त्रिपक्षीय छलफल : एमालेबाहेक चुनावको पक्षमा उभिए सबै, कसले के भने ?
सारांश
- प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा भएको छलफलमा अधिकांश दलहरू फागुन २१ मा निर्वाचनको पक्षमा उभिएका छन्।
- जेनजी प्रतिनिधिहरूले सुशासन र भ्रष्टाचारविरुद्धको कारबाहीलाई प्राथमिकता दिन आग्रह गरेका थिए।
- एमाले संसद् पुनर्स्थापनाको पक्षमा उभिएको थियो भने अन्य दलहरूले चुनावका लागि सरकारलाई साथ दिने धारणा राखेका थिए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा अधिकांश दल र जेनजी प्रतिनिधि फागुन २१ लाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको पक्षमा उभिएको सहभागीहरूले दाबी गरेका छन् ।
संवादका क्रममा जेनजी प्रतिनिधिले चुनावका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सुशासन र भ्रष्टाचार विरुद्धको कारबाहीलाई प्राथमिकता दिन आग्रह गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बैठकपछि जानकारी दिए ।
‘हामीलाई चुनाव चाहिएको छ, गर्नुपर्छ पनि । तर, चुनाव–चुनाव भनेर मात्रै हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचार विरुद्धको कारबाही हो’, जेनजी प्रतिनिधिले छलफलमा धारणा राखेका थिए । प्रवक्ता खरेलले छलफल सकारात्मक भएको र मुलुक सामान्यीकरणतर्फ जाने विश्वास व्यक्त गरे ।
राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । निर्वाचनको माहौल बनाउने सन्दर्भमा पहिलो पटक भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए ।
जेनजीका प्रतिनिधिले बोलेपछि पार्टीका प्रतिनिधिहरूले धारणा राखेका थिए । कांग्रेस, माओवादी र रास्वपा लगायतका दलले चुनावका लागि सरकार अघि बढे साथ दिने धारणा राखेका थिए । एमालेले भने संसद् पुनर्स्थापनामा जोड दिएको थियो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जेनजीहरुले सुशासनका लागि आन्दोलन गरेको र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न दलहरुको सहभागिता हुनुपर्ने धारणा राखेको बताए ।
‘तपाईंहरु चुनावमा आइदिनुस् । संसद् पुनर्स्थापनातिर नलाग्नुस् भन्ने उहाँहरूको प्रस्ताव भयो’, पाण्डेले भने– ‘एमालेले संसद् पुनर्स्थापना गरेर जेनजीका माग पुरा गर्नुपर्छ भनेजस्तो कुरा राख्यो ।’
बैठकमा सहभागी धेरैले भने निर्वचन गर्न सुरक्षा चुनौतीबारे चिन्ता प्रकट गरेका थिए । जवाफमा प्रधानमन्त्रीले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै दलहरूलाई आश्वस्त पारेकी थिइन् ।
जेनजी प्रतिनिधि खेमराज साउदले चुनावबारे सबैको एउटै धारणा हुनुपर्छ भन्ने रहेको बताए । ‘तर एमालेले संसद् पुनर्स्थापना गर्नुपर्छ भन्नेजस्तो धारणा राख्यो, हामीले यो हुनुहुँदैन भन्यौ ।’
त्यस्तै अर्का जेनजी प्रतिनिधि उपार्जन चाम्लिङले भयरहित तरिकाले तोकिएको समयमा कसरी चुनाव गर्न सकिन्छ भन्नेबारे छलफल भएको भन्दै चुनावका लागि सबै राजनीतिक दलको सङ्कल्प खोजेको बताए । ‘एमालेले अलि फरक ढङ्गले यही अवस्थामा चुनाव फेयर हुँदैन कि भन्ने जस्तो कुरा राख्यो’, उनले भने, ‘तर दलहरूमा पनि सुधार आएको देखिन्छ ।’
जेनजीकै तर्फबाट छलफलमा सहभागी सागर ढकालले चुनावको विकल्प नभएको तर कसरी गर्ने भन्नेमा छलफल भएको जानकारी दिए ।
बालुवाटार छलफलमा दलहरूका तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र डा. प्रकाशशरण महत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण