‘देशकाल, परिस्थिति नहेरी बोल्दा कलाकारलाई डुबाउने रहेछ’
सारांश
- प्रकाश सपुत एक गायक, संगीतकार, गीतकार, निर्देशक र अभिनेता हुन्।
- उनको नयाँ फिल्म 'सोल्टिनी' रिलिज भएपछि दर्शकको प्रतिक्रिया सोचेजस्तो आएको छैन।
- सपुतले आगामी फिल्ममा आफू निर्णायक बन्ने र व्यावसायिक फिल्म बनाउने योजना बनाएका छन्।
काठमाडौँ । प्रकाश सपुतका बहुआयामिक परिचय छन् । उनी गायक हुन्, संगीतकार हुन्, गीतकार हुन् अनि निर्देशक । यसमा अझै छुटाउनै नहुने उनको अर्को परिचय हो अभिनेता । ‘गलबन्दी’, ‘पीर’, ‘मेरो पनि हैन र यो देश’, ‘सकम्बरी’, ‘दमाई महाराज’ जस्ता थुप्रै गीतमार्फत श्रोता-दर्शकको मन जितेका प्रकाश पछिल्लो समयमा फिल्ममार्फत छाइरहेका छन् ।
‘परदेशी २’ बाट अभिनयमा डेब्यु गरेका उनका ‘पूर्णबहादुरको सारङ्गी’, ‘वसन्त’, ‘हरिबहादुरको जुत्ता’ लगायत फिल्म रिलिज भइसकेका छन् । ती फिल्मले दर्शकको मन जितेका छन् । प्रकाश अभिनित नयाँ फिल्म ‘सोल्टिनी’ तिहारको भाइटीका (कात्तिक ६)को अवसर पारेर प्रदर्शनमा आएको छ । तर फिल्मले सोचेजस्तो शो र दर्शक दुवै पाउन सकिरहेको छैन ।
गायक तथा अभिनेता सपुतसँग फिल्म, संगीत र भावी योजनामा केन्द्रित रहेर रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :
‘सोल्टिनी’को व्यवसाय र दर्शक प्रतिक्रिया कस्तो छ ?
फिल्म दुईवटाको चेपोमा पर्यो । व्यवसाय ठिकठिकै छ रे । प्रतिक्रियाको कुरा गर्दा मैले निभाएको पात्रलाई न्याय गरेको छ भन्ने आएको छ । म त्यसमै सन्तुष्ट छु ।
‘सोल्टिनी’ भनेको दाइकी साली, फिल्मको कथा सालीको पेरिफेरीमै त होला नि ?
‘सोल्टी–सोल्टिनी’ भनेको चाहिँ अझै एउटै समुदायभित्रको सम्बन्धहरूमा बढी प्रिय र फेमिलियर हुन्छ । तर यो फिल्म अलि फरक छ । ‘सोल्टिनी’ मार्फत निर्देशक र लेखकज्यूहरूले समाजको अन्तरघुलनलाई देखाउन खोज्नुभएको छ । फिल्ममा समाजमा रहेको तहगत जातीय संरचना र सामुदायिक भिन्नताहरूलाई समिश्रण गर्न खोजिएको छ । यसले फरक खालको ‘सोल्टिनी’ सम्बन्ध मार्फत समाजको अन्तरघुलन र जातीय विभेदलाई पनि कतै न कतै उल्लेख गरेको छ ।
दसैंमा ‘हरिबहादुरको जुत्ता’ र तिहारमा ‘सोल्टिनी’ लगातार आफ्नो फिल्म आउँदा अनुभव मिठै होला नि ?
यसरी लगातार फिल्म रिलिजको अनुभव राम्रो हुँदैन । एउटा कलाकारको हिसाबले कुनैपनि काम केही समयको अन्तरालमा आओस् भन्ने लाग्छ । दर्शकहरूले पनि कुनै काम आइसकेपछि ‘कस्तो होला त’ भनेर प्रतीक्षा गरून् भन्ने चाहना हुन्छ । मैले गीतहरू गर्दा पनि केही ग्याप राखेर गर्थेँ । फिल्म लगातार आउँदा मानिसहरू मोनोटोनस हुने हो कि भन्ने महसुस मैले गरेँ । तर भिन्न टिम, भिन्न कथा र भिन्न कार्यशैली भएको हुनाले त्यस्तो एकदमै असरै गर्छ जस्तो लागेन । यद्यपि, म आफैँले चाहिँ अलिकति ग्यापमा आएको भए कामहरूलाई अझ बढी प्राथमिकता दिन, इन्जोय गर्न सक्थेँ जस्तो लाग्छ ।
सँगै रिलिज भएका फिल्मको तुलनामा ‘सोल्टिनी’ले किन कम शो पायो ?
यसलाई दुई–तीन कोणबाट हेर्न सकिन्छ । फिल्मलाई लिएर वितरक वा निर्माताहरूबीच एक खालको द्वन्द्व हुने रहेछ । मैले ‘वसन्त’को समय त्यो महसुस गरिनँ । त्यसअघि रिलिज भएका फिल्ममा म प्रत्यक्ष संलग्न भइनँ । निर्माता–वितरकले आफ्नो तरिकाले प्रदर्शन गर्नुभयो, मैले त्यस्तो अन्यायपूर्ण महसुस गरिनँ । यसपालि धेरै फिल्म भएर हुन सक्छ, तर हाम्रो निर्माता–निर्देशकज्यूहरूले कम्तीमा आफूलाई परीक्षण गर्न त कम्तीमा दुई–तीन दिनसम्म शो बराबर बाँडफाँड गरिदिनुपर्ने थियो । हामीले त सुरुबाटै शो कम पायौं ।

मेरा शुभेच्छुक शुभचिन्तकहरूले व्यक्तिगत रूपमा ‘फिल्म हेर्न गएको, तपाईँको फिल्म रहेनछ, अर्को फिल्म हेरियो’ भन्ने खालका कुरा सुनाउनुभयो । म एउटा सर्जक भएको हिसाबले फिल्म आफैँ बोल्नुपर्छ, दर्शकले जुन रोज्छन्, हलले त्यसलाई स्थान दिनुपर्छ भन्ने कुरामा व्यावसायिक हिसाबले र दर्शकले रोजेको फिल्म हेर्न पाउनुपर्छ भन्ने कुरामा म पनि सहमत छु । तर पहिलो वा दोस्रो दिनमै फिल्मलाई स्थानै नदिने, हल नै स्क्रिन नै नदिने भन्ने चाहिँ अलि अन्यायपूर्ण कुरा भयो ।
‘वसन्त’, ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ होस्, ‘परदेशी २’ अधिकांश फिल्म प्रेमकथाकै रोज्नुको कारण ?
- हामी कविता लेखौँ, गीत गाऔँ वा फिल्म बनाऔँ, प्रेम भनेको कुनैपनि कथा भन्ने माध्यम हो । हाम्रो जीवन, समाज र पात्रहरूलाई जोड्ने एउटा कसी हो प्रेम । तर त्यो प्रेममार्फत ‘सोल्टिनी’लाई अलिकति विस्तृतमा हेर्नुभयो भने त्यहाँ समाजका विभिन्न तह र मानिसहरूका जातीय पक्षहरू लगायत विभिन्न आयामहरू देखाइएको छ । मेरो यो उमेर प्रेमकथाहरू भन्ने हो । सुहाउँदो कथाहरू रोजौँ भनेर हो ।
पछिल्लो समय तपाईका फिल्मले दर्शकको अपेक्षा किन पूरा गर्न सकेनन् ?
कुनै पनि काम गरिरहँदा मानिसहरूले मन पराइरहेको, नोटिस भइरहेको कलाकारले ‘ए, यसको अर्को काम पनि राम्रो नै हुन्छ होला’ भनेर अपेक्षा उच्च राख्नु राम्रो पनि हो । त्यो एउटा कलाकारका लागि उसले बनाएको आफ्नो मापदण्ड वा स्तर हो । यसको एउटा बेफाइदा पनि के हुँदोरहेछ भने नम्बर ठिकठाकै आउँदा पनि मानिसहरूलाई थोरै लागेजस्तो हुँदोरहेछ । जस्तो कि, १०० पूर्णाङ्कमा ८०–९० नम्बर कटाइरहेको उत्कृष्ट छात्रले ५० ल्याउँदा कम लाग्छ । तर ३२ लिएर पास हुँदा पनि ‘ए ल पास भयो’ भन्नेको खुसी पनि आफ्नै खालको हुन्छ । यो अंकको र्याङ्किङले गर्दा पनि कलाकारहरूलाई फरक पर्ने रहेछ ।
पहिलेको सफलताले फिल्म छनोटमा कति दबाब पर्छ ?
फिल्म छनोटमा मात्र होइन, यो पाँचौँ–छैठौँ फिल्म रिलिज भइरहँदा धेरै कुरामा सोच्न बाध्य बनाएको छ । म अब जुन फिल्ममा रिलिजको मिति, आफ्नो पात्र लगायत कुरामा निर्णायक बन्न सक्छु, त्यो फिल्ममा मात्रै काम गर्छु । अहिले पनि मलाई लाग्छ मेरो फिल्म लगातार नआएको भए ‘सोल्टिनी’को नतिजा अर्कै हुन सक्थ्यो, अझै राम्रो गर्न सकिन्थ्यो । मैले अलिकति राम्रो अर्को डेटमा रिलिज गरौँ कि भनेर निर्णायक हुन सकिनँ । अब काम गर्दा चाहिँ कम्तीमा टिममा बसेर जुन फिल्ममा आफू निर्णायक हुन सकिन्छ, चाहे त्यो सुटिङको मिति, कथा, पात्र वा रिलिजको कुरामा । त्यस्तो फिल्म मात्र गर्छु ।
सुरुका फिल्म लगातार सफल, त्यसपछि लगातार असफल किन ?
कलाकारको जीवन सधैँ एकनास हुन्छ भन्ने त हुँदैन । सधैँ सफल नै भइन्छ भन्ने पनि हुँदैन । तर यो अवधिमा अप्ठ्यारो भएपनि सायद यो अवधिबाट धेरै कुरा सिकेर आगामी दिनका लागि फेरि नयाँ ढङ्गबाट आफूलाई सुधार गरेर, नयाँ तरिकाले सोचेर अघि बढ्न सकिन्छ । हाम्रो सिर्जना र हामीलाई हेर्ने दृष्टिकोण पनि समाजको गति, समाजको स्थिति र देशको परिस्थितिले निर्धारण गर्छ ।
एकदमै राम्रो गरिरहेका कलाकारले देशको कुनै एउटा परिस्थितिमा आफ्नो विचार फरक तरिकाले राखे वा आफ्नो विचार सही तरिकाले राख्न नसके उसलाई डुबाउँदो रहेछ । दर्शकले उसको व्यक्तित्व, सिर्जनालाई हेर्ने दृष्टिकोण फरक हुन्छ । त्यसैले हाम्रो जस्तो तरल राजनीतिक व्यवस्था भएको देशमा, अलिकति मानसिक रूपमा अस्थिर समाजको मनोविज्ञान भएको अवस्थामा चाहिँ कलाकारको लोकप्रियता, सफलता–असफलता र उसको प्रभावमा पनि आफैँ उतारचढाव आउने रहेछ ।
मैले खुरुखुरु आफ्नो कर्म गरिरहेको छु भने पनि मानिसहरूको मनोविज्ञान अस्थिर भइदियो भने कतिखेर ‘ए यो त राम्रो मान्छे हो नि’ भन्या जस्तो लाग्छ, फेरि अर्को अवस्थामा ‘यो मान्छे त खत्तमै हो नि’ भन्या जस्तो लाग्छ । त्यसले हामीले गर्ने सिर्जनामा कतै न कतै प्रभाव पार्छ । ‘वसन्त’को समयमा चाहिँ त्यो एउटा राजनीतिक उतारचढाव नभइदिएको भए सायद त्यसको नतिजा अर्कै आउँथ्यो होला जस्तो पनि मलाई कतै न कतै लाग्छ । यसले गर्दा हामीले निष्पक्ष र नि:स्वार्थ तरिकाले मनैदेखि गरेको उस्तै काम पनि देशकाल, परिस्थिति अनुसार फरक पर्ने रहेछ । एक–डेढ वर्षको भोगाइबाट मैले यस्तो महसुस गरेको छु ।
तपाईँको उद्देश्य, प्रयास र सिर्जना उस्तै हुँदाहुँदै पनि देशकाल, परिस्थिति फरक भइदियो, समाजमा मान्छेको मनोविज्ञान फरक भइदियो, दर्शकहरूको रुचि फरक भइदियो भने पनि त्यो कलाकारको मूल्यांकन आफैँ घट्ने–बढ्ने हुने रहेछ । त्यसले गर्दाखेरि यो अब हाम्रो जस्तो देशमा, हाम्रो जस्तो समाजमा चाहिँ हाम्रो सफलता–असफलता हाम्रो हातमा मात्रै छैन भन्ने कुरा चाहिँ मैले महसुस गरेको छु ।
पछिल्ला फिल्मको असफलताले तपाईंलाई गायकमा स्वीकारे नायकमा अस्वीकार गरे दर्शकले भन्न मिल्ला कि नमिल्ला ?
खासमा फिल्म भनेको एउटा पात्र वा एउटा व्यक्ति मात्र होइन । ‘परदेशी २’ चल्यो, त्यसमा मानिसहरूले ‘ए गायक हिरो भयो, यो राम्रो भएन’ कसैले पनि भन्नुभएन, त्यो चल्यो नै । ‘पूर्णबहादुरको सारङ्गी’ चल्यो, त्यसमा पनि मैले निभाएको पात्रले मानिसहरूलाई बिझाएन । फिल्म भनेको निर्देशकको क्षमता हो वा निर्माताको प्रयास हो । उसले कस्तो खालको रङ्ग पोत्छ, अनि मेरो रङ्ग चाहिँ त्यसमा सुहाउँदो छ कि छैन भन्ने हो । यदि मलाई अभिनयमा रुचि नै नभएको भए, मलाई अलिकति पनि नआउने भए म सायद अभिनयमा आउने थिइनँ होला ।
जबर्जस्ती पपुलर भइयो, अभिनय गरौँ भनेर जबर्जस्ती गरेको त होइन । कहिलेकाहीँ कुनै पात्र छनोटमा मलाई नसुहाएको हुनसक्छ । कहिलेकाहीँ कमेन्ट आइरहेको हुन्छ नि, म डाँडामा हिमालमा गएर हिरोइनसँग नाचेँ भने अलि ‘हिरो सुहाएन’ भन्ने खालका कमेन्टहरू आइरहेको हुन्छ । तर गाउँमा भारी बोक्दै गरेको सिन मैले बाँचेको जीवन हो नि, त्यसलाई त पर्दामा उतारेको मात्र न हो । त्यसले गर्दाखेरि ममा अभिनयको रुचि नै हुँदैनथ्यो,थोरै क्षमता नै हुँदैनथ्यो भने त मैले अभिनय गर्दिनथें होला ।
एकदमै रुचाउँदै नरुचाएको, स्वीकार नै नगरेको भन्ने त छैन । तर कतै न कतै गीत–संगीतमा एउटा स्तरमा पुगिसकेको भएर चाहिँ फिल्म नगरेको भए पनि हुन्थ्यो भन्ने खालको अपेक्षा होला । गायक नै ठिक भन्ने खालको सतही कमेन्टहरू आउन स्वाभाविक नै हो । तर मानिसहरूले त्यस्तो एकदमै बिझाउने गरी नै ‘ए हुँदै भएन’ भनेर अस्वीकार गरेको त भन्ने लाग्दैन । त्यो भएको भए त मेरो यो पाँचौँ–छैटौँ फिल्म हुने नै थिएन, म पहिलो–दोस्रो फिल्मबाट ‘यो मेरो क्षेत्र होइन है’ भनेर छोड्थेँ होला ।
फिल्म मार्फत अब कस्तो कथा भन्न मन छ ?
कथाहरू भन्नुपर्ने थुप्रै नै छन् । तर कस्तो हुँदोरहेछ भने जस्तो ‘वसन्त’ मलाई एकदम भन्न मन लागेर भनेको कथा थियो । त्यसमा केही प्राविधिक त्रुटि पक्कै थिए । अब मलाई एउटा व्यावसायिक फिल्म बनाएर यो क्षेत्रमा आफूलाई प्रमाणित गर्नुछ । अबको मेरो पहिलो उद्देश्य भनेको एउटा पूर्ण व्यावसायिक फिल्म बनाउने हो । त्यसपछि चाहिँ मेरो रुचि कथा भन्ने नै हो । आफू एकपटक राम्रोसँग स्थापित भएपछि समाजका अनगिन्ती कथा भन्ने मेरो आफ्नो उद्देश्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण