बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जनजीवन

खानेपानी लिनकै लागि अर्को जिल्ला जान बाध्य छन् फल्टुडेबासी

होटल र प्रहरीलाई समेत छैन पानी
बुधबार, १२ कात्तिक २०८२, ०६ : ५७
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • कैलालीको फल्टुडे बजारमा खानेपानीको समस्या वर्षौंदेखि रहेको छ, जसले स्थानीय बासिन्दा, व्यापारी र सुरक्षाकर्मीलाई समेत असर पारेको छ।
  • पानीको अभावका कारण स्थानीयवासी छिमेकी जिल्ला डोटीसम्म पानी लिन जान बाध्य छन्, जहाँ उनीहरूले गाली समेत सुन्नुपरेको छ।
  • अध्यक्षका अनुसार, ठूलो खानेपानी आयोजनाको माग गरिएको छ र संघीय सरकारले बजेट दिने आश्वासन दिएको छ, तर काम पूरा भएको छैन।

धनगढी । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वारमा छ कैलालीको फल्टुडे बजार । यहाँबाट चुरेको मनोरम दृश्य देख्न सकिन्छ, अर्ग्यानिक कृषि उपजको स्वाद पनि लिन सकिन्छ । तर पर्यटकीय र व्यापारिक केन्द्र भइकन पनि यहाँ वर्षाैँदेखि खानेपानीको समस्या छ । 

भीमदत्त राजमार्गको यो महत्त्वपूर्ण बजारमा सर्वसाधारणलाई मात्र होइन, व्यापारीदेखि सुरक्षाकर्मीसम्मले खानेपानीको सास्ती भोग्नुपरेको छ । 

कतिपय स्थानीय त पानीका लागि छिमेकी जिल्ला डोटीसम्म पुग्नुपर्छ । पानी लिन गएकै कारण गालीसमेत खानुपरेको स्थानीयहरू बताउने गर्छन् । 

फल्टुडेमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका कमल रावतलाई आफ्नै होटलमा ग्राहकको भिडभाड देख्दा भने दिक्क लाग्छ, किनकि खानेपानी नहुँदा उनलाई निकै गाह्रो हुन्छ । 

‘गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय चलाउनुपरेको छ,’ रावतले भने, ‘पानी नहुँदा धेरै ग्राहकलाई खाना, नास्ता खुवाउन सकिँदैन, सीमित मान्छेलाई मात्रै सेवा दिनुपर्छ । होटलमा भिड बढ्यो कि तनाव सुरु हुन्छ ।’

उनले. आफ्नो होटलभन्दा करिब तीन–चार किलोमिटर टाढाबाट गाडीमा पानी ल्याउने गरेका छन्, त्यो पनि पर्याप्त छैन । कहिलेकाहीँ त पानीकै लागि उनी ३० किलोमिटर टाढासम्म पुग्नुपर्ने बाध्यता छ । 

‘हाम्रोमा ठुलो मुहान छैन, सानो मुहानबाट लिफ्टिङ गरेर ल्याइएको पानी फल्टुडे, बगैचलगडी, बयालाजस्ता तीन–चार ठाउँमा बाँडिन्छ, जसले कसैलाई पुग्दैन,’ उनी भन्छन् । मिनरल वाटर किनेर दिँदा पनि कतिपय ग्राहकले पहाडको चिसो र लोकल पानी नै खोज्ने गरेका उनी बताउँछन् । 

पाँच वर्षअघि दुई किलोमिटर टाढाको ठुलोगाड खोलाबाट लिफ्टिङमार्फत गाउँ–गाउँमा पानी पुर्‍याइएको थियो, स्थानीयले पनि सुखको सास फेरेका थिए । तर उक्त पानीको मुहानले फल्टुडे बजार, बर्गचुली, गडी र आधाचुलीका बासिन्दाको माग धान्न सकेन । 

‘ग्राहकलाई पानी छैन भन्दा साह्रै अप्ठ्यारो लाग्छ,’ रावतले भने । सुगम मानिने कैलालीका जनताले खानेपानी जस्तो आधारभूत आवश्यकताका लागि यस्तो संघर्ष गर्नु आफैमा लाजमर्दो भएको उनी दुखेको पोख्छन् । 

यो समस्या होटल व्यवसायीको मात्र होइन, फल्टुडेमै २०६१ सालदेखि अचार उद्योग सञ्चालन गरिरहेका हरिशंकर योगीको पनि हो । पानी अभावले उद्योग चलाउन नै नसक्ने अवस्थामा उनी पुगेका छन् । ‘यो ठाउँलाई प्रकृतिले ठगेको जस्तो लाग्छ,’ योगी भन्छन् । उनका अनुसार पहिले स्थानीयहरू दुई घण्टा हिँडेर खोलाबाट पिठ्युँमा पानी बोकेर गुजारा चलाउँथे ।

पाँच वर्षअघि दुई किलोमिटर टाढाको ठुलोगाड खोलाबाट लिफ्टिङमार्फत गाउँ–गाउँमा पानी पुर्‍याइएको थियो, स्थानीयले पनि सुखको सास फेरेका थिए । तर उक्त पानीको मुहानले फल्टुडे बजार, बर्गचुली, गडी र आधाचुलीका बासिन्दाको माग धान्न सकेन । 

‘लिफ्टिङ चल्दा अब त पानीको दुःख गयो भन्ने लागेको थियो, तर पीर उस्तै रहेछ,’ योगीले गुनासो गरे ।

पानीको यो संकटले जनताको शान्ति सुरक्षामा खटिने प्रहरीलाई समेत छोडेको छैन । इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी कर्मचारीहरू पनि गाडीमा पानी बोकेरै गुजारा चलाउँछन् । कहिले कता, कहिले कता भौँतारिएर पानीको जोहो गर्दा उनीहरूको महत्त्वपूर्ण समय खेर गइरहेको छ । 

यो क्षेत्रमा हिउँद सुरु भएसँगै पानीको हाहाकार मच्चिन्छ । वर्षायाममा समेत अभाव उस्तै हुन्छ । पुरानो मुहान सानो हुनु, पानीको सतह घट्दै जानु र जनसंख्या बढ्दै जानुले यो समस्यालाई झनै विकराल बनाएको छ ।

स्थानीय लालबहादुर महराले पानीकै कारण छिमेकी जिल्ला डोटीका स्थानीयबाट कैयौँ पटक गाली खाए । ‘पानीका लागि हामी डोटी जिल्लाको गोर्डु भन्ने गाउँमा जान्छौँ । त्यहाँ पनि पानी प्रशस्त छैन, त्यसैले लाइनमा बस्नुपर्छ,’ उनले भने, ‘अर्काे ठाउँका मान्छे आएर हाम्रो पानी लगे भन्दै स्थानीयको कचकच र गाली सुन्नुपर्छ ।’

यो क्षेत्रमा हिउँद सुरु भएसँगै पानीको हाहाकार मच्चिन्छ । वर्षायाममा समेत अभाव उस्तै हुन्छ । पुरानो मुहान सानो हुनु, पानीको सतह घट्दै जानु र जनसंख्या बढ्दै जानुले यो समस्यालाई झनै विकराल बनाएको छ ।

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीका अनुसार चुरेका केही क्षेत्रमा लिफ्टिङबाट खानेपानी वितरण भइरहेको छ । अभाव भएका क्षेत्रका लागि ठुलो खानेपानी आयोजनाको माग गरिएको छ ।

‘यहाँ मुहान नै छैन, त्यसैले पानी पुर्‍याउन गाह्रो भएको हो,’ बोगटीले भने । उनका अनुसार ठुलोगाडको पानीलाई लिफ्टिङ सिस्टमबाट हरेक घरमा पुर्‍याउने लक्ष्य भए पनि पालिकाको बजेटले मात्रै सम्भव छैन, त्यसैले माथिल्लो निकायसँग माग गरिएको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षमा थप बजेट विनियोजन गरेर अन्य ठाउँबाट पानी ल्याउने आश्वासन दिए पनि त्यो काम अझै पूरा भएको छैन । स्थानीय व्यापारी योगी संघीय सरकारबाटै बजेट छुट्याएर यो समस्याको दिगो समाधान खोजिनुपर्ने बताउँछन् । 

जबसम्म प्रशस्त पानी भएको ठुलो मुहानबाट दिगो आयोजना सञ्चालन हुँदैन, तबसम्म फल्टुडे क्षेत्रको पानीको समस्याको अभाव नहट्ने स्थानीय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप