मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एक समयकी हेभी मेटल ड्रमर जापानको पहिलो महिला प्रधानमन्त्री बन्दै

मङ्गलबार, ०४ कात्तिक २०८२, ०९ : ४७
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • जापानमा पहिलो महिला प्रधानमन्त्री चयनका लागि संसदमा मतदान हुँदैछ।
  • सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीकी सानाए ताकाइची प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ।
  • मतदान दिउँसो १:३० बजे सुरु हुनेछ, र बहुमत प्राप्त नगरे शीर्ष दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ।

टोकियो । जापानमा पहिलो महिला प्रधानमन्त्री चयनका लागि संसदमा ऐतिहासिक मतदानको तयारी भइरहेको छ। विधायकहरूले केही समयपछि नै देशको पहिलो महिला प्रधानमन्त्री चयन गर्ने अपेक्षा गरिएको छ। 

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सानाए ताकाइची प्रधानमन्त्री बन्ने अपेपक्षा गरिएको छ। ताकाइचीको पार्टी एलडीपी र जापान इनोभेसन पार्टी (जेआपी) बिच रातारात भएको सहमतिका कारण उनी प्रधानमन्त्रीको कार्यालयका लागि आवश्यक बहुमतभन्दा दुई मत मात्र पछि छिन्।

४६५ सिटको तल्लो सदनमा बहुमतका लागि २३३ मत आवश्यक पर्छ, जबकि २४८ सिटको माथिल्लो सदनमा बहुमतका लागि १२४ मत चाहिन्छ।

स्थानीय समयअनुसार दिउँसो १:३० बजे मतदानको पहिलो चरण सुरु हुँदैछ। यदि कुनै उम्मेदवारले पहिलो चरणमा बहुमत सुरक्षित गरेमा उही प्रधानमन्त्री निर्वाचित हुनेछन्। यदि बहुमत प्राप्त नभएमा, शीर्ष दुई उम्मेदवारहरू बिच दोस्रो चरणको मतदान हुनेछ र जसले धेरै मत प्राप्त गर्छ, उही विजयी हुनेछ। दोस्रो चरणको मतदान स्थानीय समयअनुसार दिउँसो २:३० बजेका लागि तय गरिएको छ।

संसदले नयाँ प्रधानमन्त्री चयन गरेपछि नयाँ सरकारले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू घोषणा गर्नेछ। त्यसपछि उनीहरू शाही दरबारमा प्रमाणीकरण समारोहका लागि जानेछन् र पहिलो मन्त्रिपरिषद् बैठक बस्नेछ। नयाँ प्रधानमन्त्रीको पत्रकार सम्मेलन भने आज अबेर राति मात्र हुने अपेक्षा गरिएको छ।

सन् १९६१ मा नारा प्रिफेक्चरमा जन्मेकी ताकाइचीका बुबा कार्यालय सहयोगी र आमा प्रहरी अधिकृत थिइन्। उनको बाल्यकाल राजनीतिभन्दा धेरै टाढा थियो। 

उनी एक समयमा हेभी मेटल ड्रमरका रूपमा परिचित थिइन् र तीव्र ड्रमिङका क्रममा स्टिकहरू भाँच्ने भएकाले धेरै स्टिक बोक्ने गर्दा उनी प्रसिद्ध थिइन्।

उनको राजनीतिक प्रेरणा सन् १९८० को दशकमा अमेरिका-जापान व्यापार द्वन्द्व चरमोत्कर्षमा पुगेका बेला आयो। उनले सन् १९९६ मा एलडीपी बाट संसदीय सिट जितेकी थिइन्। 

त्यसबेलादेखि उनले एकपटक मात्र पराजित हुँदै १० पटक सांसदको रूपमा निर्वाचित भइन् र पार्टीको सबैभन्दा मुखर रूढिवादी आवाजको रूपमा ख्याति कमाएकी छिन्। दुई असफल प्रयासपछि उनी एलडीपी को नेता चुनिएकी थिइन्, जसले उनको प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गर्‍यो। 
आजको मतदानमा उनी प्रधानमन्त्रीको रूपमा अनुमोदित हुने व्यापक अपेक्षा गरिएको छ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप