शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
कलाकार

एलिनासँगै अमेरिका गएकी कला लम्साल : ‘आयोजकको के कुरा, सहकर्मीबाटै पीडित भएँ’

बिहीबार, १३ कात्तिक २०८२, १९ : ५१
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • गायिका कला लम्साल अमेरिका टुरबाट स्वास्थ्य समस्याका कारण फर्किइन्, जहाँ उनलाई आयोजक र सहकर्मीबाट दुर्व्यवहार भएको थियो।
  • लम्साल र गायिका एलिना चौहानबीच सामाजिक सञ्जालमा भएको जुहारी र पछिल्लो अन्तर्वार्तामा एलिनाले स्वार्थी कुरा गरेको आरोप छ।
  • कला लम्सालको नयाँ गीत 'आन्टी लभर' हिट भयो, जसले उनलाई खुशी दिएको छ र आगामी योजनाहरूमा नयाँ गीत ल्याउने कुरा छ।

काठमाडौँ । अहिले एउटा गीत निकै चर्चित छ- ‘आन्टी लभर’ । यसकी गायिका हुन् कला लम्साल । यो गीतसँगै कला पछिल्लो समय गायिका एलिना चौहानसँग सामाजिक सञ्जाल जुहारीका कारण पनि चर्चामा छिन् । 

केही दिनअघि एलिनाले अमेरिकामा आयोजकको दुर्व्यवहारबारे सार्वजनिक गरेकी थिइन् । त्यसलाई कलाले ‘पृथ्वी गोलो छ है’ भन्दै खुच्चिङ भनेकी थिइन् । बद्री पङ्गेनी, प्रताप दास र एलिना चौहानसँगै ‘अब सुन्छ अमेरिका’ टुरमा गएकी उनी ढाड दुख्ने समस्या बढेपछि केही समयमै फर्किएकी थिइन् । 

अमेरिका यात्रा छोटो भएपनि आयोजक र सहकर्मीबाट भएको दुर्व्यवहारले दु:खी बनाएको कला सुनाउँछिन् । संगीतसहित यिनै विषयमा केन्द्रित रहेर गायिका कला लम्सालसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश : 

  • छिट्टै अमेरिकाबाट फर्किनुभयो, खासमा त्यहाँ के भएको थियो ?

-अमेरिकामा मेरो शरीरमा ब्याक पेनको समस्या देखियो । त्यहाँ उपचार गर्ने आयोजकहरूले झन्झट बोक्न चाहेनन् । उपचारमा चार–पाँच महिना लाग्ने भन्दै प्रपन्च रचियो । बाँकी कलाकार लिएर आयोजक टुरमा जानुपर्ने अवस्था थियो । मैले विकल्प नभएपछि नेपाल फर्किने निर्णय गरेँ । सुरुमा टिकट काटियो तर बढ्दो दुखाइका कारण मैले बिजनेस क्लासको टिकट माग गरे । आयोजकले दिन सक्नुभएन । टिकटको पैसा भन्दा पनि ज्यानको मायाले मिलाएर फर्किएँ ।

  • अहिले स्वास्थ्यको अवस्था कस्तो छ ?

-अहिले ठिक छ । अमेरिकाबाट फर्किएपछि नियमित थेरापी गरिरहेको छु । नियमित थेरापीले राहत मिलिरहेको छ । बिस्तारै आफ्नो काममा फर्किँदैछु ।

  • अमेरिका कार्यक्रमको विषयमा सामाजिक सञ्जालमा एलिना चौहानसँगको जुहारी किन नि ?

-अमेरिकामा मलाई ब्याक पेनको समस्या देखियो । त्यसबेला सुरुमा एलिना र प्रतापले मलाई वासरुमसम्म लैजान ल्याउन सहयोग गरे । तर म नेपाल फर्किएपछि उनीहरुले मेरो विरुद्ध सामाजिक सञ्जालमा विभिन्न लेखे । उनीहरुले आयोजकले जे भन्छ त्यो र चाकडी गरेर लेखे । मेरो गुनासो मेरो दुःख कलाकारले नै जथाभावी लेख्नु हुँदैनथ्यो भन्ने हो । त्यो समय अर्गनाइजरले मलाई पनि अपमान गर्नु भएको थियो । त्यतिबेला एलिना, प्रताप र बन्द्री दाइ केही बोल्नु भएन । अहिले एलिनाले आयोजकको विषयमा बोलेको देख्दा जवाफ दिन मन लाग्यो ।

  • एलिनाको पछिल्लो अन्तर्वार्ता र त्यसप्रतिको तपाईंको प्रतिक्रिया के छ ?

-एलिनाको पोडकास्टको पछिल्लो अन्तर्वार्ता मैले सुनेको थिएँ । जहाँ उनले स्वार्थी बनेर इन्टरभ्यु दिएकी छन् । मलाई आशा थियो, त्यो इन्टरभ्युमा त उनले दिदी पनि त पीडित हुनुहुन्थ्यो भनेर भन्छिन् कि । तर उनले ‘कला दिदी त पहिल्यै फर्किनुभयो । बाँकी हामी तीन जना चाहिँ पीडित भयौं’ भनिन् । एलिनाले अहिले आफ्नो मात्र पीडा बोलेको देख्दा अचम्म लाग्यो । किनभने उनले आयोजकको पक्षमा लागेर चाकडी गर्ने शैलीमा मेरो विरुद्ध स्टाटस लेखिन् । मलाई थाहा थियो कि आयोजक खराब मान्छे हो, तर एलिना झन् महाखराब निस्किएर मेरो विरुद्धमा बोल्दा म चकित परेँ । उनले मलाई ‘स्यान्डिल लाउनु पर्दैन थियो, जुत्ता किन लाउनुभयो ?, नाच्नु भयो किन, औषधि नेपालबाट बोकेर आउनु पर्दैन थियो ?’ भनेर डाक्टर बनेर थर्काइन् । मैले ‘तिमीले लेखेको स्टाटस डिलिट गर, मेरो समस्या तिमीसँग होइन, आयोजकसँग हो’ भनेर रिक्वेस्ट गर्दा पनि डिलिट गरिनन् । उनले घमण्डीपन देखाइन् । बद्री दाइले सुरुदेखि नै मलाई इग्नोर गर्नुहुन्थ्यो । के कारण र किन मैले बुझ्न सकेकी छैन ।

523099449_9988116564631079_4038595399255858250_n

  • अमेरिकामा सहकर्मीबाटै पीडित भएँ भन्न खोज्नुभएको हो ?

-सुरुमा एलिना र प्रतापले केही सहयोग गरेका हुन् । पछि उनीहरुले आयोजकसँगै मिलेर थर्काए । बद्री दाइबाट भने सुरुदेखि नै असहयोग मिल्यो । म नेपाल फर्किंदै गर्दा आयोजकले थर्काउनुभयो । त्यो तीनै सहकर्मीले सुनेका थिए । उहाँहरु केही बोल्नु भएन । आयोजकले जुन महिलाकहाँ मलाई राख्नुभएको थियो । उहाँले पनि रुँदै ‘तपाईँलाई मैले यहाँ राख्न सक्दिनँ । मेरो दुइटा बच्चा छ । यस्तो यस्तो परिस्थिति छ’ भन्नुभयो । 

म अलपत्रको अवस्थामा पुगें । सहकर्मीबाट सहयोग मिलेन । ब्याक पेनकै समस्या हो, म मर्दिनँ होला । मरिहालें भने चाहिँ अर्गनाइजरलाई मेरो कलाकारले समात्छन् भनेर म रुँदै फर्किएँ । फर्किएर कतार आइपुग्दा पनि आयोजकले थर्काएका थिए । त्यो मैले एलिनालाई भनेको थिएँ । एलिनाले केही भनिनन् । अहिले आएर एलिनाले पीडा बोल्दै इन्टरभ्यु दिन मिल्छ ?

  • एलिनासँग गुनासो के त ?

-मैले सहकर्मीको रुपमा जुन सहयोग पाउनुपर्थ्यो, त्यो पाइनँ । उल्टै पीडा भोगें । त्यो ठिक छ । आयोजकबाट पीडा भोगेको कुरा बाहिर ल्याउँदा त ‘यो पनि पीडित नै हो है’ भन्नुपर्थ्यो । त्यो पनि भएन । 

  • दुःखको कुरा कति गर्ने, अब खुसीको कुरा गरौँ । तपाईँको पछिल्लो गीत ‘अन्टी लभर’ले त बबालै गर्‍यो नि ? 

-यो कुरामा एकदम खुसी छु । अमेरिकाको भिसा लागेदेखि नै यो वर्ष मेरो केही कुरा दुःखद् र केही कुरा सुखद् बने । अमेरिकाबाट फर्केपछि पनि गीतको चर्चा र सफलताले बढी खुसी दिएको छ । गीतको सफलतामा एकदमै सन्तुष्ट छु । गीतले छोटै समयमा दुई करोड भ्युज पाउन सफल भएको छ ।

  • गीत बनाउँदै गर्दा यति धेरै चर्चा होला भन्ने लागेको थियो ?

-थिएन । म आफू कहिल्यै विवादमा नपरेको गायिका हुँ । आफ्नो दुःख वा आँसु बेचेर अगाडि बढ्न कहिल्यै मन लागेन । यो त चाहँदा नचाहँदै बनेको एक खालको चर्चा हो । यसले बेपत्ता खुसी त मलाई बनाएको छैन, तर खुसी चाहिँ पक्कै छु ।

  • किन यो गीत गाउनुपर्छ भन्ने लाग्यो ?

-म गीत-संगीतबाट मनोरञ्जनको अलावा समाजमा केही सन्देश पनि दिनुपर्छ भन्नेमा सधैँ सचेत छु । मलाई कहिल्यै पनि आफ्नो दुःख बेचेर, आँसु बेचेर अगाडि बढ्न मन लागेन । दुःख त थियो, विभिन्न परिस्थितिहरू थिए । तर पनि सकारात्मक सन्देश दिनुपर्छ भन्ने लाग्छ । 

511434372_9775797312529673_46615306936415248_n

‘आन्टी लभर’ पनि वास्तवमा समाजमा भइरहेका घटनामाथि एउटा सामाजिक व्यङ्ग्य हो । हामीले व्यङ्ग्यात्मक शैलीले यो विषय उठाउन खोजेका हौँ । कसैको व्यक्तिगत घटनालाई कोट्याउनु हुँदैन, यसलाई प्रहरीले नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश पनि फिल्मबाट दिएका छौँ । ‘आन्टी लभर’ भन्ने शब्द आफैँमा राम्रो नभए पनि यो खालको सम्बन्धमा बाँधिनु हुँदैन, दोहोरो सम्बन्धले समाजमा र व्यक्ति विशेषमा असर निम्त्याउँछ भन्ने सन्देश दिन खोजेका हौँ । दर्शकले पनि यसैगरी बुझ्नुभएको छ भन्ने लाग्छ । गीतले मनोरञ्जन त दिएकै छ । 

  • गीतको भिडियोमा तपाईं आफैँले पनि अभिनय गर्नुभएको छ, अभिनयमा पनि रुचि हो ?

-म पहिलेदेखि नै भिडियोहरूमा आफैँ खेल्दै आएको थिएँ । यो गीतका लागि नायिका पनि खोज्दै हिँडेकी थिएँ । तर परिस्थिति मिलेन । म धेरै डान्स गर्न सक्ने मान्छे त होइन । तर गायिका आफैँले गर्दा राम्रो पनि हुन्छ र अहिले खेल्ने चलन बढ्दै गएकाले अभिनय गरेको हो । दर्शकले पनि रुचाउनुभयो ।

यो गीतको सफलतापछि अझ यो भन्दा राम्रा गीतहरू दिनुपर्ने चुनौती थपिएको छ । त्यो मैले पनि बुझेको छु । नयाँ गीत झन् राम्रो दिने प्रयास सधैँ रहन्छ ।

  • अबको योजना के छ ?

मैले एउटा नयाँ गीत रेकर्ड गरेको छु, जुन केही दिनपछि बजारमा आउँछ । यो गीत पनि ‘आन्टी लभर’का गीतकार रमेश परियारजीले नै लेख्नु भएको हो । स्वर भने वसन्त थापा र मैले भरेका छौँ । यो डान्स बिटमै छ । किनभने हामी कलाकार महोत्सवहरूमा जाँदा पब्लिकले डान्स बिटका गीतहरू खोज्ने र मन पराउने भएकाले त्यो खालको गीत ल्याउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप