शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सोसियल मिडिया प्रतिबन्ध’ बाट जोगिन अस्ट्रेलियाबाट युके बसाइँ

शनिबार, १५ कात्तिक २०८२, ०२ : ४५
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • अस्ट्रेलियाको नयाँ नीतिका कारण ‘एम्पायर फ्यामिली’ बेलायत सर्दै छ, जसमा १६ वर्षमुनिका बालबालिकालाई सोसल मिडियामा प्रतिबन्ध लगाइनेछ।
  • परिवारले इन्टरनेटको सकारात्मक प्रयोग गर्ने र नयाँ नियमको कार्यान्वयन कसरी हुन्छ भन्ने स्पष्ट नभएकाले बेलायत जाने निर्णय गरेको छ।
  • नयाँ कानुनअनुसार, १६ वर्षमुनिका प्रयोगकर्तालाई नयाँ खाता बनाउन नदिने र नियम उल्लंघन गर्ने कम्पनीलाई जरिवाना गरिनेछ।

काठमाडौँ। अस्ट्रेलियाको चर्चित ‘एम्पायर फ्यामिली’ नामको युट्युब परिवार अब बेलायत बसाइँ सर्दै छ । कारण हो डिसेम्बरदेखि लागू हुन लागेको अस्ट्रेलियाको नयाँ नीति, जसअनुसार १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब र अन्य सोसियल मिडियामा खाता खोल्न प्रतिबन्ध लगाइनेछ ।

यी चार सदस्यीय परिवारमा दुई आमा बेक र बेक लिया, १७ वर्षका छोरा प्रेज्ली र १४ वर्षकी छोरी चार्लोट छन् । तिनीहरू युट्युबमा आफ्ना दैनिकी, यात्रा र रमाइला गतिविधि सार्वजनिक गर्दै आएका छन् ।

परिवारले सार्वजनिक गरेको भिडियोमा बेकले भनिन्, ‘हामी यो नियमको विरोधमा छैनौँ । हामी बुझ्छौँ कि यसले धेरै बालबालिकालाई अनलाइन हानिबाट जोगाउँछ । तर हाम्रो परिवारले इन्टरनेटलाई सकारात्मक रूपमा प्रयोग गर्छ ।’

नयाँ कानुनअनुसार, सबै सोसियल मिडिया कम्पनीहरूले १६ वर्षमुनिका प्रयोगकर्तालाई नयाँ खाता बनाउन नदिने र पहिलेका खाता निष्क्रिय गर्नुपर्नेछ । नियम पालना नगर्ने कम्पनीलाई ५० मिलियन अस्ट्रेलियन डलरसम्म जरिवाना हुन सक्छ ।

तर, यो प्रतिबन्ध कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट छैन । सरकारले उमेर पत्ता लगाउनका लागि आधिकारिक परिचयपत्र, अभिभावक अनुमति वा अनुहार पहिचान प्रविधि प्रयोग गर्न सकिने बताएको छ, जसले गोपनीयता र डेटा सुरक्षाको चिन्ता पनि बढाएको छ ।

पहिले युट्युबलाई यस नियमबाट छुट दिइएको थियो, तर पछिल्लो निर्णयले अब १६ वर्षमुनिका बालबालिकालाई खाता राख्न दिने छैन। भिडियो हेर्न त पाइनेछ, तर पोस्ट गर्न वा प्रतिक्रिया दिन खाता चाहिने भएकाले सामग्री बनाउने अवसर हराउनेछ ।

पर्थबाट लन्डन सर्दै गरेको भिडियोमा परिवारले यो बसाइँ सार्ने निर्णय अस्थायी पनि हुन सक्ने बताएको छ । ‘जबसम्म अस्ट्रेलियाले नयाँ नियम कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट पार्दैन, तबसम्म हामी युकेमा बस्नेछौँ,’ बेकले भनिन् ।

चार्लोटका करिब पाँच लाख युट्युब सब्स्क्राइबर, तीन लाख टिकटक फलोअर र दुई लाख इन्स्टाग्राम फलोअर छन् । उनका सबै खाता अभिभावकले नै व्यवस्थापन गर्छन् ।

त्यस्तै, परिवारका छोरा प्रेज्लीको युट्युबमा २.८ मिलियन सब्स्क्राइबर छन् भने परिवारको मुख्य च्यानल ‘एम्पायर फ्यामिली’सँग १.८ मिलियन फलोअर छन् । उनीहरूको भिडियोमा मेकअप ट्युटोरियल, गेमिङ सत्रदेखि पारिवारिक भ्रमणसम्मका रमाइला दृश्यहरू देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप