नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी
सारांश
- नवलपरासी जिल्लामा मनसुन निष्क्रिय भएसँगै स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ।
- जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म ४४ जना स्क्रब टाइफसबाट संक्रमित भएका छन्, जसमा ६ जना अस्पतालमा उपचाररत छन्।
- रोग नियन्त्रणका लागि सावधानी अपनाउनुपर्ने र माइटको टोकाइबाट बच्न सुझाव दिइएको छ।
नवलपरासी । मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् ।
कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए । “पछिल्लो २० दिनमा स्क्रब टाइफसबाट नवलपुरमा २७ जना सङ्क्रमित भएका छन्”, उनले भने, “स्क्रब टाइफसको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ ।” सङ्क्रमितमध्ये हालसम्म ३८ जना निको भइसकेका भन्दै सूचना अधिकारी सुवेदीले छ बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।
जिल्लामा डेङ्गी सङ्क्रमण न्यून भए पनि स्क्रब टाइफस एक्कासि बढ्दै गएको भन्दै सुवेदीले यस रोगबारे सावधानी अपनाउनुपर्ने बताए । स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दो जुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि डेङ्गीभन्दा ३० गुणा बढी घातक भएको उहाँले बताउनुभयो । यो रोग मानिसमा एक प्रकारको ‘माइट’ (किर्ना)ले टोक्दा ‘ओरेनसिया सुसुगामुसी’ भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग भएको सुवेदीको भनाइ छ ।
कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले विगतका वर्षमा स्क्रब टाइफस सामान्य रुपमा देखिएको भए पनि अहिले यो रोग एक हप्तामा १० जनामा देखिएपछि महामारी हुन नदिन सतर्कता अपनाइएको बताए । समयमै यसको उपचार हुन नसकेमा सङ्क्रमित बिरामीको ज्यान जानसक्ने जोखिम रहेको सिंहको भनाइ छ ।
यस रोगको विरुद्धमा कुनै पनि खोप उपलब्ध नभएको भन्दै उनले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस सङ्क्रमित माइटको टोकाइबाट बच्नु भएको बताए । स्क्रब टाइफस रोग सार्ने माइटहरु स–साना बोट बिरुवाका झाडी तथा झाडीमा बस्ने मुसाका कानमा पाइने हुनाले सकेसम्म यस्ता झाडी भएका ठाउँबाट टाढा रहनु सिंहले सुझाव दिए।
घर बाहिर यस्ता ठाउँमा काम गर्नुपरेमा माइट निवारक स्प्रे प्रयोग गरेर काम गर्नुपर्ने सिंहको भनाइ छ । शरीरमा रातो बिबिरा आउने, टाउको दुख्ने, जिउ गल्ने, मांसपेसी दुख्ने, टोकेको ठाउँमा रातो दाग देखिने तथा १०४ डिग्री ‘फरेनहाइट’भन्दा बढी ज्वरो आउने यस रोगको लक्षण भएको उनले बताए ।
स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने भन्दै उनले दुखाइ कम गर्ने औषधि सेवन गर्न नहुने बताए । अस्पताल गएर चिकित्सकको परामर्शमा मात्रै औषधि खाएमा रोग निको हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण