जनसंघर्षमा उत्रियो नेकपा, के–के छन् कार्यक्रम ?
सारांश
- विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गतेसम्म जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ।
- पार्टीले भित्ते लेखन, मसाल जुलुस, विरोध प्रदर्शन र जनसभा गर्ने निर्णय गरेको छ।
- महासचिव विप्लवले काठमाडौंमा हुने जनसभामा सहभागी हुन आह्वान गरेका छन्।
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कात्तिक २० गतेसम्म जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । असोज २५ देखि ३० गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो ।
बैठकको निर्णयअनुसार कात्तिक १३ गतेसम्म भित्ते लेखन गर्नेछ । बैठकले सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवाहरूका लागि रोजगारीको ग्यारेन्टी गर लगायतका नारा तय गरेको छ ।
बैठकले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्ने, कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने र कात्तिक २० गते काठमाडौँमा बृहत् जनसभा गर्ने निर्णय गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा आयोजना हुने जनसभामा सहभागी हुन स्वाधीनता र समाजवादका पक्षधरहरूलाई आह्वान गरेका छन् ।
उनले नेपाललाई अरूले नभई आफैँले फेर्ने हो भन्दै जब भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त हुन्छन् तब देशले आत्मसम्मानसहित उन्नति हासिल गर्ने स्पष्ट पारेका छन् ।
‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेकपाको पछिल्लो केन्द्रीय समितिको विशेष बैठकले विभिन्न चरणमा सङ्घर्ष गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण