डोटीमा शिक्षिकाको रहस्यमय मृत्यु : प्रतिवादीको बयान लिन थालियो
सारांश
- डोटीमा एक शिक्षिकाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले प्रतिवादीको बयान लिन थालेको छ।
- मृतक शिक्षिकाले आत्महत्या गर्नुअघि शिक्षा अधिकृतले विवाहको लागि दबाब दिएको र धम्की दिएको कुरा लेखेकी थिइन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शिक्षा अधिकृतलाई पक्राउ गरेको छ, साथै पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।
धनगढी । डोटीमा एक शिक्षिकाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले प्रतिवादीको बयान लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार आजदेखि प्रतिवादीको बयान लिने प्रक्रिया अगाडि बढेको हो ।
कात्तिक १० गते पूर्वीचौकी गाउँपालिका–१ निवासी २७ वर्षीय शिक्षिका जानकी खड्का घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत जानकी कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत थिइन् ।
पढाइमा अब्बल जानकी गाउँका लागि एक उदाहरण बनेकी थिइन् । उनी आफ्नो भाइ र बहिनीहरूको मात्र नभई बिरामी आमाबुबाको पनि बलियो सहारा थिइन् । छोरीको अकल्पनीय मृत्युले खड्का परिवार स्तब्ध र असहाय बनेको छ ।
जानकीका बुवा चक्र खड्काले रातोपाटीसँगको कुराकानीमा भने, ‘मैले मजदुरी गरेर पढाएकी छोरी हो, उसकै सहारामा हामी बाँचेका थियौँ । उसलाई नै यति धेरै पीडा छ भन्ने थाहा पाएनौँ । उसले मलाई आफ्नो पीडा पनि भनिनँ । हामीलाई केही भनेको भए पनि केही उपाय हुन्थ्यो कि ।’
छोरी गुमाएको पीडाले विक्षिप्त बनेका खड्का घटनापछि राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन् । ‘अहिले त हामी केही बोल्न सक्ने अवस्थामा छैनौँ,’ उनले भने, ‘उसले आफ्नो पीडा भनेकी भए हुन्थ्यो । म आफैँ प्रेसरको बिरामी छु । बोल्न पनि गाह्रो भएको छ । हाम्रो सर्वस्व नै गुमेको छ । घरको आशा, भरोसा सबै ढलेको छ,’ यति भनेका खड्का त्यसपछि भक्कानिएर बोल्नै सकेनन् ।
जानकीले मृत्युअघि लेखेको पत्रमा जिल्ला शिक्षा समन्वय एकाइ डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी छन् । रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग मित्रता गाँसेर लगातार मानसिक तनाव दिन थालेको जानकीको सो पत्रमा उल्लेख छ ।
विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीपलाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्की दिएको कुराले जानकी थप त्रसित बनेको पत्रबाट खुल्न आएको छ ।
यो घटनाले जानकीको परिवार, साथीभाइ र समग्र शैक्षिक क्षेत्रलाई नै स्तब्ध बनाएको छ । उनका साथीहरूले एक असल र जेहेन्दार साथी गुमाएकोमा दुःख व्यक्त गर्दै यस्तो कठोर निर्णय लिन बाध्य पार्नेलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
जानकीले यसअघि धनगढीको डिस्कोभरी बोर्डिङ स्कुलमा पढाएकी थिइन् । स्कुलमा उनी सबैका लागि प्रेरणाको स्रोत थिइन् । दुई वर्षअघि शिक्षक सेवा आयोगमा नाम निकालेर उनी स्थायी शिक्षक बनेकी थिइन् । घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । घरको ऋण तिरेर भाइलाई हलुका गरेरमात्र विवाह गर्ने उनको योजना थियो । अधिकृत बन्ने उनको सपना थियो ।
जानकी र उनका भाइ प्रदीपले धनगढीमा नयाँ घर पनि बनाएका थिए । दसैँ, तिहार उनीहरूले नयाँ घरमै मनाए । घटनाको अघिल्लो दिन ९ गते जानकी तिहार मनाएर बुवासँगै धनगढीबाट डोटी फर्केकी थिइन् । त्यहाँबाट बाजुरा आफ्नो कार्यक्षेत्रमा फर्कने योजनामा रहेकी उनले १९ गते डोटीमै बस्ने निर्णय गरिन् । सोही दिन दिउँसो २ बजेदेखि उनी सम्पर्कविहीन थिइन् ।
प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार, प्रहरीले घटनाको खबर पाएलगत्तै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीले अनौपचारिक रूपमा एक प्रहरीकर्मी मार्फत जानकी हराएको खबर पाएको थियो । पछि परिवारको औपचारिक जाहेरीपछि खोजतलास सुरु गरिएको थियो ।
शव भेटिएपछि घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण संकलन गरेको छ । ‘घटनास्थलमा शव झुन्डिएको अवस्थामा भेटिएको थियो,’ जोशीले भने ।
परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले डोटीको जिल्ला शिक्षा समन्वय इकाइमा शाखा प्रमुखका कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरेको छ । रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनापछि ‘तपाईं विवादमा हुनुहुन्छ, प्रहरीको सम्पर्कमा आउनुहोस् भनेपछि रावल प्रहरीको सम्पर्कमा आएका थिए ।
हामीले चौबिसै घण्टा अनुसन्धान गरिरहेका छौँ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ र आजदेखि प्रतिवादीको बयान लिने काम सुरु भएको छ,’ प्रहरी निरीक्षक जोशीले भने । उनले अनुसन्धान पूरा हुन केही समय लाग्ने र सबै कानुनी प्रक्रिया पूरा गरेर सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले जानकी र गणेशको मोबाइल नियन्त्रणमा लिएर थप प्रमाण संकलन गर्ने बताएको छ ।
यो घटनाले सामाजिक सञ्जालमा पनि ठुलो तरंग पैदा गरेको छ । यो घटनाले महिलामाथि हुने मानसिक र सामाजिक दबाबको डरलाग्दो तस्बिर प्रस्तुत गरेको र यसतर्फ सरकारको पनि ध्यानाकर्षण हुन जरुरी रहेको डोटीको आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामीको भनाइ छ ।
‘हाम्रो देशमा अहिले महिला प्रधानमन्त्री हुनुहुन्छ । यस्ता घटनामा उहाँको पनि ध्यान जाओस् भन्ने हाम्रो माग छ,’ उनले भनिन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन उनको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण