… अनि आयो मिठ्ठुमायाको घरमा तिहार
सारांश
- मकवानपुरको मनहरी गाउँपालिकाकी मिठ्ठुमाया सुनारले मुख्यमन्त्रीबाट नयाँ घर पाइन्।
- मिठ्ठुमायाले दुःखका कारण घर बनाउन नसकेपछि मुख्यमन्त्रीले घर बनाइदिएका हुन्।
- घर निर्माणमा मुख्यमन्त्री, प्रकाश बर्तौला र अन्य सहयोगीको योगदान रहेको थियो।
हेटौंडा । नयाँ घर, त्यसको पिंढीमा सानो स्टेज । अनि त्यस अगाडि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहितका व्यक्तिहरुसँगैको लहरमा कुर्सीमा बसेकी छिन् मिठ्ठुमाया सुनार । मकवानपुरको मनहरी गाउँपालिकाकी ३२ वर्षीया मिठ्ठुमायाको मुहारमा दु:खपछि अथाह खुसी छचल्किरहेको छ ।
औपचारिक कार्यक्रमको अन्त्यतिर माइक पाएकी मिठ्ठुमाया सबैलाई धन्यवाद प्रकट गर्दै थिइन् । त्यसैबेला मिठ्ठुमायाको घरको दायाँतर्फबाट केही भान्साका सामानहरु ल्याइन्छ । जसले उनलाई थप भावुक बनाउँछ ।
भावुक भावमा आँसु झार्दै मिठ्ठुमाया बोल्छिन्, ‘यहाँ आउनु हुने सबैलाई धन्यवाद । मेरो दुःखलाई बुझेर घर बनाइदिने मुख्यमन्त्रीलाई धन्यवाद । आफ्नो घर जल्दै गर्दा जिम्मेवारी सम्झेर मेरो लागि काम गर्नुहुने उहाँलाई धेरै धेरै धन्यवाद । आफ्नै बहिनी जसरी सहयोग गर्ने प्रकाश दाइलाई धन्यवाद । मन्त्री विनु दिदीले पनि सहयोग गर्नुभएको छ । उहाँलाई पनि धन्यवाद ।’
जहाँ बसेर मिठ्ठुमाया धन्यवाद भन्दै थिइन्, त्यही स्थानमा थियो उनको घर । ४५ दिनअघि भत्किन लागेको काठ र कतरले बारेको घरमा बसेर जेनतेन जीविका चलाएकी उनले तिहारको पहिलो दिन आइतबार जस्ताले छाएको, ब्लकको गारोमा प्लास्टर गरेको, आरसीसी ढलान र पिल्लर भएको तीन कोठाको घर पाएकी थिइन् । जंगल छेउमा रहेको घरमा मिठ्ठुमाया र उनका पाँच जना सन्तान बस्छन् ।
मिठ्ठुमाया एकल महिला हुन् । गरिबी र दुःखका कारण उनका श्रीमाले पाँच वर्षअघि आत्महत्या गरे । पाँच छोराछोरीको पालनपोषणको अभिभारा सबै मिठ्ठुमायाको काँधमा पर्यो । उनका साइला छोरामा अपाङ्गता छ । जसोतसो जीविका चलाएकी मिठ्ठुमायाको भत्किन लागेको घर बनाउने सामर्थ्य थिएन । ज्यालापर्व, खेतीपातीबाटै आफू र छोराछोरीको भोक मेटाएकी उनका लागि नयाँ घर सपना जस्तै थियो ।
मकवानपुरको मनहरी–९ ज्यामिरेमा आइतबार उनको सपना साकार भएको थियो । बिहान ९ बजे हरियो रंगको घर अघिल्तिर केही प्लास्टिका कुर्सी थिए भने केही मानिस जम्मा भएका थिए । दुईतले स्पिकरमा गीत बज्दै थियो ‘तिहारै आयो लौ झिलिमिली, भैलिनी आइन् आँगन’ ।

गीत बज्दाबज्दै रोकेर एक व्यक्ति कार्यक्रमलाई औपचारिकता दिन अघि बढे । उनले बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती लगायतको नाम बोलाएर घर अगाडि राखिएको कुर्सीमा आसन गर्न आग्रह गरे । गुलाबी कुर्ता लगाएकी ३३ वर्षीया मिठ्ठुमायालाई पनि मुख्यमन्त्री बानियाँसँगैको कुर्सीमा राखियो ।
१४ वर्षको उमेरमा विवाह भएकी मिठ्ठुमायाको १५ वर्षकै उमेरमा पहिलो सन्तानको जन्म भयो । चार छोरा र एक छोरी भए मिठ्ठुमाया दम्पतीका । घरको आर्थिक स्थिति कमजोर र धेरै सन्तान, परिवार चलाउन निकै सकस थियो । यसैबिच श्रीमानको मृत्यु भएपछि उनीसामु दु:खका पहाड उभिए । सन्तानको पालनपोषण र घरको सम्पूर्ण बोझ उनीमाथि रह्यो ।
‘पहिलो यहाँ झुप्रो घर थियो । पानी पर्दा चुहिने, हावा चल्दा भत्किएला जस्तो हुन्यो । डर लाग्थ्यो । जसोतसो छोराछोरीको टाउको लुकाउँदै आएकी थिएँ,’ उनले सुनाइन्, ‘दुई छाक टार्न त मुस्किल थियो । पक्की घर बनाउने कुरा सोचेको थिइनँ ।’

मुख्यमन्त्री बानियाँले आफूले तलबभत्ता नलिने र उक्त रकमले गरिब जनताको घर बनाइदिने घोषणा गरेका थिए । सोही क्षेत्रबाट निर्वाचित बानियाँलाई मिठ्ठुमायाको घर निर्माणका लागि मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले सिफारिस गरे । गाउँपालिकाको सिफारिसमा मिठ्ठुमायाको घर बनाइदिने निर्णय गरेका मुख्यमन्त्री बानियाँले त्यस कामको जिम्मेवारी कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौलालाई सुम्पे ।
घर बनाउने जिम्मेवारी पाएका बर्तौलाले सरकारी मूल्यांकनको ७ लाख ५० हजार रुपैयाँ लागत अनुमानको उक्त घर मुख्यमन्त्रीको तलब, व्यक्तिगत लगानी र केही अन्य सहयोगमा ४ लाख ६५ हजार रुपैयाँमा तयार गरे । दसैंअघि नै सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त घर जेनजी आन्दोलनका कारण १५ दिन ढिला भएको बर्तौलाले बताए । तिहारको उपहारस्वरुप आइतबार मुख्यमन्त्री बानियाँले मिठ्ठुमायालाई घरको चाबी थमाए ।

चाबी लिँदै मिठ्ठुमायाले भनिन्, ‘मैले कहिल्यै सोचेको थिइनँ कि मेरा छोराछोरीले यस्तो घरमा बस्न पाउलान् । मुख्यमन्त्रीज्यूले हामीजस्ता दुःखीको लागि सोच्नुभयो, म उहाँलाई कहिल्यै बिर्सन्न ।‘ मुख्यमन्त्री बानियाँले बाख्रा पालेर जीविका चलाउन भन्दै २० हजार रुपैयाँ नगद पनि मिठ्ठुमायालाई सहयोग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण