको ठेक्का लाग्न बाँकी छ । यी ठेक्काहरू यस वर्ष लाग्छ र त्यसपश्चात् सम्पन्न हुन दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।’
आयोजना प्रमुख पोखरेलका अनुसार हाल मूलकोटबाट सुनकोसीको पुल तरेर, सित्खा हुँदै सिन्धुरे टारसम्म (अर्को पुल प्रयोग गरी) र फेरि सुनकोसी फर्किएर मध्यपहाडी लोकमार्गको २०–२५ किलोमिटर खण्ड प्रयोग हुँदे आएको छ ।
यद्यपि, सिन्धुरेटारदेखि दोलालघाटसम्म करिब ६० किलोमिटर खण्डमा खानीखोला र चौरिखोलालगायत स्थानमा निर्माण कार्य भइरहेकाले यातायात सञ्चालन गरिएको छैन । तर हिउँदमा डाइभर्सनहरूको प्रयोग गरी स्थानीय गाडीहरू चलिरहेका छन् ।
यी जिल्लालाई फाइदा?
सिन्धुली–रामेछाप–काभ्रेपलान्चोक–सिन्धुपाल्चोक खण्डको निर्माण सम्पन्न भए ओखलढुंगा सोलुखुम्बु, खोटाङ र भोजपुरजस्ता पूर्वी जिल्लाहरूका लागि मध्यपहाडी राजमार्ग एउटा राम्रो विकल्प बन्न सक्ने प्रमुख पोखरेलले बताए । यद्यपि, उदयपुरका लागि भने हेटौँडा हुँदै मदन भण्डारी राजमार्ग छोटो विकल्प रहेको उनको भनाइ छ ।
अहिले यी जिल्लाका केही नागरिकहरूले सिन्धुलीसम्म मध्यपहाडी र त्यसयता बीपी राजमार्ग प्रयोग गरी काठमाडौँ आउजाउ गर्ने गरेका छन् ।
दोलालघाटबाट नुवाकोटतर्फ अगाडि बढ्ने पनि पोखरेलले स्पष्ट पारे । उनले दुवै राजमार्गको आ–आफ्नै महत्त्व रहेको र मध्यपहाडी राजमार्गले बीपी राजमार्गको पूरकका रूपमा आपतकालीन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण