कति प्रभावकारी छ स्याम्पु ? जान्नुहोस् कपालसम्बन्धी चार भ्रम
सारांश
- स्वस्थ कपालको लागि धेरै पैसा खर्च गर्नु वा जटिल रुटिन पछ्याउनु आवश्यक छैन, सरल कुरालाई सही तरिकाले गर्न जरुरी छ।
- कपाल चम्किलो बनाउन चिसो पानीको आवश्यकता पर्दैन, र बिग्रिएको कपालको लागि कपाल काट्नु नै समाधान हो।
- कपाललाई नियमित रूपमा धुनुपर्छ, किनकि कपाल आफै सफा हुँदैन, र ड्राइ स्याम्पु कपाल धुने विकल्प होइन।
काठमाडौँ । हामी सबै सफा, चम्किलो र आकर्षक देखिने कपाल चाहन्छौँ। कपाल लहरिने होस्, घुम्रिएको होस् वा सीधा, सबै चाहन्छन् - कपाल सबैको आकर्षणको केन्द्र बनोस्।
अनगिन्ती उत्पादनहरू र ट्रेन्डहरू टिकटकजस्ता सामाजिक सञ्जालहरूमा व्याप्त रहेका कारण हामी प्रायः कपालको हेरचाह गर्ने आधारभूत कुराहरू बिर्सन्छौँ। तर सत्य के हो भने स्वस्थ कपालको लागि धेरै पैसा खर्च गर्नु वा जटिल रुटिन पछ्याउनु आवश्यक छैन। यसका लागि सरल चीजहरूलाई सही तरिकाले गर्न जरुरी छ।
यूके हेयर कन्सल्टेन्ट्सकी ट्राइकोलोजिस्ट इभा प्राउडम्यान र हेयर एन्ड स्क्याल्प क्लिनिककी ट्रेसी वाकर कपालको हेरचाहसँग जोडिएका चार सामान्य भ्रमहरूलाई चिर्छन् र सही तरिका के हो भनेर बताउँछन्।
१. चिसो पानीले कपाल चम्किलो बनाउँदैन
के तपाईंले कहिल्यै आफ्नो कपाल चम्किलो बनाउनको लागि बरफजस्तै चिसो पानीमा काँप्दै नुहाउनु भएको छ ?
तपाईंले अब त्यसो गर्न आवश्यक छैन र आरामसँग मनतातो वा तातो पानीले नुहाउन सक्नुहुन्छ। प्राउडम्यानका अनुसार चिसो पानीले तपाईंको कपाललाई कुनै अतिरिक्त चमक दिँदैन।
उनी भन्छिन्, ‘आफ्नो कपाललाई बरफजस्तै चिसो पानीले धुनु आवश्यक छैन किनकि यसबाट कुनै फाइदा हुँदैन । वास्तवमा धेरै महत्त्वपूर्ण कुरा भनेको तपाईंले आफ्नो कपाललाई रसायन, गर्मी र तपाईंको वरपरको वातावरणबाट कसरी बचाउनुहुन्छ।’
यद्यपि, इभा प्राउडम्यानले कपाललाई धेरै तातो पानीले नधुने सल्लाह दिन्छिन्, किनभने यसले कपाललाई सुख्खा बनाउँछ। यो तातो पानीले टाउकोको छालालाई जलाउन सक्छ ।
२. कुनै पनि उत्पादनले बिग्रिएको कपाललाई ठिक गर्न सक्दैन
यदि तपाईं हेयरड्रेसर बिना नै आफ्नो दोमुखे कपाल ठिक गर्न चाहनुहुन्छ भने, यसको एक मात्र समाधान कपाल काट्नु नै हो। प्राउडम्यानले यसलाई ठिक गर्ने अर्को कुनै तरिका नभएको बताउँछिन्।
वाकर भन्छिन्, ‘यदि तपाईंले टुक्रिएको दोमुखे कपाललाई माइक्रोस्कोपले हेर्नुभयो भने कपालमा दुई वा तीनवटा थप हाँगाहरू निस्केको देख्नुहुन्छ।’
‘बजारमा उपलब्ध उत्पादनहरू एक प्रकारको ग्लू जस्तै काम गर्छन् जसले कपाललाई फेरि जोड्छ ताकि यो राम्रो देखियोस्,’ उनी भन्छिन् । उनी यी अस्थायी उपाय भएको र यसलाई समाधानको रूपमा प्रचार गर्ने उत्पादनहरूमा धेरै पैसा खर्च गर्ने प्रलोभनमा नपर्न चेतावनी दिन्छिन्।
प्राउडम्यानले कपाल काट्दा यो छिटो बढ्छ भन्ने दाबी पनि सही नभएको बताउँछिन्। उनी भन्छिन्, ‘आफ्नो कपाललाई छिटो बढाउन सम्भव छैन। त्यसैले यस्तो दाबी गर्ने कुनै पनि उत्पादनले झूट बोलिरहेको हुन्छ।’
३. कपाल आफैँ सफा हुँदैन
केही मानिसहरूले दाबी गर्छन् कि उनीहरूले आफ्नो कपाललाई यस्तो तरिकाले प्रशिक्षित गरेका छन् कि त्यो आफैँ सफा हुन्छ। उनीहरूले आफ्नो कपाल कम धुनुपर्छ वा बिल्कुलै धुनु नपर्ने बताउँछन्।
तर, प्राउडम्यान यसो गर्नु तपाईंको कपालको लागि बिल्कुलै राम्रो नभएको बताउँछिन्। उनी भन्छिन्, ‘तपाईंको टाउकोको छालामा १ लाख ८० हजार तेल ग्रन्थीहरू हुन्छन् र यदि यसलाई नियमित रूपमा धोइएन भने यसले टाउकोलाई फोहोर बनाउँछ।’
वाकर पनि भन्छिन्, ‘जसरी पानीले मात्र लुगामा लागेको तेल वा फोहोरको दाग हटाउन सकिँदैन, यसका लागि डिटर्जेन्ट आवश्यक हुन्छ। कपाललाई पनि त्यसै गरी धुनुपर्छ।’
उनका अनुसार कपाललाई नियमित रूपमा नधुँदा दुर्गन्ध आउन सक्छ र चाया पनि बढ्न सक्छ। किनभने कपाल धेरै तेलीय भयो वा टाउकोको छालामा धेरै तेल भयो भने ब्याक्टेरिया बढ्न सक्छन्, जसले टाउकोको छालामा चिलाउने समस्या बढाउन सक्छ।
यदि तपाईंको कपाल धेरै तेलीय छ वा तपाईं त्यसमा धेरै उत्पादनहरू प्रयोग गर्नुहुन्छ भने, हरेक दोस्रो दिन कपाल धुन प्राउडम्यान सल्लाह दिन्छिन् ।
हडर्सफिल्ड विश्वविद्यालयमा फार्मास्यूटिकल एनालिसिसकी प्रोफेसर लौरा वाटर्स भन्छिन्, ‘धेरै तेलीय कपाल भएकाहरूलाई मजबुत सफाइले फाइदा हुन सक्छ। तर, जसको कपाल सुख्खा छ, उनीहरूले सल्फेट-फ्री स्याम्पु प्रयोग गर्न सक्छन्। यो महँगो हुन सक्छ तर यसले कपालको तेललाई पूरै हटाउँदैन।
४. ड्राइ स्याम्पु कपाल धुने विकल्प होइन
पुरै कपाल धुन, ब्लो-ड्राई गर्न र स्टाइल गर्न सधैँ समय पाउन सजिलो हुँदैन। त्यसैले हामीमध्ये धेरैले कपालको तेलीय जराहरूलाई छिट्टै ताजा गर्न र कपाललाई रिफ्रेस गर्न ड्राइ स्याम्पुको सहारा लिन्छौँ, र नुहाउँदैनौँ।
ड्राइ स्याम्पुको प्रयोग ठिक छ तर यसलाई कपाल धुने बिचमा एक पटक मात्र प्रयोग गर्नुपर्ने प्राउडम्यान बताउँछिन्। समस्या तब आउँछ जब यसलाई लगातार धेरै दिनसम्म कपाल नधोई प्रयोग गरिन्छ।
प्राउडम्यान भन्छिन्, ‘यदि तपाईं सावधान हुनुभएन भने, तपाईंलाई चिलाउने समस्या हुन सक्छ र तपाईंको टाउकोको छालामा पाप्रा जम्न सक्छ।’
आफ्नो अनुहारको जति हेरचाह गर्नुहुन्छ, टाउकोको छालाको हेरचाहमा पनि उति नै ध्यान दिन उनी सुझाव दिन्छिन्। उनी भन्छिन्, ‘जसरी तपाईं आफ्नो अनुहारमा मेकअप नहटाइकन र नधोइकन लगातार लगाउनुहुन्न, त्यसरी नै कपालको मामलामा पनि यही सिद्धान्त लागू गर्नुहोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण