शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

संसदीय राजनीतितर्फ अघि बढे विप्लव

मङ्गलबार, ११ कात्तिक २०८२, १४ : ५३
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • विप्लवले संसदीय राजनीतिमा भाग लिने योजनाका साथ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
  • प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्वाचन आगामी फागुन २१ गते हुने जानकारी दिएका छन्।
  • विश्वकर्माले निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । लामो समय संसदीय राजनीतिको विपक्षमा रहेर आफ्नो राजनीतिक गतिविधि गर्दै आएका नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो मार्ग परिवर्तन गर्न लागेका छन् । हाल नेकपाका महासचिव रहेका उनले संसदीय राजनीतिमा भाग लिने योजनाका साथ दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन  दिएका छन् ।

कम्युनिस्ट पार्टी नेपाल नाममा दल दर्ताका लागि आयोगमा मंगलबार निवेदन दिइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । निर्वाचन आगामी फागुन २१ गते हुने हुँदैछ । 

जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको विश्वकर्माले बताए । उनले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठुलो चुनौती र प्रश्न रहेको भन्दै सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता देखिएको धारणा राखे ।  यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढङ्गको समझदारी आवश्यक रहेको उनले बताए । विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसँगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

सो क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धति लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले कानूनभित्र रहेका जनताको विश्वास जित्न आएका दललाई आयोगले सदैव स्वागत गर्ने बताए । 

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आए पनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । प्राप्त निवेदनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप