बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

तीन बैठकबाट पनि निकास ननिस्किएपछि सारियो कांग्रेस केन्द्रीय समिति

शुक्रबार, १४ कात्तिक २०८२, १६ : ०५
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी विवादका कारण दुई दिनका लागि सारियो।
  • डा. शेखर कोइराला समूहले आगामी मंसिरभित्रै नियमित महाधिवेशनको माग गरेको छ, भने संस्थापन समूहले वैशाखमा गर्नुपर्ने अडान राखेको छ।
  • कार्यवाहक सभापति र महामन्त्रीबीचको असमझदारीका कारण बैठक आइतबारका लागि सारिएको हो।

काठमाडौँ । शुक्रबार बिहानैदेखि भएका प्रयासले सार्थकता नपाएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि सारिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि सारिएको हो । 

कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि बैठक सारिएको नेताहरूले बताएका छन् । पार्टीभित्र डा. शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा. कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । 

शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले त्यो समयभित्र महाधिवेशन गर्नुपर्ने धारणा डा. कोइरालाको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन् । महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् । 

Capture

यता संस्थापन समूहले भने सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ । यही विवाद मिलाउन शुक्रबार भएका प्रयास सार्थक नभएपछि केन्द्रीय समिति बैठक सारिएको हो । 

शुक्रबार बिहान नियमित महाधिवेशनको कार्यतालिकाको विवाद मिलाउन इतर समूहका नेता डा.शेखर कोइरालाले बिहान साढे ८ बजे आफ्नो सम्पर्क कार्यालय विशालनगरमा आफूनिकट पदाधिकारीहरूलाई बोलाएका थिए । 

उनले बोलाएको पदाधिकारीहरूको बैठकमा महामन्त्रीद्वय थापा र शर्मा, उपसभापति धनराज गुरुङ तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । 

डा. कोइरालाले गरेको छलफलमा महामन्त्री थापाले कार्यवाहक सभापति खड्काले अनुमति नदिए पनि शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने बताएका थिए । महामन्त्री थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म पार्टीको १५ औँ नियमित महाधिवेशन गर्ने कार्यतालिका आफ्नो सचिवालयमार्फत असोज २९ गते सार्वजनिक गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नका लागि तयार पारिएको कार्यतालिका पेस गर्ने अनुमति नपाएपछि थापाले सचिवालयमार्फत सार्वजनिक गरेका हुन् । कांग्रेसमा सभापतिको अनुमतिमा महामन्त्रीले केन्द्रीय समिति बैठकमा एजेण्डा पेस गर्ने परम्परा छ । 

त्यही कार्यतालिका अनुमति नपाए पनि पेस गर्ने थापाले कोइरालासँगको बैठकमा बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

तर, कोइरालाले भने बैठकमा पार्टी अप्ठ्यारो परिस्थितिमा पुगेको भन्दै एकताबद्ध भएर नियमित महाधिवेशनको माग गर्नुपर्ने बताएका थिए । त्यसका लागि सबै एकताबद्ध भएर संस्थापनसँग धारणा राख्नुपर्ने डा. कोइरालाको भनाइ थियो । 

‘नियमित महाधिवेशन गर्नुको विकल्प हामीसँग छैन । एकताबद्ध भएर नियमित महाधिवेशन भनेनौँ भने पार्टी धरापमा पर्छ,’ कोइरालाले छलफलमा भनेका थिए, ‘हामी सबै एक भएर संस्थापनलाई दबाब दिनुपर्छ ।’ 

त्यसपछि कार्यवाहक सभापति खड्काले आफ्नै निवास गोल्फुटारमा महामन्त्रीद्वय शर्मा र थापासँग केन्द्रीय समितिको एजेन्डाका विषयमा छलफल गरे । त्यहाँ पनि महामन्त्री थापाले आफूले त्यही कार्यतालिका अनुमति पाए पनि नपाए पनि पेस गर्ने बताए । त्यसमा समर्थन जनाउन नसक्ने कार्यवाहक सभापति खड्काले बताएपछि कुरा मिलेन । 

त्यसपछि पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति खड्काले इतर समूहका नेता डा. कोइरालासहितको पदाधिकारी बैठक बोलाए । त्यो बैठकमा पनि कुरा नमिलेपछि आइतबारसम्म बस्दै नबसी केन्द्रीय समिति बैठक सारिएको हो ।

पदाधिकारी बैठकमा सहमति खोज्न कार्यवाहक सभापति खड्काले समय मागेपछि केन्द्रीय समिति बैठक दुई दिन सारिएको नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप