डीआईजी बढुवा सिफारिसमा छुटेपछि विश्व अधिकारीकाे राजीनामा चर्चा
सारांश
- नेपाल प्रहरीका ५ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन्।
- बढुवा सिफारिसमा परेका विश्व अधिकारीलाई भने छानबिनको दायरामा रहेका कारण बढुवाबाट वञ्चित गरिएको छ।
- अधिकारीले राजीनामा दिने चर्चा चलिरहेको छ, भने उनले यस विषयमा प्रतिक्रिया दिन मानेनन्।
काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू आइतबार साँझ नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भए ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल नेतृत्वको बढुवा समितिले भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई बढुवा सिफारिस गरेको छ ।
एक नम्बर वरीयतामा रहेका विश्व अधिकारी बढुवाको सिफारिसमा छुटेका छन् । २०८० वैशाख २४ मा भएको प्रहरी वरिष्ठ उपरीक्षकको बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । बढुवा समितिले पहिलो नम्बरमा रहेका अधिकारीलाई छाडेर अरूलाई सिरियल नम्बरको आधारमा बढुवा गर्न सिफारिस गरेको छ ।
जेनजी प्रदर्शनको क्रममा एसएसपी अधिकारी काठमाडौँ जिल्लाको इन्चार्ज थिए । भदौ २३ र २४ मा भएको घटना उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गरिरहेको र अधिकारी पनि छानबिनको दायरामा रहेको भन्दै उनलाई बढुवामा छुटाइएको छ ।
जेनजी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकारीलाई काठमाडौँबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेका थिए । जेनजी प्रदर्शनपछि काठमाडौँ प्रहरीको सेट नै परिवर्तन गरिएको छ ।
प्रदर्शनको क्रममा भदौ २३ मा काठमाडौँको बानेश्वर र इटहरीमा २२ जना प्रदर्शनकारी प्रहरीको गोलीबाट मारिएका थिए । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले त्यसबारे छानबिन गरिरहेको छ ।
छानबिन समितिको कुनै निर्णय गरेको अवस्था छैन । जाँचबुझ रिपोर्ट नआउँदै अधिकारीलाई बढुवा समितिले नै अनुमानको आधारमा ‘दोषी’ करार गर्न खोजेको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् ।
बढुवा समितिमा आईजीपी र मानव श्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् । आईजीपी चन्द्रकुवेर खापुङले आफू निकट अवि नारायण काफ्लेलाई बढुवा गर्न अधिकारीलाई छुटाएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतका अनुसार काफ्ले र खापुङ दुवै जना तेह्रथुमका हुन् । काफ्ले एसएसपीको मेरिट लिस्टमा छैटौँ नम्बरमा थिए ।
बढुवा समितिलाई ७.५ नम्बर दिने अधिकार हुन्छ । शक्तिकेन्द्रले चाहेको मानिसलाई बढुवा गर्दा सो नम्बरमा चलखेल हुने गरेको छ ।
डीआईजी बढुवा सिफारिसमा नपरेपछि विश्व अधिकारीले राजीनामा गर्न लागेको चर्चा प्रहरी सङ्गठन भित्र व्यापक छ । त्यसबारे रातोपाटीले बुझ्न खोज्दा अधिकारीले प्रतिक्रिया दिन चाहेनन् ।
२०५५ वैशाखमा प्रहरी सहायक निरीक्षकबाट प्रहरीमा सेवा प्रवेश गरेका अधिकारीले २०५६ असारमा ३ मा इन्स्पेक्टरमा नाम निकालेका थिए । त्यसपछि उनी आफ्नो ब्याचमा सधैँ १ नम्बरमा रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण