बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आस्थाको पर्व छठ कहिलेदेखि सुरु भयो ?

आइतबार, ०९ कात्तिक २०८२, ०८ : ५७
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • छठ पर्वको दोस्रो दिन 'खरना' विधि श्रद्धाका साथ मनाइयो, जसमा महिलाहरू निराहार बसेर साँझ पूजा गर्छन्।
  • छठ पर्व चार दिनसम्म चल्ने धार्मिक पर्व हो, जसमा सूर्य र प्रकृतिको पूजा गरिन्छ, र यसको ऐतिहासिकता वैदिक कालसम्म पुग्छ।
  • छठ पर्वमा छठी माताको पूजा गरिन्छ र यसले रौतहटसहित देशका विभिन्न भागमा रौनक छाएको छ, जहाँ व्रतालुहरूले सफाइ गरी पूजा सामग्री तयार पारेका छन्।

रौतहट । आस्थाको पर्व छठको दोस्रो दिन आज ‘खरना’ विधि देश–विदेशभरका श्रद्धालुहरूले अत्यन्त श्रद्धा र भक्ति भावले मनाइरहेका छन्। 

आजको दिन व्रतालु महिलाहरू दिनभर निराहार बस्छन् र साँझ विधिपूर्वक पूजा गरेपछि साठी धानको चामलबाट गुँड राखेर पकाइएको खीर, रोटी र फलफूल प्रसादको रूपमा छठी माता लाई अर्पण गरेपछि व्रतालुहरूले ग्रहण गर्छन्। मधेस प्रदेशको प्रायः सबै घरमा मनाइने छठ पर्व कुनै छिमेकीको घरमा भएको छैन भने छिमेकीका परिवारजनलाई खिर रोटी प्रसादको रूपमा दिइने चलन रही आएको छ।

चार दिनसम्म अत्यन्तै निष्ठाका साथ मनाइने छठ पर्व शनिवार देखि विधिवत् रूपमा सुरु भएको हो। पहिलो दिन व्रतालुहरू नहाय खाए अरवा अरवाईन् बाट सुरु भएको थियो। त्यसैगरी छठ पर्वको तेस्रो दिन भोलि सोमवार व्रतालुहरू बाँसको दौरा टोकरी जस्ता परम्परागत हातले बनाइएको भाँडोमा प्रसाद लिएर नदी, पोखरी जलाशय किनारमा गएर भक्तिपूर्वक गीत गाउँदै व्रतालुहरूले प्रार्थना गर्दछन्।  साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिएर घर फर्किन्छन्। छठ पर्वको चौथो अर्थात अन्तिम दिन पर्सी मंगलवार पुनः एका बिहानै नदी पोखरी जलाशय किनारमा गई विधि पूर्वक पूजा अर्चना गरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि बर्त समापन हुन्छ। समापन सँगै प्रसाद वितरण गरिन्छ। 

छठ पर्वको मुख्य प्रसादको रूपमा गहुँको पिठो, घिउ, गुडरचिनी मिसाएर तेल वा घिउमा पकाइने मिष्ठान्न ठेकुवा केसार,यो छठको सबैभन्दा पवित्र प्रसाद मानिने खाजामिठाई, केरा, नरिवल, स्याउ, कागती, उखु चढाइन्छ।

वैदिक कालदेखि सुरु भएको परम्परा

छठ पर्वको इतिहास परापूर्वकाल वेदकालीन युगसम्म पुर्‍याउन सकिन्छ। वैदिक ऋषि–मुनीहरूले सूर्यदेवको आराधना गरी ऊर्जा, आरोग्य र समृद्धिको कामना गर्ने गर्थे। यही आराधनाको लोक–रूप आजको छठ पर्वका रूपमा विकसित भएको विश्वास गरिन्छ।

वेदमा उल्लेख भएअनुसार सूर्यदेवलाई जीवन र प्रकृतिको आधार मानिन्छ। छठमा जल, सूर्य र माटोको पूजा गरी प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गरिन्छ।

रामायणकालमा, भगवान श्रीराम र माता सीताले वनवास समाप्त गरी अयोध्या फर्किएपछि कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको आराधना गरेका थिए र सोही समय देखी छठ पर्व सुरु भएको भन्ने जनविश्वास छ।

त्यस्तै महाभारतकालमा, द्रौपदीले सूर्यदेवको उपासना गरी आफ्नो परिवारको कल्याण र पाण्डवहरूको राजपाट पुनः प्राप्तिको कामना गरेकी थिइन्। र सोही समय देखी छठ पर्वको सुरुवात भएको पनि विश्वास गरिन्छ।

छठी माताको आस्था 

छठ पर्वको देवी छठी मइया वा षष्ठी देवी हुन्, जसलाई सन्तान र परिवारको रक्षकका रूपमा पूजा गरिन्छ।

‘षष्ठी’ शब्द संस्कृतको ‘छैटौँ’ दिनलाई जनाउँछ। यस दिन महिलाहरूले मातृशक्ति र प्रकृतिको प्रतीक देवी छठी मइयाको आराधना गर्छन्। त्यतिमात्र नभई असाध्य रोग, चर्म रोग, कुष्ठ रोग समेत छठी माताको आशीर्वादले निको हुने जनविश्वास रहिआएको छ।

लोकपर्वबाट प्रदेशभर रौनक

रौतहट, सिराहा, धनुषा, सप्तरी, पर्सा, बारा लगायत मधेसका जिल्लादेखि राजधानी काठमाडौँ र देशका अन्य भागसम्म आज खरनाको तयारीले विशेष रौनक छाएको छ। पवित्र नदी, पोखरी र घाटहरूमा व्रतालुहरूले सफाइ गरी पूजा सामाग्री तयारी गरेका छन्। गाउँ–सहरमा आज भक्तिपूर्ण गीत र छठको धुन गुन्जिरहेका छन्।

छठ पर्वले शुद्धता, संयम र कृतज्ञताको सन्देश दिन्छ। यो पर्वमा व्रतालुले शरीर, मन र घर–परिवारलाई पूर्ण रूपमा पवित्र राखी सूर्य र प्रकृतिप्रति धन्यवाद व्यक्त गर्छन्। यो पर्वलाई पर्यावरण र स्वास्थ्यसँग जोडिएको संस्कारका रूपमा पनि लिइन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप