मेलम्चीको पानी नियमित, गरिएन कुनै तामझाम
काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित वितरण हुन थालेको छ । विगतका वर्षहरू झैँ यसपटक पनि वर्षायाम सकिएलगत्तै मेलम्चीको पानी उपत्यकाबासीका लागि छाडिएको छ । तर यस वर्ष पहिलाको जस्तो पानी छाड्ने बेलामा कुनै तामझाम गरिएन ।
विगतमा हरेक वर्ष मेलम्चीको पानी काठमाडौँ ल्याउँदा ठुलै उपलब्धिझैँ गरिन्थ्यो, राजनीतिक कार्यक्रम र प्रचारबाजी निकै हुन्थे । २०७७ असारमा पहिलोपटक सुरुङमा पानी खसाल्दा सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारीसहित औपचारिक कार्यक्रम राखेर तत्कालीन खानेपानीमन्त्री विना मगरले काठमाडौँमा पत्रकार सम्मेलन नै गरेकी थिइन् ।
त्यस्तै २०७७ फागुनमा तत्कालीन खानेपानीमन्त्री मणि थापा र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मुहानमै पुगेर पानी पथान्तरणको शुभारम्भ गरेका थिए । २०७७ चैतमा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा बटन थिचेर बागमती नदीमा पानी पठाउँदै औपचारिक घोषणा गरेका थिए भने भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पानी वितरण कार्यको उद्घाटन गरेकी थिइन् ।
तर पछि मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति गर्यो, त्यसपछि पानी काठमाडौँ उपत्यकामा नियमित हुन सकेन । पछि फेरि मेलम्चीको पानी नियमित वितरण गर्ने क्रममा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न अवसरमा पानीको साँचो घुमाएर, धारा खोलेर पुनः वितरण शुभारम्भ गरे, अर्थात् पहिलो पटक काठमाडौँबासीलाई मेलम्चीको पानी दिलाए झैँ गरियो ।
तर यसपटक भने दृश्य फरक थियो, प्रधानमन्त्री सुशीला कार्की आफैँले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकाले पनि बिना तामझाम मेलम्चीको पानी उपत्यकामा छाडियो ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्त अहिले पानी नियमित रूपमा आइरहेको बताउँछन् । उनका अनुसार असोजको ७–८ गतेदेखि नै पानी वितरण सुरु भइसकेको हो । ‘बिचमा पानी परेर अलिअलि डिस्टर्बचाहिँ भएको थियो, त्यही भएर केही दिन रोकियो, अब नियमित छ, अब ठुलै वर्षा भए मात्र रोकिने हो, नत्र नियमित हुन्छ,’ उनी भन्छन् ।
उपत्यकाबासीले यस वर्ष चार महिना मेलम्चीको पानी पाएनन् । यसपटक मेलम्चीको पानी ल्याउन सहज पनि भएको आयोजनाले जनाएको छ । वर्षाअघि छिट्टै कसरी पानी ल्याउन सकिन्छ भनेर योजना बनाइएको थियो ।
योजनाअनुसार मेलम्चीको पानी बन्द गरेपछि सुरुङको १ नम्बर गेटलाई ढुंगामाटो हालेर पुरिएको प्रवक्ता पन्त बताउँछन् । उनका अनुसार वर्षायाममा बाढीले सो गेटमा क्षति नपुर्याओस् भनी पहिल्यै सुरुङको मुख पुगेर खोला डाइभर्ट गरिएको थियो । तर त्यसले वर्षायाममा आएको बाढी त्यसभन्दा माथिबाट बग्यो, तर सुरुङ पुरिएकाले कुनै क्षति हुन नपाएको उनी बताउँछन् ।
वर्षा सकिनासाथ आयोजनाले त्यो ढुंगामाटो हटाएर मेलम्चीलाई फेरि सुरुङभित्र पठाएर काठमाडौँमा वितरण सुरु गरिएको उनको भनाइ छ ।
वर्षाको बेलामा रिबर्मा खोलाबाट पनि काठमाडौँमा पानी ल्याइएको थियो । ‘मेलम्चीबाहेक अर्को सानो खोलाबाट यो वर्षामा पानी ल्याइएको थियो,’ प्रवक्ता पन्त भन्छन्, ‘पर्याप्त नभए पनि त्यो पानीले काठमाडौँ भ्यालीमा राहत चाहिँ दिएको थियो ।’
वितरणमा भने अझै समस्या
मेलम्चीको पानी वितरणमा भने अझै समस्या छ । उपभोक्ताहरूले कहिले रातिभरि त कहिले एक हप्तासम्म पानी नआउने गुनासो गरिरहेका छन् ।
प्रवक्ता पन्त भन्छन्, ‘यो खासमा वितरणकै गुनासो हो, नयाँ वितरण प्रणाली (२४ घण्टे आपूर्ति प्रणाली) बनिसकेको छैन । पुरानो प्रणालीबाट जहाँजहाँ वितरण हुन्छ, त्यहाँ समस्या छ । तर आयोजनाले ती क्षेत्रमा एक दिन बिराएर भए पनि पानी मिलाउने प्रयास गरिरहेको छ ।’
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले कुन कुन ट्याङ्की कसरी सञ्चालन गर्ने भन्ने पनि योजना बनाइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण