समयमात्र नभएर ‘विरासत र शक्ति’ देखाउने घडी, यी हुन् महँगा १४ ब्रान्ड
सारांश
- मन्त्रीको घडी विवादपछि 'यो रोलेक्स होइन' ट्रेन्ड चल्यो, जसले विलासी घडीको चर्चा गर्यो।
- लेखमा विभिन्न १४ ब्रान्डका घडीहरू, तिनको विशेषता, मूल्य र निर्माण प्रक्रियाबारे जानकारी दिइएको छ।
- घडी अब समय हेर्ने मात्र नभई प्रतिष्ठा र शक्तिको प्रतीक बनेको कुरालाई जोड दिइएको छ।
काठमाडौँ । बजारमा यतिवेला घडीको चर्चा छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लगाएको घडीको विषयमा आलोचना भएपछि सामाजिक सञ्जालमा ‘यो रोलेक्स होइन’ भन्ने ट्रेन्ड नै चल्यो ।
शिक्षामन्त्री महावीर पुनले समेत आफूले गिफ्ट पाएको रोलेक्स घडी देखाउँदै ‘लगाएर हिँडेको भए बर्बादै हुने रहेछ’ भन्ने अभिव्यक्ति दिए ।
घडीको मुख्य काम समय देखाउने हो । पछिल्लो समय मोबाइलको प्रचलन आएपछि समयकै लागि घडी बोक्नुपर्ने बाध्यता घट्दै गएको छ । यसले गर्दा कम मूल्य भएका घडीको मागमा पनि कमी आएको छ ।
तर, महँगा र विलासी घडीको माग र मूल्य भने घट्नुको सट्टा झनै बढ्दै गएको छ । कारण हो– यसलाई विलासी वस्तुको रूपमा प्रयोग गर्न थालिएको छ ।
आजकल घडी समय जान्नका लागि होइन, विरासत र शक्ति देखाउने माध्यम बन्न थालेको छ ।
यहाँ हामी यस्ता १४ घडीको बारेमा चर्चा गर्दैछौँ, जसको इञ्जिनियरिङ, डिजाइन र मूल्यसमेतको कारणले विश्वभर चर्चित छन् । यी विलासी घडी ब्रान्डले विज्ञापन गर्दैनन्, सेलिब्रेटीलाई पछ्याउँदैनन् । कसैले यो उत्पादन किन्न सक्छ कि सक्दैन भन्ने पनि उनीहरू वास्ता गर्दैनन् । तिनीहरूको ध्यान केवल शताब्दिऔँदेखि आफ्नो शिल्पलाई पूर्णता दिनमा केन्द्रित छ । तिनीहरूको मुख्य विशेषता नवप्रवर्तन र मेकानिकल जटिलतामा निहित छ ।
१. ग्राफ
ग्राफ एक बेलायती कम्पनी हो, जसले सुरुमा गहना (ज्वेलरी) बनाउने काम गर्थ्यो । यो कम्पनी सन् १९६० मा स्थापना भएको हो र सन् २००९ देखिमात्रै घडी बनाउन थाल्यो । ग्राफको घडीहरूमा हिरा र रत्न जडिएका हुन्छन् । यसको मूल्य २० हजारदेखि साढे ५ करोड अमेरिकी डलरसम्म पर्छ, जसले यसलाई विश्वकै सबैभन्दा महँगो घडीमध्ये एक बनाएको छ ।

ग्राफ घडीमा क्वाट्र्ज मुभमेन्ट (ब्याट्रीबाट चल्ने प्रविधि) प्रयोग गरिएको हुन्छ । यहाँ मेकानिकल जटिलताभन्दा पनि हिराको चमक, डिजाइन र गहनाको भव्यता मा जोड दिइन्छ । एउटा ग्राफ घडीमा १५२.९६ क्यारेटको सेतो हिरा प्रयोग गरिएको छ । यसको मुख्य उद्देश्य समय देखाउनु मात्र नभई घडीलाई ‘पहिरिन मिल्ने कलाकृति’ वा गहनाको रूपमा प्रस्तुत गर्नु हो ।
२. पटेक फिलिप
यो स्विजरल्याण्डको सबैभन्दा प्रतिष्ठित घडी ब्रान्डमध्ये एक हो । यसको कम्पनी सन् १८३९ मा स्थापना भएको हो । यो घडीको मूल्य १८ हजार ६०० अमेरिकी डलरबाट सुरु हुन्छ । पटेक फिलिपका घडीहरू हातले बनाइएका, अत्यन्तै जटिल र कलात्मक हुन्छन् । यसमा इनहाउस मुभमेन्ट (कम्पनीले आफैँ बनाएको मेकानिजम) र सजावटी हस्तकला मुख्य विशेषता हुन् ।

यसको प्रसिद्ध मोडल ‘ग्य्रान्डमास्टर चाइम ६३००ए–०१०’ सन् २०१९ को च्यारिटी लिलामीमा ३ करोड १० लाख अमेरिकी डलरमा विक्री भएको थियो– जुन संसारकै सबैभन्दा महँगो हाते घडीमध्ये एक हो । कुनैकुनै मोडलमा १,३०० भन्दा बढी पार्ट हुन्छन् र तिनले एकै केसमा २० भन्दा बढी जटिलता (कम्प्लिकेसन्स) समेटेका हुन्छन् । पटेक फिलिपको नारा नै हो–You never actually own a Patek Philippe, you merely look after it for the next generation. यसको अर्थ यो घडी इतिहास र परम्पराको प्रतीक हो ।
३. ब्रेगे
ब्रेगे ब्रान्ड सन् १७७५ मा पेरिसमा अब्राहम–लुई ब्रेगेले स्थापना गरेका थिए । यसलाई युरोपेली राजपरिवारको मनपर्ने ब्राण्ड मानिन्छ । यसको घडीको मूल्य १५ हजार अमेरिकी डलरबाट सुरु हुन्छ । नेपोलियन बोनापार्ट, रानी मारी एन्टोइनेट जस्ता चर्चित व्यक्तिहरू यसका ग्राहक थिए ।

यसको सबैभन्दा प्रसिद्ध घडी ‘मारी एन्टोइनेट पकेट वाच’ हो, जसलाई बनाउन ४० वर्ष लागेको थियो । अहिले यसको अनुमानित मूल्य ३ करोड अमेरिकी डलर छ । ब्रेगे घडीहरूमा उच्चस्तरको सामग्री, राजसी डिजाइन र अत्यन्त सुक्ष्म प्रिसीजन प्रयोग गरिन्छ । यसको घडीहरू आज पनि ‘राजसी शिल्पको प्रतीक’ मानिन्छ ।
४. एफपी जर्न
एफपी जर्न फ्रान्समा जन्मेका फ्राँस्वा–पोल जर्नले सुरु गरेको ब्रान्ड हो । कम्पनीले सन् १९९९ देखि घडी उत्पादन गर्दै आएको छ । यसको मूल्य १५ हजार अमेरिकी डलरबाट सुरु हुन्छ । एफपी जर्नका घडी सीमित संख्यामा बनाइन्छ– वर्षमा ९०० भन्दा कम ।

यो ब्रान्डका घडी हातले बनाइन्छ र प्रत्येक मुभमेन्ट उच्च शुद्धताका साथ तयार हुन्छ । यसको प्रसिद्ध मोडल ‘टूरबिलोन सुभरेन’ मा ‘रेमान्टोअर डी इगालिटे’ नामक विशेष प्रणाली हुन्छ, जसले मुभमेन्टमा ऊर्जाको प्रवाहलाई स्थिर राख्छ– जसले गर्दा समय अत्यन्तै सटिक देखाउँछ ।
सन् २०१९ मा यसको ‘एस्ट्रोनोमिक ब्लू’ मोडल १ करोड ९० लाख अमेरिकी डलरमा च्यारिटी लिलामीमा विक्री भएको थियो ।
५. जेकब एन्ड को
यो संयुक्त राज्य अमेरिकामा बनेको आधुनिक लक्जरी घडी ब्रान्ड हो । यसको मूल्य ५ हजार अमेरिकी डलरबाट सुरु हुन्छ । जेकब एन्ड कोले परम्परागत डायलको सट्टा घडीलाई ‘मिनिएचर वर्ल्ड’ (सानो संसार) जस्तो बनाउँछ । यसको प्रसिद्ध सिरिज ‘एस्ट्रोनोमिया’ हो, जसमा घडीभित्र सौर्यमण्डल घुमिरहेको देखिन्छ ।

फ्लोइड मेवेदर (बक्सर) ले यसको १ करोड ८० लाख डलर मूल्यको घडी आफ्नो संग्रहमा राखेका छन् । यसका घडीहरू डिजाइन, हेराइ र रचनात्मकताको हिसाबले अत्यन्तै फरक र आकर्षक हुन्छन् ।
६. रोलेक्स
रोलेक्सलाई धेरैजसो मानिसले लक्जरी घडीको प्रतीकको रूपमा चिन्छन् । यो कम्पनी सन् १९०५ मा लन्डनमा स्थापना भएको थियो । यसको मूल्य ५ हजार अमेरिकी डलरबाट सुरु हुन्छ ।
रोलेक्सले सन् १९२६ मा विश्वकै पहिलो पूर्ण वाटरप्रुफ घडी ‘ओइस्टर’ बनायो । यसको ‘ओइस्टर केस’ डिजाइनमा स्क्रू–डाउन क्राउन, केस ब्याक र बेजेलको संयोजन हुन्छ, जसले घडीलाई पानीबाट पूर्ण सुरक्षा दिन्छ ।

रोलेक्सले आफ्ना घडीहरूका लागि ९०४ एल स्टिल प्रयोग गर्छ, जुन अरू ब्रान्डले प्रयोग गर्ने स्टिलभन्दा बढी बलियो र खिया प्रतिरोधी हुन्छ । यसको टिकाउपन, पुनर्विक्री मूल्य र विश्वव्यापी लोकप्रियताका कारण यो सबैभन्दा चिनिएको लक्जरी ब्रान्ड हो ।
७. ए. लान्गे एन्ड सोहने
यो जर्मन लक्जरी ब्रान्ड हो, जसको सुरुवात सन् १८४५ मा भएको हो । यसको मूल्य १७ हजार ३०० अमेरिकी डलरबाट सुरु हुन्छ । ए. लान्गे एन्ड सोहनेका घडीहरू पूर्ण रूपमा मेकानिकल हुन्छन्– क्वार्ट्ज (ब्याट्री) प्रयोग हुँदैन ।

यसको डिजाइनमा तीन चौथाइ प्लेट भन्ने जर्मन शैलीको संरचना हुन्छ, जसले मुभमेन्टलाई स्थिर बनाउँछ । यसमा प्रयोग हुने धातु जर्मन सिल्भर हुन्छ र ब्यालेन्स कक (घडीको भाग) हातले नक्काशी गरिएको हुन्छ । यो ब्रान्ड जर्मन अनुशासन र इन्जिनियरिङ उत्कृष्टताको प्रतीक मानिन्छ ।
८. रिचर्ड मिल
रिचर्ड मिल एक फ्रान्स÷स्विजरल्याण्डमा आधारित आधुनिक ब्रान्ड हो । यसको मूल्य ६० हजार अमेरिकी डलरबाट सुरु हुन्छ । यो ब्रान्डले घडी निर्माणका परम्परागत नियमहरूलाई तोड्दै एरोस्पेस र फर्मुला–१ कारमा प्रयोग हुने हलुका तर बलिया सामग्रीजस्तै टाइटेनियम र कार्बन फाइबर प्रयोग गर्छ ।

यसका घडीहरू झट्का सहन सक्ने, हलुका र अत्यन्तै प्रविधियुक्त हुन्छन् । ‘आरएम ५६–०२ स्याफायर’ मोडलको केस पूर्ण रूपमा स्याफायर क्रिस्टलबाट बनेको हुन्छ, जसले घडीलाई पारदर्शी बनाउँछ । यसको डिजाइन भविष्यवादी र साहसी देखिन्छ ।
९. ओटोमार पिके
यो सन् १८७५ मा स्विजरल्याण्डमा स्थापित लक्जरी ब्रान्ड हो । यसको मूल्य २० हजार ७०० अमेरिकी डलरबाट सुरु हुन्छ । सन् १९९३ मा यसले ‘रोयल ओक अफशोर’ नामक नयाँ मोडल ल्यायो, जसले लक्जरी स्पोर्ट घडीको अवधारणालाई नयाँ रूप दियो ।

यसको ‘रोयल ओक’ मोडल अष्टभुज आकारको हुन्छ र बाहिर देखिने ८ वटा स्क्रूहरूले कसिएको बेजेल हुन्छ । यो बलियो, टिकाउ र डिजाइनका हिसाबले विशिष्ट मानिन्छ ।
१०. डेभिड क्यान्डोक्स
तेस्रो पुस्ताका वाचमेकर डेभिड क्यान्डोक्सले यो ब्रान्ड सन् २०१७ मा सुरु गरेका हुन् । यसको मूल्य २ लाख अमेरिकी डलरबाट सुरु हुन्छ, जसले यसको सीमित र विलासी प्रकृति देखाउँछ ।

यसका घडीहरूमा ‘इन्क्लाइन्ड टुरबिलोन’ प्रविधि हुन्छ, जसमा घडीभित्र टुरबिलोन (समयको सटिकता बढाउने प्रणाली) कोणमा राखिन्छ, जसले समय अझ शुद्ध देखाउँछ । घडीमा ‘म्याजिक क्राउन’ भन्ने विशेषता पनि हुन्छ । यी घडी हातले बनाइएका, सीमित संस्करणका र उच्च इन्जिनियरिङका उत्कृष्ट उदाहरण हुन् ।
११. पीटरम्यान बेडाट
यो नयाँ पुस्ताका स्विस घडी निर्माता युवाहरूको ब्रान्ड हो । यसको पहिलो मोडल ‘१९६७ डेडबीट सेकेन्ड्स’ हो, जसको मूल्य ६५ हजार अमेरिकी डलरबाट सुरु हुन्छ । ‘डेडबीट सेकेन्ड्स’ मा सेकेन्डको सुई हरेक सेकेन्डमा एकचोटि मात्र सर्छ, जुन मेकानिकल घडीमा निकै जटिल प्रविधि हो ।

यसले अति सीमित उत्पादन गर्छ र प्रत्येक घडी हातले बनाइन्छ । यसको रिसेल भ्यालु प्रारम्भिक मूल्यभन्दा माथि जान थालेकाले यसको लोकप्रियता बढ्दो छ ।
१२. भासेरोन कन्स्टान्टिन
यो ब्रान्ड सन् १७५५ मा स्विजरल्याण्डमा स्थापना भएको हो । यो संयुक्त राज्य अमेरिकाभन्दा पनि पुरानो कम्पनी हो । घडीको मूल्य १३ हजार अमेरिकी डलरबाट सुरु हुन्छ । यसले घडी निर्माणमा मानकीकरणको अवधारणा ल्याएको थियो, जसले सम्पूर्ण उद्योगमा नयाँ दिशा दियो ।

भासेरोनका घडीहरूमा पुरानो परम्परा र आधुनिक प्रविधिको मिश्रण पाइन्छ । यसका केही मोडलमा अलार्म र रिपिटर जस्ता ध्वनि दिने विशेषता पनि हुन्छ । घडीका सबै पार्टहरू हातले उच्च स्तरमा फिनिश गरिएका हुन्छन् ।
१३. ब्लान्कपैन
ब्लान्कपैन विश्वकै सबैभन्दा पुरानो घडी ब्रान्ड हो जो सन् १७३५ मा स्थापना भएको थियो । यसको मूल्य १३ हजार अमेरिकी डलरबाट सुरु हुन्छ । यसका सबै घडी पूर्ण रूपमा मेकानिकल हुन्छन् । कुनै क्वार्ट्ज मोडल हुँदैन । यसको सबै मुभमेन्ट इनहाउस (कम्पनीमै) बनाइन्छ ।

सन् १९५३ मा ब्लान्कपैनले गोताखोरहरूका लागि ‘फिफ्टी फ्यादोम्स’ नामक घडी ल्यायो, जुन आज पनि डाइभर वाचको मानक मानिन्छ । यसका घडीहरू सादगी, टिकाउपन र परम्परागत शिल्प कौशलका लागि प्रसिद्ध छन् ।
१४. ज्यागर–लेकुल्ट
यो ब्रान्ड सन् १८३३ मा स्विजरल्याण्डमा स्थापना भएको हो र यसलाई ‘स्विजरल्याण्डको मौन प्रतिभा’ भनिन्छ । घडीको मूल्य ४ हजार ३०० अमेरिकी डलरबाट सुरु हुन्छ । यसले धेरै नवप्रवर्तन गरेको छ– जस्तै विश्वकै सबैभन्दा सानो मेकानिकल मुभमेन्ट र माइक्रोनस्तरमा मापन गर्न सक्ने ‘मिलियनोमिटर’ यन्त्र ।

यसको प्रसिद्ध मोडल ‘रिभर्साे’ हो, जसमा केस घुमाएर डायल सुरक्षित गर्न सकिन्छ । ज्यागर–लेकुल्टका घडीहरूमा २०० वर्षको पारम्परिक शिल्प र २१औँ शताब्दीको प्रविधिको उत्कृष्ट संयोजन पाइन्छ ।
(एजेन्सीको सहयोगमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण