बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मकवानपुर बाल विद्या सदन : जहाँ पाठ्यक्रमको शिक्षासँगै विद्यार्थीलाई सिप पनि सिकाइन्छ
शिक्षा

मकवानपुर बाल विद्या सदन : जहाँ पाठ्यक्रमको शिक्षासँगै विद्यार्थीलाई सिप पनि सिकाइन्छ

बिहीबार, ०६ कात्तिक २०८२

मकवानपुर । पाठ्यपुस्तकको ज्ञानले मात्र अहिलेको अवस्थामा मानिस दक्ष र सक्षम नहुन सक्छ । त्यसैले हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले आफ्ना विद्यार्थीलाई पाठ्यक्रमका साथै सिपमूलक ज्ञान पनि दिने गरेको छ ।

यो विद्यालयका केही ब्लक बाँसका भाटाले बनाइएको छ । विद्यालय परिसरको बिचमा सामान्य २ तले भवन छ, जहाँ अधिकांश कक्षाकोठा छन् । उक्त भवनको दक्षिणतर्फ बाँसले बारेको एक तले भवन छ, जसमा २ वटा कोठा छन् । विद्यालय भवन अघिल्तिर चौर छ भने केही भागमा खेती गरिँदै आएको छ ।

mbbs htd skill (1)

यो विद्यालयले शिक्षाको परम्परागत परिभाषालाई नै चुनौती दिएको छ । मकवानपुर बाल विद्या सदन केवल अक्षर र अङ्क सिकाउने केन्द्रमात्र होइन, यो एउटा जीवन्त प्रयोगशाला हो, जहाँ विद्यार्थीहरूले आफ्नो जरालाई सम्मान गर्न र भविष्यलाई अँगाल्न एकसाथ सिक्छन् ।

mbbs htd skill (4)

यहाँका विद्यार्थीले पाठ्यपुस्तकको ज्ञान त लिन्छन् नै, परालको गुन्द्री बुन्नेदेखि रोबोटको कोडिङ पनि सिक्छन् । फोहोर कागजबाट निमन्त्रणा कार्ड बनाउने कलादेखि आत्मनिर्भरताका विभिन्न आयाम यहाँ सिकाइन्छ । जीवन उपयोगी सिप र सांस्कृतिक पहिचानको महत्त्व पनि सानै उमेरदेखि विद्यार्थीलाई सिकाउने गरिएको प्रधानाध्यापक सुदीपराज गिरीले बताए ।

mbbs htd skill (11)

विद्यालयले परम्परागत नेपाली कला र आधुनिक प्रविधिलाई एउटै पाठ्यक्रममा समेटेर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।

mbbs htd skill (7)

हालै दसैँ–तिहारको बिदाको अवसरमा विद्यालयले आयोजना गरेको ‘स्किल क्याम्प’ मार्फत विद्यार्थीहरूमा सिजनशीलतासँगै सिप र कला सिकाइएको छ । हरेक वर्ष विद्यालयले उक्त बिदाको समय सदुपयोग गर्दै विद्यार्थीहरूलाई परम्परागत कला सिप र आधुनिक प्रविधिमा अग्रसर गराउँदै आएको छ । उक्त क्याम्पले विद्यार्थीहरूलाई सिर्जनशील बनाउने अवसर प्रदान गरेको प्रधानाध्यापक गिरीले बताए ।

एकातिर विद्यार्थीहरूले परालको गुन्द्री, खोस्टाको चकटी र सालको पातको टपरीजस्ता परम्परागत नेपाली सामग्रीहरू बनाएर आफ्नो संस्कृति सिकेका छन् भने अर्कोतिर स्वचालित डस्टबिन, दृष्टिविहीनहरूका लागि उपयोगी सेन्सर जडित छडी, वेदर स्टेसन र ग्यास चुहावट पत्ता लगाउने अलार्म जस्ता आधुनिक उपकरणहरू निर्माण गरेर आफ्नो वैज्ञानिक सोच र क्षमता प्रदर्शन गरेका छन् ।

mbbs htd skill (3)

  • ‘एक कक्षा, एक सिप’, सिक्ने र कमाउने कला

विद्यालयले ‘एक कक्षा, एक सिप’ को अवधारणालाई आत्मसात् गरेको छ । विद्यार्थीहरूले मैनबत्ती बनाउने, फोहोर कागजबाट नयाँ कागज तयार गरी निमन्त्रणा कार्ड बनाउने जस्ता सिप सिकेका छन् ।

विद्यालय परिसरभित्रै विद्यार्थीहरूले धान, मकै र आलुको अर्ग्यानिक खेती पनि गर्छन् । गुन्द्री र चकटी बुन्न आवश्यक पर्ने पराल र खोस्टा विद्यालय परिसरमै गरिएको खेतीबाट जुटाइन्छ । अझ विद्यार्थीहरूले रोपेको धानबाट उत्पादित चामल उनीहरूकै खाजामा प्रयोग हुन्छ र विद्यालयमा आउने अतिथिहरूलाई कोसेलीको रूपमा प्रदान गरिन्छ ।

mbbs htd skill (14)

व्यावहारिक क्रियाकलापले विद्यार्थीहरूको पढाइप्रतिको रुचि बढाएको विद्यालयका शिक्षक मीनप्रसाद सञ्जेलको भनाइ छ । उनका अनुसार, किताबमा पढेका कुराहरूलाई आफ्नै हातले प्रयोग गरेर बनाउन पाउँदा सिकाइ रमाइलो र अर्थपूर्ण बनेको छ ।

mbbs htd skill (6)

प्रधानाध्यापक गिरीका अनुसार, कक्षाकोठाको ज्ञानलाई व्यवहारमा उतार्नु नै यस्ता कार्यक्रमहरूको मुख्य उद्देश्य हो । विद्यार्थीलाई जिम्मेवार, आत्मनिर्भर र सिर्जनशील बनाउन उक्त कार्यक्रमहरूले मद्दत पुगेको उनले बताए ।

mbbs htd skill (16)

‘विद्यार्थीहरूलाई बिउ पुँजी दिएर मैनबत्ती बनाउने सिप सिकाउने काम भएको छ । मैनबत्ती उत्पादनदेखि विक्री वितरण तथा सो विषयको नाफाघाटा समेत निर्धारणको काम गरिएको छ,’ उनले भने, ‘पाठ्यक्रममा जोडेर हामीले मैनबत्तीको सिप सिकाइरहेका छौँ । विद्यार्थीहरूले उक्त कार्यक्रमका लागि ३ समूह बनाएर काम गर्दै आएका छन् । उत्पादन, प्याकेजिङ र बजारीकरणको काममा समूह बनाएर काम गर्दै आएका छन् ।’

mbbs htd skill (2)

कक्षा ४/५ बाट उक्त कार्यक्रममा प्रत्यक्ष रूपमा संलग्न गराइएको प्रधानाध्यापक गिरीले बताए । साना कक्षाका विद्यार्थीलाई कक्षा कोठामै सिप सिकाउने काम भइरहेको उनको भनाइ छ । कक्षा ४ र ५ लाई फोहोर व्यवस्थापन, कक्षा ६, ७ लाई चकटी र गुन्द्री बुन्ने, कक्षा ८ लाई मैनबत्ती र कक्षा ९ लाई रोबटिक्स सिकाउँदै आएको उनले जानकारी दिए । विद्यार्थीलाई सिपको सुरुवातदेखि त्यसको अन्तिम उत्पादन र व्यवस्थापन समेत सिकाइएको उनले बताए ।

नर्सरीदेखि कक्षा १० सम्म सञ्चालित सो विद्यालयमा हाल ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मकवानपुर बाल विद्या सदनले परम्परागत ज्ञान र आधुनिक प्रविधिको सन्तुलित संयोजनमार्फत आफूलाई एक सफल र उदाहरणीय शैक्षिक संस्थाका रूपमा विकास गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया