कटहरी कृषि बजारमा कोशी प्रदेशसभा
सारांश
- कोशी प्रदेश सरकारले प्रदेशसभा कटहरी गाउँपालिकाको तरकारी बजारमा सार्ने तयारी गरेको छ।
- प्रदेशसभा सचिवालय भवन आगजनीबाट पूर्ण रूपमा नष्ट भएपछि सरकारले कृषि बजारमा सार्ने निर्णय गरेको हो।
- मुख्यमन्त्रीसहितको टोलीले कटहरी बजारको अनुगमन गरेर उपयुक्त निष्कर्ष निकालेको छ, र पालिकाको सहमति लिने तयारी छ।
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभा कटहरी गाउँपालिकाको तरकारी बजारमा सार्ने तयारी गरेको छ । प्रदेशसभा सचिवालय रहेको जिल्ला समन्वय समितिको भवन र प्रदेशसभा भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीले पूर्ण रुपमा नष्ट भएको छ ।
सचिवालयको भवन मर्मत गरेर पनि चलाउन नसक्ने अवस्था भएको र प्रदेशसभा भवन मर्मत गर्न समय लाग्ने भएकाले यसअघि प्रदेश सरकारकै स्वामित्वमा रहेको कृषि बजारमा प्रदेशसभा सार्न लागिएको हो ।
आगजनी भएयता प्रदेशसभाको बैठक बस्न सकेको छैन भने सचिवालयले पनि दैनिक अत्यावश्यक कामबाहेक अन्य काम गर्न सकेको छैन । प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कोही पाहुना आउँदा पनि राखेर कुरा गर्ने ठाउँ नभएको बताए । ‘अहिले हामीले प्रदेशसभा कहाँ चलाउने भन्ने पनि समस्या छ । यहाँ कोही पाहुना आउँदा वा सभामुख र सचिव, उपसभामुखज्यूहरु, अरु माननीयहरु बस्ने ठाउँ छैन । सचिवालय नै छैन,’ उनले भने ।
सभामुख विष्टले प्रदेशसभा कटहरी कृषि बजारमा सार्न प्रदेशसभा सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिले निर्णय गरिसकेको बताए । सभामुखको नेतृत्वमा रहेको उक्त समितिमा सरकारको तर्फबाट आमन्त्रित आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी समेत सहभागी छन् ।

प्रदेशसभा सार्ने विषयमा बिहीबार बिहान मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख विष्ट तथा मन्त्री तथा सांसदसहितको टोलीले कटहरी बजारको अनुगमन निरीक्षण गरेको थियो । अनुगमनपछि त्यहाँ सार्न उपयुक्त हुने निष्कर्ष निकालिएको सभामुख विष्टले बताए ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने गरी तयारी भइरहेको जनाइएको छ । यसअघि प्रदेशसभा बैठकका लागि विराटनगरस्थित वीरेन्द्र सभागृहलाई पनि विकल्पका रूपमा हेरिएको थियो । तर विराटनगर महानगरपालिकाले भाडामा बार्गेनिङ गरेपछि प्रदेशसभा कृषि बजार सार्ने निष्कर्ष निकालिएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि बजारको संरचनामा प्रदेशसभा बैठकका लागि मात्र नभई संसदीय समिति, दलका कार्यालयहरू र सचिवालयका अन्य विभागहरूका लागि पनि पर्याप्त ठाउँ रहेको बताए । उनले भने, ‘त्यो हिसाबले कृषि बजारको संरचना उपयुक्त देखिन्छ ।’ हाल प्रयोगविहीन अवस्थामा रहेको यो संरचनालाई उपयोगमा ल्याउँदा प्रदेशको खर्च घट्ने र कटहरी गाउँपालिकासँगको समन्वयमा यसलाई अघि बढाइने उनको भनाइ छ ।

प्रदेश सरकारले यो विषयमा अन्तिम निर्णय लिनुअघि कटहरी गाउँपालिकासँग औपचारिक सहमति लिने जनाएको छ । मुख्यमन्त्री कार्कीले पालिकाका अध्यक्ष र उपाध्यक्षसँग कुराकानी भइसकेको र औपचारिक पत्रको पर्खाइमा रहेको जानकारी दिए । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सर्वदलीय र कार्यपालिकाको बैठक बसेर छिट्टै निर्णय लिने बताएका छन् । ‘प्रदेश सरकारबाट मौखिक कुरा आएको छ । हामी सर्वदलीय बैठक बसेर यसबारे निर्णय गर्छौं,’ उनले भने ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले १३ करोड ७६ लाख ५४ हजार ७९० रुपैयाँ (भ्याटबाहेक) लागतमा कटहरीमा निर्माण गरेको तरकारी बजारमा हाल हाटबजार लाग्दै आएको छ । त्यहाँ रहेका भवनहरु भने उपयोगविहीन छन् । यसअघि उक्त स्थानमा विराटनगर महानगरपालिकाको गुद्री बजार सार्ने योजना रहे पनि बजार सर्न सकेन ।
२०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तरकारी बजार संरचना लावारिसजस्तै छन् । कटहरी–१ को जनप्रिय माध्यमिक विद्यालयको ४ बिघा २ कट्ठा २ धुर र पालिकाको १८ कट्ठा जग्गामा निर्माण भएको बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, क्लिनिक, बैंक, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायत पूर्वाधार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण