बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै

शनिबार, १५ कात्तिक २०८२, ११ : ०८
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • बैतडीमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिने भएको छ।
  • गृह मन्त्रालयले पठाएको सूची अनुसार बैतडीका ६ जना घाइते छन्।
  • परिचयपत्र वितरणका लागि स्थानीय तह र प्रहरीले व्यक्तिहरूको यकिन गरेपछि वितरण गरिनेछ।

बैतडी । जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ ।  गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बैतडीका ६ जना घाइते भएको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ ।

घाइते परिचयपत्र वितरणका लागि सूची सार्वजनिक गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, ‘गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले हामीलाई (जिल्ला प्रशासन कार्यालय) पठाएको छ । त्यही सूची हामीले सार्वजनिक गरेका छौँ ।’

गृह मन्त्रालयले पठाएको बैतडीका घाइते व्यक्तिहरूमा १९ वर्षीय दीपक साउँद, ३० वर्षीय मनिष ठगुन्ना, २४ वर्षीय हरिस भुल, २० वर्षीय वासु पुजारा, २३ वर्षीय लक्ष्मण भण्डारी र २५ वर्षीय हरिकृष्ण भट्ट रहेका छन् । 

सार्वजनिक गरिएको सूचीअनुसारका घाइते व्यक्तिहरूलाई सम्पर्क गर्न भनिएको उनले बताए । प्रजिअ पौडेलले भने, ‘घाइते परिचयपत्र वितरणका लागि सूचीअनुसारका व्यक्तिलाई सम्पर्क गर्न भनेका छौँ । सम्बन्धित स्थानीय तह र प्रहरीले सूचीअनुसारकै व्यक्ति रहेको यकिन गरेपछि घाइते परिचयपत्र वितरण गर्छौं ।’ गृह मन्त्रालयबाट प्राप्त सूची जिल्ला प्रशासन कार्यालयले यहाँका सबै स्थानीय तहहरूमा समेत पठाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप